Rekha Thapa   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

शारीरिक होइन, वैचारिक द्वन्द्व चाहिन्छ हिरो बन्न !

बलात्कार र महिला हिंसाको जड पुरुष कि समाज ! वास्तविक हिरो बन्न सक्लिन त रेखा

बिष्णु सुबेदी २०७५ असोज १६
शारीरिक होइन, वैचारिक द्वन्द्व चाहिन्छ हिरो बन्न  !

अपबादलाई छोडेर हेर्दा नेपाली चलचित्रमा पुरुष पात्रहरु नै हावि थिए । पुरुषको भुमिकालाई नायकत्व प्रदान गर्नका लागि मात्र सहयोगी देखिन्थे नारी पात्रहरु । पुरुष शक्तिशालि अनि नारी निरिह पात्र बन्थे । ठ्याक्कै पुरुष प्रदान समाजमा देखिने चित्र जस्तै ।

तर, सन् २००५ को एउटा चलचित्र जसले नायिकालाई शशक्त भुमिकामा देखायो । शशक्त यसअर्थ की नारी पनि आफ्ना लागि आफै गर्न सक्षम छन् । चलचित्र हो दुर्गा । हुन त यो चलचित्रमा पनि पुरुष पात्रहरु हाबी नभएका होइनन् । त्यतिबेला नाम चलेका नायकहरु बिराज भट्ट अनि रमित ढुङ्गानाको मुख्य भुमिका थियो । तर नायकको भन्दा शशक्त भुमिकामा देखिएकी थिइन नायिका । नायिकाको भुमिकामा थिइन रेखा थापा

यही चलचित्र हो जसले रेखा थापालाई एक्सन भुमिकामा पनि शशक्त रुपमा स्थापित गरिदियो । हामीले यहाँ कुदेर वा उडेर गरिने द्वन्द्व नभएर मानसिक र सामाजिक द्वन्द्वको कुरा गर्दैछौं ।

दुर्गा पछि रेखाले अभिनय गरेका सबै चलचित्रमा उनको उपस्थिति अर्थपूर्ण छ भनेर भन्न खोजिएको पनि होइन । तर, केही चलचित्रहरु जसमा उनले पुरुष पात्रलाई छायाँमा मात्र पारिनन् नारी पनि शशक्त छन् भन्ने उदाहरण पेश गर्न सफल भइन ।

दुर्गा पछि रामप्यारी सम्म आइपुग्दा उनले मसँगका कयौं भेट र अन्र्तवार्ताहरुमा पटक पटक भनेकी छिन – ‘म कलाकार हुँ । कलाकै माध्यमबाट, चलचित्र मार्फत मैले सामाजिक र मानसिक विकृति बिरुद्ध आवाज उठाउँदै आएकी छु । आइरहनेछु ।’ नारी शशक्तीकरणको सवालमा पनि उनको तर्क हुन्थ्यो – ‘मेरा चलचित्रहरु कहिँ कतै यसैमा केन्द्रित रहनेछन् ।’

गत वर्ष प्रदर्शनमा आएको उनको चलचित्र रुद्रप्रियाको सन्दर्भमा भने उनीसँग मेरो कुनै कुरा भएन । तर तिहारको अवसरमा प्रदर्शन हुने चलचित्र मालिकाको ट्रेलर रिलिजसँगै उनले पटक पटक भनेका कुराहरु वास्तविकता जस्तै देखिन थालेका छन् ।

चलचित्र एउटा यस्तो शशक्त माध्यम हो, जसले कयौं विषयमा सहजै सकारात्मक छाप छोड्न सक्छ समाजमा । अन्य माध्यमबाट घण्टौं लगाएर भन्न वा बुझाउन नसकेका कुराहरु २ घण्टाको चलचित्रले सजिलै बुझाइदिन्छ । अनि कलाकार दर्शकका आइडल पनि हुन । यसर्थ कलाकारले कलाको माध्यमबाट समाजको रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्न सक्छन् । छोरीका लागि स्वर्णिम नेपाल अभियान चलाइरहेका नरबहादुर कार्कीले पनि यो कुरा राम्रो सँग बुझेका छन् । त्यसो त रेखाले समाजसेवा गर्छु भन्दै राजनीति नगरेकी पनि होइनन् । तर, राजनीति भन्दा चलचित्रका माध्यमबाट उनले समाजमा धेरै सकारात्मक कुराहरु प्रवाह गर्न सक्छिन् । सायद यो कुरा उनले पक्कै बुझेकै छिन । नरबहादुर र रेखा दुबैले चलचित्रको प्रभाव वारे बुझेकोले छोरीका लागि स्वर्णिम नेपाल अभियानकै रुपमा मालिका निर्माण गरे ।

