झलकमानको गीत ‘हे बरै’ रिमेक गरेर ‘कोशेढुंगा’मा समावेश

२०८२ भाद्र ७
झलकमानको गीत ‘हे बरै’ रिमेक गरेर ‘कोशेढुंगा’मा समावेश

सराज पौडेल निर्देशित चलचित्र ‘कोशेढुंगा’मा समावेश गीत ‘हे बरै’ सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गीएको गीत लोकसंगीतका अग्रज झलकमान गन्धर्वको चर्चित गीत ‘हे बरै’को रिमेक हो ।

चलचित्रमा समावेश गीतमा आशिष अविरलको स्वर सुन्न सकिन्छ । आशिषले नै फिल्मी भर्सनको संगीत संयोजन गरेका हुन् । परदेशिएको छोरो परिबन्धमा परेर घर फर्किन नसक्ने अवस्था चित्रण गरिएको गीत चलचित्रको कथामा मेल खाएकोले समावेश गरिएको जनाइएको छ । 

भिडियोमा चलचित्रका कलाकार मुकुन भुसालले सारंगी बजाउँदै गीत गाएका छन् । यस अघि सरोजकै चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा पनि मुकुन सारङ्गी बादक ‘वीरे’को भूमिकामा थिए । ‘कोशेढुंगा’मा पनि उनी सोही गेटअपमा देखिदा निर्देशकले यि दुई चलचित्र बिच कुनै कनेक्सन स्थापित गर्न खोजेका हुन कि भन्ने भान हुन्छ । मुकुनले गाडीमा यो गीत गाइरहदा निकै मार्मिक र भावनात्मक माहोल सिर्जना हुन्छ ।

यही भाद्र १२ गतेबाट प्रदर्शन हुने चलचित्रमा सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउँवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ ।

नरदेवी फिल्मसको प्रस्तुत रहेको चलचित्रका निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् ।