Pujar Sarki
UA Feature Film Social DramaMay 23, 2024Hall Release
News
‘पुजार सार्की’को जापान शो ‘ऐतिहासिक’
गत बिहीबार रिलिज भएको चलचित्र ‘पुजार सार्की’ जापानमा ऐतिहासिक शो सम्पन्न भएको छ । जापानमा नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक एकसाथ १५०० दर्शकले चलचित्र हेरेका हुन् । उक्त शोमा सहभागी हुन नेपालबाट यस चलचित्रका अभिनेता पल शाह र लेखक बिकास सुवेदी टोकियो पुगेका थिए ।
नाकानो जेरो हलमा भएको शो मा नै बसेर पहिलो पटक अभिनेता शाहले यो चलचित्र हेरे । नेपालमा रिलिज भएको समयमा अर्को चलचित्रको छायाङ्कनमा व्यस्त रहेको र छोटो समयको लागि काठमाडौं रहेकोले उनले ‘पुजार सार्की’ हेर्न पाएका थिएनन् । अहिले विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा उक्त शो को भिडियो र फोटोहरू भाइरल भइरहेका छन् । भिडियो र फोटोमा अथाह भिड र क्रेज देखिएको छ ।
उक्त शो का आयोजक मध्येका एक पत्रकार सचिन आचार्यले ‘आउट अफ कन्ट्रोल’ भिडका साथ चलचित्र चलाइएको बताए । “हामीले भिड थाम्नै नसक्ने अवस्था थियो । व्यवस्थापन मिलाउन खोज्दा भिड ‘आउट अफ कन्ट्रोल’ भयो । यो चलचित्र र अभिनेता पल शाहको क्रेज देखेर हामी छक्क परेका छौँ । चलचित्र पनि निकै राम्रो बनेको रहेछ । यो शो पछि थप ‘इन्क्वायरी’ आइरहेका छन् । जापानमा अन्य चार वटा शो हरू तय भइसकेका छन्,” यसअघि ‘कबड्डी ४’ चलचित्र रिलिज हुँदा पनि लगभग यस्तै भएको सम्झना गर्दै आचार्यले भने “तीन वर्षअघि ‘कबड्डी ४’ रिलिज गर्दा पनि लगभग यस्तै भएको थियो, तर अहिले जस्तो भने कहिल्यै भएको थिएन । हलको सिट सङ्ख्या १२०० जनाको हो, तर १५०० जना भन्दा धेरै भएपछि उभिएर र भुईँमै बसेर ‘पुजार सार्की’ हेरे । हल व्यवस्थापनले राख्न नमान्दा पनि दर्शकहरू हलबाट निस्किन नमानेपछि १५०० ले नै हेरे ।”
मुख्य आयोजक खिमराज शाहले जापानमा ‘पुजार सार्की’ले इतिहास कायम गरेको बताए । उनी भन्छन्, “यहाँ यो चलचित्रको ऐतिहासिक शो सम्पन्न भयो । उत्कृष्ट प्रतिक्रिया पनि पायौँ । पल शाहले निकै भएको रहेछ आफ्नो चलचित्र हलमा नहेरेको । निकै उत्सुक हुनुहुन्थ्यो । चलचित्र हेर्दा उहाँ भाव विह्वल हुनुभयो । उहाँ आफैँले एक गीतमा नृत्य समेत गर्छु भनेर स्टेज चढ्नुभयो । संसारभरका दर्शकले ‘पुजार सार्की’लाई दिएको प्रेमलाई पलले धन्यवाद व्यक्त गर्नुभयो ।”
बिहीबार रिलिज भएदेखि नै ‘पुजार सार्की’ले ब्लकबस्टर व्यापार गरिरहेको छ । पलले रिलिजको पहिलो दिन बिहीबार मध्यान्हदेखि काठमाडौंका विभिन्न हल भिजिट गरेर जापान तर्फ लागेका थिए । दिनेश राउतले निर्देशन गरेको यो चलचित्रमा पलसहित आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ । किङ्गडम नेटवर्कको ब्यानरमा सुबास भुसालले निर्माण गरेको ‘पुजार सार्की’को अन्तर्राष्ट्रिय वितरक एमएसएम इन्टरटेन्मेन्ट हो भने नेपाल वितरक आरआर फिल्मस\ हो ।
आज ‘पुजार सार्की’ रिलिजको पाँचौँ दिन सोमवार पनि काठमाडौं र काठमाडौं बाहिरका उल्लेख्य हलमा दर्शकको चाप देखिएको छ । मङ्गलवार गणतन्त्र दिवसको दिन सार्वजनिक बिदा भएकोले यो चलचित्रले दर्शकलाई पुनः हलमा फर्काउने विश्वास गरिएको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi


