‘सिनेपाः’को भित्री भाग निर्माणका लागि बोलपत्र आह्वान

२०८२ श्रावन १९
‘सिनेपाः’को भित्री भाग निर्माणका लागि बोलपत्र आह्वान

बनेपामा निर्माणाधिन फिल्म स्टुडियो ‘सिनेपाः’को भित्री भाग निर्माणका लागि दोस्रो चरणको बोलपत्र आह्वान गरिएको छ । चलचित्र बिकास बोर्डले आइतबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै इच्छुक निर्माण कम्पनीलाई ३० दिनभित्र अनलाइनमार्फत ठेक्काको आवेदन दिन भनेको छ ।

बनेपा नगरपालिका १० स्थित जनगलमा निर्माणाधिन स्टुडियोको भित्री भाग निर्माणका लागि बोलपत्र रकम ३६ लाख रुपैयाँ तोकिएको छ । यसअघि, २०८१ माघ २७ गते पहिलो टेन्डर आह्वान गरिएको थियो । बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, ‘सिनेपाः’ नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो इनडोर सुटिङ स्टुडियो हुनेछ । निजी स्तरमा केही स्टुडियोहरू रहेका भए पनि सरकारी स्वामित्वमा यस्तो स्टुडियो पहिलोपटक बन्नेछ ।

४२ रोपनी क्षेत्रफलमा निर्माण हुने स्टुडियोले स्वदेशी चलचित्र निर्माताहरूलाई प्रविधियुक्त, गुणस्तरीय र लागत–मैत्री छायांकन स्थल उपलब्ध गराउनेछ अपेक्षा छ । वर्षौंदेखि योजना स्तरमा रहेको यो परियोजना हालै निर्माण चरणमा प्रवेश गरेको हो।

२०८२ वैशाख ३० गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित आफ्नो सरकारी निवासमा आयोजित कार्यक्रममा स्टुडियो निर्माणको शुभारम्भ गरेका थिए ।