Mansara

मोदिबेनीलाई लिएर उत्साहित वर्षा र अमर

२०८० फागुन १४
मोदिबेनीलाई लिएर उत्साहित वर्षा र अमर

अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ चलचित्र ुमोदीबेनीु छायाङ्कनको दोस्रो तालिकामा फागुन १६ गते पर्वतको चित्रे तर्फ जाँदैछन् । करिब पैँतिस–चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।

चलचित्रमा रहने हालको कथामा अमर र वर्षा प्रमुख भूमिकामा छन् । छायाङ्कनमा नव अभिनेतासँग जोडिन लागेकी वर्षाले अमरमा एक कलाकारमा हुनुपर्ने सबै गुण देखेको बताउँछिन् । “कार्यशालामा अमरको काम हेर्दा एकदम मेहनती कलाकारको रूपमा देखेकी छु । एक कलाकारमा हुनुपर्ने सबै गुण देखेकी छु”, वर्षाले भनिन् । अमरको पहिलो चलचित्र भएता पनि यसको कार्यशालामा बोण्डिङ भइसकेको बताउँदै उनले छायाङ्कनको समयमा नयाँजस्तो महसुस नहुने विश्वास लिइन् । वर्षाले नयाँ मेकर र नयाँ कलाकारसँग काम गर्दा सिकाउने र सिक्ने अवसर पाइने अनुभव राखिन् ।

नव अभिनेता अमरले आफ्नो मन पर्ने अभिनेत्री नै आफ्नो को–एक्टर बनेकोमा खुसी छन् । “वर्षा जी मलाई एकदमै मन पर्ने अभिनेत्री हुनुहुन्छ । आफ्नो फेवरेटसँगको कामबाट डेब्यु गर्न पाउनु मेरो लागि अहोभाग्य हो । उहाँ मेरो को–एक्टर मात्र नभएर मेरो सिनियर पनि हो । वर्षा र मेरो अन–स्क्रिन केमेस्ट्री जम्छ भन्नेमा विश्वास छ”, उत्साहित मुद्रामा अमरले भने – “यस चलचित्रका सबै कलाकारहरू प्रोफेसनल हुनुहुन्छ । उहाँहरूसँग काम गर्न पाउँदाको खुसी त छँदै छ, मैले अभिनय गर्ने पात्रबाट निर्देशकको सोचलाई पुरा गर्ने चुनौती रहेको छ ।”

झण्डै तीन वर्षको अन्तरालपछि फिचर चलचित्रको प्रमुख भूमिकामा अभिनयको लागि छायाङ्कनमा जान लागेकी अभिनेत्री वर्षाले चलचित्रको विषय उत्साहपूर्ण र नयाँ रहेकोले पर्वतमा पुगेर अभिनय गर्न उत्साहित रहेको बताइन् । शङ्कर कोइरालाले निर्देशन गर्ने चलचित्रमा अमर र वर्षाका अलावा सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिसलगायतको अभिनय रहनेछ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । चलचित्रमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । चलचित्रमा उत्सव दाहालको डिओपी, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन र भीम श्रेष्ठको ड्रेस डिजाइन रहनेछ ।