मैले मालिकाको ट्रेलरलाई अव्वल भन्दिन । प्रस्तुति र मेकिङमा अझ उत्कृष्ट काम गर्न सकिन्थ्यो । तर, यसको विषयबस्तु भने अव्वल छ । अहिले सडक देखि संसद सम्म बलात्कार बिरुद्धको आवाज बुलन्द भइरहेको छ । सडकबाट बलात्कारीलाई फाँसि दिने कानुन समेत माग भइसकेको छ । तर, कैयौं घटनामा पिडितहरुले न्याय पाएका छैनन् । पछिल्लो उदाहरण हुन कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्त ।

देश जुन विषयले रोइरहेको छ, अभिवावकहरु जुन विषयले पिरोलीरहेका छन्, नारीहरुले असुरक्षित महशुस गरिरहेका छन्, अनि नारीको इज्जत गर्न सिकेका पुरुषहरु पुरुष हुनुमै हिनताबोध गर्नु पर्ने बेला सृजना हुनै लागेको छ । यस्तो समय सापेक्ष विषयमा रेखाले जुन चलचित्र बनाउने आँट गरिन त्यो प्रसंसनिय नै छ ।

तर, के बलात्कार वा नारी हिंसाको जड पुरुष मात्र हुन त ? यो प्रश्नको सहज जवाफ भने पाउन मुश्किल छ । बरु यस्ता घट्ना हिजो पनि हुन्थे आज पनि दोहोरिएका छन् । नारी शशक्त हुँदै गए, उनीहरुलाई आफुहरुमाथी हिंसा भइरहेको चेतना हुन थाल्यो, बलात्कार अपराध हो भन्ने कुरा बुझ्दै आए । पछिल्लो समय यस्ता घट्नाको उजुरी पर्न थाल्यो । महिला हिंसा बिरुद्ध आवाजहरु बुलन्द भइरहे । तर, त्यही समाजमा महिलालाई सचेत बनाइरहँदा समाजकै अर्को पक्ष पुरुषलाई भने कसैले वास्ता गरेनन् । उनीहरुलाई महिला हिंसा के हो ? बलात्कार अपराध हो, हिंसा गर्नु पनि अपराध नै हो भनेर कसैले बुझाउन आवश्यक ठानेनन् । देश लामो समय पितृसतात्मक राज्य सत्ताबाट अघि बढेकोले होला सबैले पुरुषलाई सक्षम देखे, उनीहरुलाई थप सचेतनाको आवश्यकता ठानेनन् । तर, कतिपय अवस्थामा पुरुषमाथी पनि हिंसा भएको हुन सक्छ । त्यसैले नारी–पुरुषलाई एउटै सिक्काका दुई पाटा मान्ने हो भने महिलासँगै पुरुषलाई पनि यस्ता विषयमा सचेतना कार्यक्रम आवश्यक छ । जब सम्म महिला – पुरुष दुवै यस विषयमा समेत रहँदैनन् तब सम्म यस्ता घट्ना दोहोरिरहन सक्छन् । मालिकाका निर्माता नरबहादुर कार्की आफ्नो चलचित्रले पुरुषलाई नभएर समाजलाई यस्ता घट्नाको दोषी ठानेको बताउँछन् । समाजको हिस्सा महिला पनि हो, पुरुष पनि हो । त्यसैले मालिका सामाजिक चेत माथिको लडाई हो ।

शुक्रबार मालिकाको ट्रेलर सार्वजनिक गरियो । ट्रेलरका आधारमा भन्ने हो भने चलचित्र बलात्कार, बाल विवाह, बहुविवाह, महिला हिंसाका साथै सामाजिक विभेद बिरुद्ध केन्द्रित छ ।

हरेक व्यक्ति भित्र एउटा हिरो हुन्छ । मालिकाले पनि आफु भित्रको हिरोलाई चिन्न प्रेरित गर्ने बताइन्छ । रेखाले भनेकी छिन – ‘मेरो हिरोहरु गाँउ गाँउमा छन् । हरेक वस्तीमा, बाटोमा, हरेकको आत्माभित्र देख्छु । त्यसैले कमलालाई हिरो बनाए ।’ उनको चलचित्रकी मुख्य पात्र कमला वली, जसले टेलिभिन देखेकी थिइनन्, चलचित्र हेरेकी थिइनन् वा भनौं शहरमा जीउने जीवनभन्दा नितान्त वेग्लै थियो उनको संसार । रेखाले तिनै कमलालाई चलचित्रमा अभिनय गराइन् ।

रेखाले चलचित्रमा कमलालाई कसरी प्रस्तुत गरेकी छिन त्यो त हेर्न बाँकी नै छ । तर, ट्रेलरका आधारमा भन्ने हो भने कमलाको उपस्थिति मालिकाको ट्याग लाइनसँग मेल खान्छ ।

