Chha Maya Chhapakkai

UA 145 mins Feature Film ComedyOct 11, 2019Hall Release

News

‘छ माया छपक्कै’ दुइवटा आइडोलोजीको फ्युजन हो – निर्देशक लामा

लेन्सनेपाल २०७६ असोज १५
‘छ माया छपक्कै’ दुइवटा आइडोलोजीको फ्युजन हो – निर्देशक लामा

यो वर्षको बहुप्रतिक्षित चलचित्र हो ‘छ माया छपक्कै’ । यो चलचित्र आम दर्शकका लागि मात्र नभएर चलचित्रकर्मीहरुकै बिचमा पनि चासो र प्रतिक्षाको चलचित्र बनेको छ । कारण, समिक्षकका रुपमा कहलिएका दिपेन्द्र लामा र एक पछि अर्को व्यवसायिक सफलताको रेकर्ड कायम राख्दै अघि बढेको दिपक–दिपा समुहको फ्युजन ।

रोहित अधिकारीको निर्माण रहेको चलचित्र दिपक–दिपाको प्रस्तुति हो । निर्देशक लामाकै कथा रहेको चलचित्र यही असोज २४ गतेबाट प्रदर्शन हुँदैछ । यही चलचित्रसँग नजिक रहेर निर्देशक लामासँग गरिएको कुराकानी ।


‘छ माया छपक्कै’ कस्तो खालको चलचित्र हो ?

यो खासमा सोसियल पोल्टिकल कमेडी हो । यसमा रोमान्स पनि छ । ‘छक्का पञ्जा ३’ मा जसरी शिक्षालाई मुख्य विषय बनाइएको छ । त्यस्तै यसमा पनि गाँउघरमा हुने एउटा समस्यालाई मुख्य विषय बनाइएको छ । त्यो विषय अहिले खोलिएको छैन । ट्रेलरमा पनि आएको छैन ।
 

आफ्ना अघिल्ला चलचित्र ‘घामपानी’ र ‘गोपी’ नजोडी छक्का पञ्जा ३ को उदाहरण दिनुको कारण ?

चलचित्र आमा सरस्वती मुभिजको व्यानरमा बनेको चलचित्र हो नी त ।
 

तर, स्टोरी र निर्देशन त तपाईको हो नी ?

स्टोरी मेरो हो । यसमा ‘घामपानी’ र ‘गोपी’को जस्तै सामाजिक विषयपनि छ । तर, छक्का पञ्जाको भन्दा यसको फ्लेवर फरक छ । नत्र त ‘छक्का पञ्जा ४’ बनाए भइहाल्यो नी ।
 

‘घामपानी’ भन्दा ‘गोपी’ पनि फरक थियो, यो चलचित्रको ट्रेलरले ति भन्दा यो फरक लाग्छ । यद्यपी अघिल्ला चलचित्रसँग तुलना गरेर हेर्न मिल्छ ?

‘घामपानी’ र ‘गोपी’सँग तुलना गर्न मिल्दैन । यो चलचित्रको क्यानभास ठुलो छ । लगानी धेरै छ । धेरै खर्च गरेपछि मार्केट पनि फराकिलो सोच्नै पर्यो । मार्केट फराकिलो सोच्न र धेरै पैसा रिटर्नका लागि चलचित्रको प्याटन पनि केही चेन्ज गर्न पर्छ । अलिक बढी मासओरेन्टेड बनाउनु पर्ने बाध्यता हुन्छ । त्यसलाई पनि बिचार गरिएको छ । तर, कमर्सियल भन्दैमा आर्ट छैन भन्ने होइन । मान्छेले दिपक–दिपा भनेपनि खाली कमर्सियल पक्ष मात्र सोच्छन् भन्ने ठान्छन् । तर, मलाई ५४ दिनको छायाँकन पछि के महशुस भयो भने उहाँहरु पनि आर्टलाई लिएर त्यत्तिकै चिन्तित हुनुहुन्छ । चलचित्रलाई कसरी आर्टिष्टिक बनाउने, कसरी उत्कृष्ट बनाउने भन्नेमा म जति चितित छु उहाँहरु पनि त्यत्तिकै चिन्तित हुनुहुन्छ । यसकारण यसमा आर्टको पक्ष पनि सबल भएर आउँछ ।
 

क्यनभास ठुलो हुँदैमा चलचित्र राम्रो हुन्छ भन्ने हो र ?

चलचित्र क्यानभास ठुलो भएर राम्रो हुने भन्ने हुँदै होइन । चलचित्र राम्रो हुन पटकथा राम्रो हुनुपर्छ । क्यानभास ठुलो होस् वा सानो होस्, कलाकार र प्राबिधिकको काम राम्रो हुनुपर्छ । यसमा निर्देशकको भुमिका अहम् रहन्छ ।

क्यानभास ठुलो हुँदैमा चलचित्र राम्रो हुँदैन तर, क्यानभास ठुलो हुँदैमा चलचित्र झुर हुने भन्ने पनि होइन । यसमा क्यानभास पनि ठुलो छ र मैले चलचित्रलाई राम्रो बनाउँन पनि सक्दो प्रयास गरेको छु । ठुलो क्यानभासमा पनि राम्रो बनाउन सके अझ त्यसले प्लस गर्छ । बिजनेश पनि राम्रो गर्छ । भोलि हलमा आएपछि क्यानभास मात्र ठुलो रहेछ चलचित्र फितलो छ भन्ने कमेण्ट नआओस् भन्नका लागि पनि मैले ध्यान दिएको छु ।
 

दिपक–दिपा समुहका चलचित्र बढी कमर्सियल छन् अनि तपाई बढी कलात्मक चलचित्रलाई जोड दिनुहुन्छ, यसपटक तपाईहरु एकै ठाउँमा आउँदा कस्तो चलचित्र बनेको छ त ?

