Unko Sweater

Feature Film Love StoryMay 09, 2025Hall Release

News

‘ऊनको स्वीटर’को पोस्टर सार्वजनिक, आगामी वैशाख २६ गते रिलिज हुने

लेन्सनेपाल २०८१ मंसिर १०
‘ऊनको स्वीटर’को पोस्टर सार्वजनिक, आगामी वैशाख २६ गते रिलिज हुने

विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको चलचित्र ‘ऊनको स्वीटर’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । केही महिना अघि सार्वजनिक गरिएको फर्स्ट लुक पोस्टरमा नयाँ ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका विपिन र गुरुङ पहिरनमा मिरुना मगर चित्रित थिए । सोमबार सार्वजनिक गरिएको पोस्टरमा सोही फोटोको एक अंशलाई निरन्तरता दिइएको छ । साथै, पोस्टरमा डोको बोकिरहेका विपिनले हातमा डायरी बोकेका छन् भने मन्द मुस्कानमा रहेकी मिरूनालाई राखिएको छ । ’ऊनको स्वीटर’ शीर्षकलाई ऊनको धागोले बुनिएको डिजाइनमा तयार पारिएको छ ।

पोस्टर सार्वजनिकसँगै यस चलचित्रको रिलिज मिति पनि घोषणा गरिएको छ । यो चलचित्र २०८२ सालको वैशाख २६ गते रिलिज हुने जनाइएको छ । चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ । 

नवीन चौहानले निर्देशन गरेको ‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.ले निर्माण गरेको पहिलो फिचर चलचित्र हो, जसले यसअघि थुप्रै म्युजिकल फिल्महरू निर्माण गरेर लोकप्रियता हासिल गरेको थियो । चलचित्रलाई निर्देशक चौहानले नै लेखेका हुन् भने लेखन सहकार्यमा सुरज कटुवाल रहेका छन् । चलचित्रको छायाङ्कन पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा गरिएको छ ।

चलचित्रका सङ्गीत निर्देशक सुजन चापागाईँ हुन् र सङ्गीत निर्माण तथा ब्याकग्राउण्ड म्युजिक कोबिद बज्रले तयार गरेका छन् । चलचित्रमा समावेश गीतका रचनाकारहरू हर्क साउद र युवराज काफ्ले हुन् भने सङ्गीतकारहरू सुजन चापागाईँ र झुमा लिम्बु हुन् । गीतमा सुजन चापागाईँ, झुमा लिम्बु, सुनिता थेगीम र सलिना बि.क.को स्वर रहेको छ । कोरियोग्राफी रोशन बि.क. र डिप गुरुङले गरेका छन् । चलचित्रको सिनेमाटोग्राफी चिन्तन राजभण्डारीले गरेका छन् भने सम्पादन कृष्ण भण्डारीले गरेका छन् ।

चलचित्रको एशोसियट निर्माता केन्द्र मोशन पिक्चर्स हो भने सहनिर्माताहरूमा साहाङ्ग चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने रहेका छन् । कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री छन् ।