५ लाख पुरस्कार सहित ‘माइतीघर’को नृत्य प्रतियोगिता घोषणा

२०८२ श्रावन २९
५ लाख पुरस्कार सहित ‘माइतीघर’को नृत्य प्रतियोगिता घोषणा

दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शन हुने चलचित्र ‘माइतीघर’ले नृत्य प्रतियोगिताको घोषणा गरेको छ । आगामी भदौ पहिलो साता सार्वजनिक हुन लागेको चलचित्रको शिर्ष गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’मा पाँच लाख राशीको प्रतिस्पर्धा घोषणा गरिएको हो । सम्भवत् नेपाली चलचित्रको इतिहासमा यति ठूलो पुरस्कार राशीको नृत्य प्रतिस्पर्धा घोषणा गरिएको यो नै पहिलो पटक हो ।

प्रतिस्पर्धामा सहभागी हुन इच्छुकले गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्म भिडियो बनाउनुपर्नेछ । ती भिडियोहरु ओएसआरको युट्युब, फेसबुक र टिकटकमार्फत सार्वजनिक गरिनेछ । सर्वाधिक भ्यूज पाउने र उत्कृष्ट कोरियोग्राफी भएको भिडियोलाई छनोट गरेर ५ लाख नगद पुरस्कार दिइने चलचित्रका प्रस्तुतकर्ता रोहित अधिकारीले बताए ।

भारतीय गायिका सञ्जिवनीको स्वरमा रि–रिकर्ड गरि चलचित्रमा समावेश गरिएको गीतमा भिडियो बनाएर भदौ २० गतेभित्र पठाइसक्नुपर्नेछ । चलचित्र रिलिजको अघिल्लो दिन (असोज १२ गते) उत्कृष्ट भिडियो बनाउने व्यक्ति वा समूहको नाम घोषणा गरेर पुरस्कार प्रदान गरिने जनाइएको छ । 

मिलन तामाङको निर्देशनमा बनेको चलचित्रमा केदार घिमिरे, धीरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतको अभिनय रहेको छ । रविन शेरचन र धिरज तामाङको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् । 

चलचित्रमा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको डोआपी, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एसडी योगी र स्वर्गीय जयदेवको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।