हो हरेक व्यक्ति सक्षम छन् तर आफु भित्रको शक्तिलाई चिन्न सकिरहेका हुँदैनन् । ट्रेलरमा समावेश एउटा पाटोलाई हेरौं : एउटी युवती जसले जीवनबाट हार खाएकी छे । छोरी भएर जन्मनु नै आफ्ना लागि अभिषाप ठान्छे । तर, त्यही युवती जो एउटा शक्तिका रुपमा देखिएकी छे । जीवनबाट हार खाएकी युवतीलाई शक्तिमा परिणत गर्ने काम पनि अर्की युवतीले नै गर्छे । यसो हेर्दा सामान्य लाग्ने यो दृष्य भित्र धेरै अर्थ लुकेको छ ।

भौगोलक हिसाबले जुन कुनै स्थानमा भएपनि, परिस्थितिले जसरी घेरिए पनि, समाजिक कुरितिले जसरी जेलिए पनि यदी त्यो छोरीलाई, त्यो चेलीलाई, त्यो नारीलाई उ भित्रको शक्ति पहिचान गराईदिने हो भने उ आफ्ना लागि मात्र होइन देशका लागि शान बन्न सक्छे, देशका लागि शक्ति बन्न सक्छे, समाज परिवर्तनको लागि एउटा शशक्त आवाज बन्न सक्छे । सायद यही नै होला मालिकाले कमला वलीको पात्र मार्फत दिन खोजेको सन्देश । उनलाई जुन परिवेशबाट चलचित्रमा ल्याइयो अनि जुन रुपमा प्रस्तुत गरियो त्यसले हरेक नारीलाई आफु भित्रको शक्तिलाई चिन्न प्रेरित गर्न सक्छ । तर, चलचित्रको प्रस्तुति अव्बल भएन भने गम्भिर विषयवस्तु पनि बकबास भइदिन्छ । मेकर संवेदनशिल भएनन् भने भन्न खाजेको भन्दा अर्कै (गलत) सन्देश पनि प्रवाह हुन सक्छ । धेरै चलचित्रको हकमा गम्भिर विषयवस्तु पनि सतही रुपमा प्रस्तुत गरिदिदा यसको प्रभाव न्यून देखिएको छ । रेखाकै हकमा पनि उनले शशक्त रुपमा अभिनय गरेका चलचित्रहरुको प्रस्तुति अब्बल नहुँदा नारी पात्र शारिरिक रुपमा मात्र शशक्त देखिएका थिए । रेखा चलचित्रमा हिरोका रुपमा देखिइन तर, उनका चलचित्रमा समाजकै हिरो बन्नका लागि आवश्यक वैचारिक द्वन्द्वको पक्ष फितलो हुन्थ्यो । १८ वर्षको फिल्म यात्राको क्रममा रेखाले यो कुरा पक्कै बुझेकी होलिन । यदी यो कुरा बुझेकी छिन भने चलचित्रको हिरो बनिसकेकी रेखा मालिकाबाट समाज परिवर्तनका सन्दर्भमा वास्तविक हिरो बन्न सक्छिन ।

रेखाले भनेकी छिन – ‘मलाई के अफसोच छ भने यदी यो चलचित्र पहिले नै बनाउन पाएको भए । सायद धेरै निर्मलाहरुले ज्यान गुमाउन पर्दैनथ्यो होला । किशोरीहरुले डिफेन्स गर्न सिक्थे होला । अन्तिमसम्म पनि लडाई लड्थे होला । आफ्ना लागि । कायर हैन बहादुर बन्थे होला ।’

त्यसो त निर्माता नरबहादुरले मलिकाको कथाका सन्दर्भमा भनेका छन् – ‘तिम्रो बिगत के हो त्यसले फरक पार्दैन, तिमी भविष्य खोज्न सक्छौ भने । भोलि के बन्ने लक्ष्य राख्छौं त्यसले जीन्दगीलाई फरक पार्छ ।’ उनले आफु भित्रको शक्तिलाई चिन्ने हो भने कोही पनि कमजोर छैन भन्ने सन्देश पनि दिन खोजिएको बताएका छन् ।

त्यसो त हाम्रो संस्कारले, हाम्रो परम्पराले अनि हिन्दु धर्मले नारीलाई शक्ति मानेको छ, नारीलाई देवी मानेको छ, नारीलाई इज्जत मानेको छ, नारीको सम्मान गरेको छ । त्यसैले नारीहरु कमजोर हुँदै होइनन् । बस् उनीहरु परिस्थितिले थिचिएका छन्, कुरितिको जालोमा जेलिएका छन् । यसैले आफु भित्रको शक्तिलाई चिन्न सकिरहेका छैनन् ।

आशा गरौं छोरीका लागि स्वर्णिम नेपाल अभियान अन्र्तगत बनाइएको चलचित्र मालिकाले कमलाको पात्र जस्तै कयौं नारीहरुको सोच बदल्ने छ अनि शशक्त बनाउने छ । हरेक नारी भित्र मालिका जन्माउने छ । सकारात्मक परिवर्तनका लागि ।