Mahajatra

हिन्दूवादी संस्थाले दिए झरनाको ‘भागवत् गीता’ बिरुद्ध उजुरी

२०७९ असोज २६
हिन्दूवादी संस्थाले दिए झरनाको ‘भागवत् गीता’ बिरुद्ध उजुरी

झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘भागवत् गीता’ बिरुद्ध उजुरी परेको छ ।  चलचित्रको नामलाई लिएर हिन्दू धर्मवादी संस्था हिन्दू जागरण नेपालले चलचित्र विकास बोर्डमा उजुरी हालेको छ । बुधवार बोर्ड अध्यक्ष भुवन केसीलाई कार्यकक्षमै भेट गरेर बुझाएको उजुरी पत्रमा श्रीमद् भागवत् गीता जस्तो पवित्र नाममाथि अन्तरजातीय प्रेमकथामा चलचित्र निर्माण हुन लाग्नु दुष्कृत्य (अनुचित कार्य) रहेको भनिएको छ ।
 
विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापा र हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायद्वारा संयुक्त हस्ताक्षरीत उजुरी पत्रमा लेखिएको छ, ‘झरना थापाज्युले ‘भागवत् गीता’ नाम राखेर जसमा अन्तरजातीय प्रेमकथामा आधारित भन्ने कुरा समाचारहरुमा आएको छ । यस्ता दुष्कृत्यलाई दोहोर्‍याउन खोजेको स्पष्ट देखिन्छ । त्यसैले यदि श्रीमद् भागवद्को पवित्र नाम र ग्रन्थको महत्व दर्शाइने र आघात नपुग्ने गरि चलचित्रका दृश्य छन् भने मात्र प्रसारण होस् ।’ 

नेपालको मौलिक धर्म, परम्परा र संस्कृति आदिको संरक्षण गर्न चलचित्र क्षेत्रले सशक्त भूमिका निर्वाह गर्नुको बदलामा अझै आघात पुर्‍याउने खालका गतिविधिहरु हुनु दुःखद् रहेको उजुरीमा उल्लेख छ ।