Mansara

लक्ष्मणको अनटाइटल चलचित्रमा मलिका

२०७९ पौष १३
लक्ष्मणको अनटाइटल चलचित्रमा मलिका

पूर्वघोषित चलचित्र ‘ठगराज’लाई थाति राख्दै निर्देशक लक्ष्मण सुबेदी अनटाइटल चलचित्रको काममा जुटेका छन् । आफ्नै लेखन निर्देन रहने चलचित्रका लागि सुबेदीले मुख्य अभिनेत्रीका रुपमा मलिका महतसँग कागजी सम्झौता समेत गरेका छन् ।

आन्तरिक रुपमा चलचित्रको काम गरिरहेका सुबेदीले चलचित्रको नाम भने सार्वजनिक गरेका छैनन् । त्यसो त नायिकासँग सम्झौता गरेका सुबेदीले अन्य कलाकार अडिसन मार्फत छनौट हुने उनको भनाई छ ।

आगामी फागुन पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रमा निर्देशक सुवेदी स्वयंको कथा, पटकथा तथा संवाद, निर्माण र गीत लेखन रहेको छ । चलचित्रको सम्पुर्ण छायांकन गाउँमा गरेर काठमाडौंमा क्लाइमेक्स खिच्ने तयारी निर्माण टिमको छ ।

पत्रकारिताबाट चलचित्र निर्देशनमा आएका सुबेदीले यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’को निर्देशन गरिसकेका छन् ।