Mahabhoj

UA 136 mins Feature Film Social DramaJun 13, 2025Hall Release

News

‘महाभोज’को प्रिभ्यु, सहकारी पिडितले गरे नाराबाजी

लेन्सनेपाल २०८२ जेष्ठ १४
‘महाभोज’को प्रिभ्यु, सहकारी पिडितले गरे नाराबाजी

मंगलबार साँझ काठमाडौंमा चलचित्र ‘महाभोज’को विशेष प्रिभ्यु गरिएको छ । बिहीबारदेखि प्रदर्शनमा आउने चलचित्रको प्रिभ्युमा पत्रकार, चलचित्र युनिट र ६० जना सहकारी पीडितहरू सहभागी थिए ।

प्रदर्शन अवधिभर हलमा सघन भावनात्मक माहौल देखिएको थियो । सहकारी पीडितहरूले चलचित्रले उनीहरूकै जीवनको यथार्थ प्रतिबिम्ब झल्काएको अनुभव सुनाउँदै यसको विषयवस्तुले आफूहरूलाई न्यायका लागि अझ सशक्त र प्रेरित बनाएको बताए । चलचित्र प्रदर्शनपछि उनीहरूले सञ्चारकर्मीहरू सामु नाराबाजीसहित उत्साह व्यक्त गर्दै भने, “राज्यले नसुनेको पीडितको आवाज ‘महाभोज’ले पर्दाबाट बोलेको छ ।”

यस्तै, उनीहरूले निर्देशक दिनेश राउत, निर्माता हिमाल कडरिया, लेखक विकास सुवेदी तथा सम्पूर्ण कलाकारप्रति आभार व्यक्त गर्दै चलचित्रलाई देश विदेशमा बस्ने सम्पूर्ण नेपालीले हेरेर सफल बनाउनु पर्ने धारणा राखे । उनीहरूको भनाइमा, ‘महाभोज’ मनोरञ्जनको माध्यम मात्र नभएर आन्दोलनको स्वर समेत बनेको छ, जसले राज्य संयन्त्रमाथि नै गहिरो प्रश्न उठाएको छ । सामाजिक यथार्थलाई कलात्मक ढङ्गमा चित्रण गर्न सकिएको भन्दै चलचित्रको प्रशंसा गरिएको छ ।

यसैबीच, देशभरका प्रमुख मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन हलहरूले ‘महाभोज’ को अग्रिम बुकिङ खुला गरिसकेका छन् । वितरकहरूका अनुसार यो चलचित्र करिब २ सय शो सहित नेपालभर प्रदर्शन हुँदैछ ।

दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय रहेको ‘महाभोज’ सहकारी संस्था सम्बन्धी एउटा गम्भीर सामाजिक विषयमा आधारित छ । चलचित्रले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने अवस्थालाई चित्रण गरेको छ । पीडितहरूको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेल चलचित्रको मूल कथा बन्छ ।

क्लक वर्क क्रियशनस् र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको चलचित्रले नेपालसँगै विदेशका केही मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारी गरेको छ ।