Unko Sweater
Feature Film Love StoryMay 09, 2025Hall Release
News
‘ऊनको स्वीटर साँझ पोखरा’मा सुजन चापागाईँको प्रस्तुति, हजारौँ दर्शकको उपस्थिती
रिलिज मिति नजिकिँदै जाँदा चलचित्र ‘ऊनको स्वीटर’ ले प्रचार–प्रसार अभियानलाई अझ तीव्र बनाएको छ । चलचित्र युनिट अहिले देशका विभिन्न स्थानमा पुगेर दर्शकमाझ प्रत्यक्ष रूपमा प्रस्तुत भइरहेको छ । यही शृङ्खलामा पोखराको फेवा ताल किनारमा ‘ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईँ’ शीर्षकको भव्य कार्यक्रम सम्पन्न गरेको छ ।
फेवा किनारको हल्लनचोकमा आयोजित कार्यक्रममा चर्चित गायक तथा चलचित्रका गीत निर्देशक सुजन चापागाईँले हजारौँ दर्शकबीच आफ्नो सजीव प्रस्तुति दिए । उनले ऊनको स्वीटर का गीतहरू ‘मखमली’, ‘काफ्ले’, ‘फूल’ लगायतका लोकप्रिय गीतहरू प्रस्तुत गरे । साथै, सोही दिन प्रसिद्ध लोकगायक स्व= झलकमान गन्धर्वको ९०औँ जन्म जयन्तीको अवसर पारेर उनले झलकमानलाई समर्पित विशेष प्रस्तुति समेत दिए । झलकमान सारङ्गी पाठशालाका विद्यार्थीहरूसँग उनले ‘बाला जोबन’ गीत गाएका थिए । सो अवसरमा झलकमानको परिवार र सारङ्गी पाठशालालाई सम्मानसमेत गरियो । पाठशालाका बाल कलाकारहरूले सारङ्गी वादन प्रस्तुत गर्दै दर्शकको मन जिते ।
कार्यक्रममा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, नव–कलाकार एलेक्स पारस, कलाकार माओत्से गुरुङ, निर्देशक नवीन चौहान, कार्यकारी निर्माता मिलन खत्री, वितरक पुष्कर घिमिरे, मिडिया एक्जिक्युटिभ जीवन पराजुली लगायतको उपस्थिति थियो ।
कार्यक्रमकै अवसरमा फिल्मका तीन नयाँ पोस्टरहरू सार्वजनिक गरियो । अभिनेता विपिन कार्कीले दर्शकलाई सम्बोधन गर्दै चलचित्र ऊनको स्वीटर मौलिक बनेको बताउँदै हलसम्म पुगेर हेर्न अनुरोध गरे । कलाकार माओत्से गुरुङले आफू सधैँ राम्रो ब्यानरको फिल्ममा काम गर्न चाहने बताउँदै आर्टमान्डूको अफर सजिलै स्वीकारेको उल्लेख गरे ।
निर्देशक नवीन चौहानले आर्टमान्डूका गीतहरूले जस्तै चलचित्रले पनि दर्शकलाई सन्तुष्टि दिने विश्वास व्यक्त गर्दै वैशाख २६ गते रिलिज मितिको पर्खाइ गर्न आग्रह गरे ।
नायिका परीक्षा लिम्बुले दर्शकमाझ देखिएको उत्साहबाट आफू उत्साहित भएको बताइन् भने, यही चलचित्रमार्फत अभिनय यात्रा सुरु गरेका एलेक्स पारसले दर्शकमाझ प्रत्यक्ष रूपमा आउन पाउनु ठुलो खुसी भएको बताए । एलेक्स यसअघि आर्टमान्डूकै गीत ‘फूलथुङ्गे रानी’मा अभिनय गरेर चर्चा कमाएका थिए ।
कार्यक्रमको आकर्षणको रूपमा एलेक्स र परीक्षाले ‘काफ्ले’ गीतमा रमाइलो नृत्य प्रस्तुत गरे । साथै, पोखरा कला केन्द्रका कलाकारहरूले पनि आकर्षक नृत्य प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरञ्जन दिलाए । अब ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’को अर्को शृङ्खला यही वैशाख १८ गते धरानमा हुँदैछ ।
वैशाख २६ गते विश्वव्यापी रिलिज हुने चलचित्र ‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित एक सामाजिक कथानक चलचित्र हो । विपिन कार्की र मिरुना मगर प्रमुख भूमिकामा रहेको यस चलचित्रमा विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायत कलाकारको अभिनय रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



