शनिबार ‘माग्ने राजा’को व्यापार उत्साहजनक

२०८२ भाद्र ७
शनिबार ‘माग्ने राजा’को व्यापार उत्साहजनक

शनिबारको चलचित्र ‘माग्ने राजा’ले उत्साहजनक व्यापार गरेको छ । शुक्रबार औसत व्यापारमा सिमित चलचित्रले शनिवार बिहानै देखि अधिकांश हलहरुमा हाउसफूल ब्यापार गरेको छ । 

चलचित्रले आक्रामक व्यापार गरेपछि निर्देशक ऋषि लामिछाने, मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटी काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । चलचित्रको निर्माण टिम हल पुग्दा ‘माग्ने राजा’ हेरेका अधिकांश दर्शकले चलचित्रले मनोरञ्जनात्मक हुनुका साथै सन्देशमुलक रहेको जनाए ।

केही हलहरुमा भने माग्ने बुढालाई दर्शकले जुरुक्कै बोकेर ‘माग्ने राजा’ भन्दै नाराबाजी समेत गरेको देखियो । मग्ने बुढाले पनि आफु भुइामान्छेलाई दर्शकको यस्तो आर्शिवादले उत्साहित बनाएको प्रतिक्रिया दिए । त्यससँगै आगामी दिनमा अझै राम्रो चलचित्रमा काम गर्नु पर्ने चुनौती थपिएको उनको बुझाई छ । 

चलचित्र वितरक रोहितकुमार कट्टेलका अनुसार ‘माग्ने राजा’ले ‘उनको स्वेटर’पछि इनिसियल दर्शक पाएको हो । कट्टेलले चलचित्रले सदाबहार दर्शक पाउने पहिलो श्रेणीका हलमा मात्र होइन चाडबाडमा मात्र हाउसफुल व्यापार गर्ने हलमा पनि हाउसफुलको व्यापार गरेको बताएका छन् । उनले तीजको मुख्य बिदा बाँकी नै रहेकाले चलचित्रले आकर्षक कमाइ गर्ने अपेक्षा गरे ।
 
‘पछिल्लो समय वैशाखमा प्रदर्शन भएको ऊनको स्वेटरले सुरुवातदेखि नै राम्रो व्यापार गरेको थियो । त्यसपछिको राम्रो व्यापार माग्ने राजाकै मान्नुपर्छ । अझ यो चलचित्रले मंगलबारपछि आक्रामक कमाइ गर्ने मेरो अनुमान छ,’ कट्टेलले भने । मंगलबार तीजको बिदा रहेको र चलचित्रका महिला दर्शक त्यसपछि फुर्सद हुने हुनाले यसको फाइदा चलचित्रलाई पुग्ने उनको तर्क छ ।
 
निर्देशक ऋषि लामिछाने पनि तीज पछि चलचित्रका दर्शक थप बढ्ने विश्वासमा छन् । अहिले हलमा महिला दर्शकको उपस्थिति पातलो रहेको र तीजपछि यसमा बढोत्तरी हुने बताउँछन् । ‘मुखैमा तीज रहेकाले महिला दर्शक अझै हलमा आउन भ्याउनु भएको छैन भन्ने लागिरहेको छ । परिवार नै बसेर हेर्न मिल्ने चलचित्र रहेकाले तीजपछि हलमा पारिवारिक माहोल अझ बढ्ने विश्वास छ,’ लामिछानेले भने । कमेडी जनराको चलचित्रलाई मुनाल घिमिरेले निर्माण गरेका हुन् ।