Unko Sweater

Feature Film Love StoryMay 09, 2025Hall Release

News

धरानमा सम्पन्न ‘ऊनको स्वीटर साँझ’मा ६ हजार दर्शक

लेन्सनेपाल २०८२ बैशाख १९
धरानमा सम्पन्न ‘ऊनको स्वीटर साँझ’मा ६ हजार दर्शक

धरानमा ‘ऊनको स्वीटर साँझ’ सम्पन्न भएको छ । आगामी शुक्रवार रिलिज हुने बहु प्रतीक्षित चलचित्र ‘ऊनको स्वीटर’को प्रचारप्रसारको लागि धरान रङ्गशालामा आयोजित कार्यक्रममा ६ हजारभन्दा बढी दर्शकहरूको उत्साहजनक उपस्थिति रह्यो ।

कार्यक्रमको लागि पाँचथरको फिदिम देखि धरान सम्मको २०० कि.मि. बाटोमा मोटरसाइकल र्‍यालीमार्फत दर्शकहरू आएका थिए  भने अन्य गाउँ गाउँहरुदेखि समेत दर्शकहरू आएका थिए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्र विक्रम बेघा लगायत विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो । चलचित्रका प्रमुख कलाकारहरू विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, परीक्षा लिम्बू, एलेक्स पारस, निर्देशक नवीन चौहान, गायक सुजन चापागाईँ, गायिका तथा सङ्गीतकार झुमा लिम्बू, र गीतकार युवराज काफ्लेलाई नगरप्रमुख साम्पाङले स्वागत तथा सम्मान गरे ।

सुजन चापागाईँ र उनको ‘द इन्फिनिटी ब्यान्ड’ले “लजाएर एक्लै किन”, “तिमी बिना तिमी हुनु”, “फूलथुङ्गे रानी”, “आँसुको भारी”, “गाला पुक्क”, “तीनपाते”, “मखमली” लगायतका चर्चित गीतहरू प्रस्तुत गरे । गायिका झुमा लिम्बूसँगको “काफ्ले” गीतले दर्शकहरूलाई विशेष रूपमा आकर्षित गर्‍यो ।

कार्यक्रममार्फत सङ्कलित मुनाफा धरान उपमहानगरपालिकाको श्रम संस्कृति अभियानलाई आर्थिक सहयोग स्वरूप हस्तान्तरण गरिने चलचित्रका निर्देशक नवीन चौहानले बताए । यसअघि पोखरा र काठमाडौंमा पनि  ‘ऊनको स्वीटर साँझ’को आयोजना गरिएको थियो ।

निर्देशक चौहानको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’को छायाङ्कन पाँचथर र नेपाल–भारत सिमाना फालेलुङमा गरिएको हो ।आर्टमाण्डू प्रा.लि.ले निर्माण गरेको चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायत कलाकारहरूको अभिनय रहेको छ ।