पक्कै पनि यसपटक दुइवटा आइडोलोजीको फ्युजन छ । उहाँहरु बिजनेसलाई प्राथमिकता दिनुहुन्छ होला, म बिजनेस भन्दा आर्टलाई बढी प्राथमिता दिन्छु । तर, दुबै पक्ष आ–आफ्नै अडानमा कायम रह्यो भने त सहकार्य नै सम्भव छैन नी । हामीले दुवै पक्ष धेरै हदसम्म लचिलो भएर बिचमा आएर यो चलचित्र बनाइएको हो । त्यसैले ट्रेलर हेर्दा पनि केही कुराहरु महशुस हुन्छ ।

मेरा अघिल्ला चलचित्रहरु ‘घामपानी’ र ‘गोपी’ भन्दा यो चलचित्र केही व्यवसायिक लाग्छ भने छक्का पञ्जा भन्दा केही बढी आर्टिष्टिक लाग्छ । यो चलचित्रले छक्का पञ्जाका दर्शकलाई पनि खुशी बनाउँछ, ‘घामपानी’ र ‘गोपी’का दर्शकलाई पनि निराश बनाउँदैन । यसो हुनुमा मेरो मात्र हात छैन । यसमा दिपक–दिपाको पनि उत्तिकै हात छ । उहाँहरु भन्दासाथ दर्शकले कमेडी नै चाहन्छ । एकै पटक त्यसलाई छोड्नु रिक्स हुन्छ । त्यसैले उहाँहरु एकपछि अर्को चलचित्रमा सिरियस कन्टेनका साथ आरहनु भएको छ । उहाँहरुका चलचित्रमा कलात्मक पक्ष थप शशक्त हुँदै आएको छ ।
 

दिपकराज गिरीले चलचित्रको घोषणा कार्यक्रममा नै तपाईसँगको सहकार्य रेटिङ बढाउन नभई व्यापार बढाउनका लागि भएको भन्नुभएको थियो । समिक्षात्मक रुपमा तपाईलाई कस्तो रिभ्यु आउला जस्तो लाग्छ ?

त्यो उहाँको आदर्श होला । तर, पहिले भन्दा उहाँलाई अहिले सिरियस चलचित्र बनाउन पर्छ भनेरै म सँग जोडिन आउनु भयो । मलाई पनि ठुलो मासमा पुग्नु पर्छ भन्ने लोभ लागेर जोडिए । तर, मासलाई आकर्षित गर्ने भन्दैमा चलचित्र कमजोर बनाउनु भएन ।

उहाँले त्यसो भन्नु भए होला । तर, हामी आमा सरस्वति मुभिजको विगतका चलचित्रको व्यवसायिक रेकर्डको हाराहारि पुग्न पर्छ अनि छक्का पञ्जा ३ ले भन्दा राम्रो कमेण्ट पनि पाउनु पर्छ भन्नेमा एकमत थियौं । जसले गर्दा हामी व्यवसयिक र समिक्षागत रुपमा उत्कृष्ट बनाउँन त्यत्तिकै सचेत थियौं ।

म त्यति धेरै महत्वकाक्षी पनि छैन । चलचित्रले समिक्षकहरुबाट ५ मा ५ तारा पाउँछ भन्ने पनि छैन । छक्का पञ्जाको रेकर्ड तोड्नुपर्छ भनेर उत्साहित पनि छैन । खाली निर्माता नाफामा जाउन अनि चलचित्र हेर्ने दर्शकहरुले पनि राम्रो भन्दिउन भन्ने मात्र छ ।
 

समिक्षाको कुरा गर्दा, विगतमा अरुका चलचित्रको समिक्षा गर्दा आफुले औल्याएका कमजोरीहरु आफ्नै चलचित्रमा होलान कि नहोलान् ?

काम गर्दै जाँदा कमजोरी त भइहाल्छ । डाक्टरले पनि बिरामीलाई चुरोट नखानु, अल्कोहल नखानु भन्छ तर, आफै खाइरहेको हुन्छ । यस्ता मानविय गल्ति होलान । सके सम्म म आफुले अरुका चलचित्रमा नियालेका गल्ति नदोहोरिउन भन्नेमा सजग हुन्छु । तर, पनि पछि चलचित्र हेर्दा त्यस्ता गल्ति महशुस भइरहन्छ । ‘घामपानी’ र ‘गोपी’मा पनि त्यस्तो भएको थियो ।