Mahabhoj

UA 136 mins Feature Film Social DramaJun 13, 2025Hall Release

News

‘महाभोज’को ट्रेलर सार्वजनिक, सहकारी ठगीको कथा

लेन्सनेपाल २०८२ जेष्ठ ४
‘महाभोज’को ट्रेलर सार्वजनिक, सहकारी ठगीको कथा

जेठ १५ गते रिलिज हुने चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार दिउसो काठमाडौंको क्युएफएक्स सिनेमा–राइजिङ मलमा आयोजित समारोहमा ट्रेलर सार्वजनिक गरिएको हो ।

करिब साढे चार मिनेट लामो ट्रेलरले सहकारी संस्थागत प्रणालीमा जकडिएका पीडितहरूको मार्मिक कथा उठाएको छ । यसमा प्रमुख पात्र दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला प्रमुख भूमिकामा चित्रित छन् । ट्रेलरका बीचबीचमा सहकारीमा जम्मा गरेको रकम नपाएर औषधि मात्र होइन, ज्यान नै गुमाउन पुगेका आम मानिसको त्रासदी, जागिरे कर्मचारीको मनोवेदना र राजनीतिकरूपले चलखेल गर्नेहरूको दम्भ झल्किन्छ ।

निर्देशक दिनेश राउतले समारोहलाई सम्बोधन गर्दै भने, ‘समाजमा सहकारीको रकम मिसयुज हुने घटनाहरू पछिल्लो समय मात्र बढेका होइनन् । अहिलेको समयमा यो विषय तातेको भएर मात्र पनि यो कथालाई पर्दामा उतार्ने प्रयोजन बनाएका होइनौँ । हाम्रो समाजका माथिल्ला स्तरका केही मानिसहरूले तल्लो स्तरका मानिसहरूलाई प्रयोग गरी कसरी आफ्नो बिलासी जीवन जिउँछन् भन्ने कथा यो चलचित्रको हो, सहकारीको कथा एक कारक मात्र हो ।’ निर्माता हिमाल कडरियाले थपे, ‘‘चलचित्रमा पैसा मात्र प्रलोभन होइन, हाम्रो समाज आफैँले उत्पादन गरेको कथा हुनु आवश्यक थियो । त्यसैबाट ‘महाभोज’ जन्मियो ।’’

विकास सुवेदीले कथा तथा पटकथा लेखेको यस चलचित्रलाई क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेका हुन् । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय रहेको छ ।