Rajesh Hamal   
Movie's Credit : Cast / Special Appearance
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

कमसे कम आफ्नो बोलीको सम्मान आफैले गर्नुस्, हमाल जी

लेन्सनेपाल २०७८ पौष ४
कमसे कम आफ्नो बोलीको सम्मान आफैले गर्नुस्, हमाल जी

कुनै पनि कलाकारको कामका लागि आम जनताको बिश्वास साथ सहयोग र हौसलाले नै हो उ सेलिब्रेटी बन्ने । जब उ सेलिब्रेटी बन्छ उसले गर्ने हरेक काम, गरिने तर्क वा चालिने कदम समाज र जनता प्रति उत्तरदायि हुनै पर्छ । कलाकारिता कलाकारको कर्म अनि धर्म हो । भलै कलाको माध्यम फरक हुन सक्छ । चलचित्र, नाटक, बिज्ञापन लगायत जे भएपनि कलाकारले त्यस्ता उत्पादनमा काम गर्दा वा सहकार्य गर्दा त्यसले समाज प्रति पार्ने प्रभाव वा असरको बारेमा बिश्लेषण गर्न सक्नु पर्छ । कलाकारले यस्ता बिबिध पक्षको बिश्लेषण गरेका होलान् । तर कहिले काँही आफ्नै बोलीको पनि भर नहुने गरि काम गर्छन । हामी कुरा राजेश हमालको गर्न खोरिहेका छौं ।

राजेश हमाललाई महानायकका रुपमा चिनिन्छ । यसअर्थ अन्य कलाकारको तुलनामा महानायकको समाज प्रतिको जिम्मेबारी अझ दरिलो रुपमा देखिनु पर्छ । आम जनताको पक्षमा हमालका अभिव्यक्ति अनि क्रियाकलापहरु केन्द्रित हुनु पर्छ । झण्डै ३ दशकको यात्रामा हमालले आम जनताबाट पाएको त्यो असाधारण प्रेमको मुल्य जनता प्रतिको उत्तरदायित्व बोधबाट मात्र तिर्न सकिन्छ । हामीले यहाँ हमाल सामाजिक उत्तरदायित्व बहन गर्नबाट चुके भन्न खोजेका पनि होइनौं, न त हमाल समाज र राष्ट्रप्रति गैह्र जिम्मेबार बने भन्न खाजेको । कुरा यति मात्र हो हमालले आफ्नै बोलीको सम्मान भने गर्न सकेनन् । हिजो एउटा आग्रह गर्ने हमाल आज कुनै कम्पनीको ब्राण्ड एम्बेस्डर बन्नासाथ त्यसलाई कुरैकुरामा घुमाउन थाले ।

हमाल यसै साता एक मार्टको ब्राण्ड एम्बेस्डर बनेका छन् । व्यवसायिक धर्म निभाउँदै अब उनले खाद्यन्न सँग सम्बन्धित सामानहरु सोही मार्टबाट खरिद गर्न आग्रह गर्नेछन् । तर, के हमालले बोल्ने गरेका कुरा र उनले छनौट गरेको मार्टको ब्राण्ड एम्बस्डर बिच तालमेल मिल्छ त ? यो प्रश्नको जवाफ खोज्न केही समय पछि फकौं ।

२०७८ असोज २३ गते एपिवान टेलिभिजनका लागि प्रकाश सुबेदीसँगको टेलिभिजन अन्र्तवार्तामा हमालले आफुले के खाने भन्दा पनि के नखाने भन्ने कुरामा बढी ध्यान दिन आफ्ना दर्शकहरुलाई आग्रह गरेका छन् । उनले आफुले सादा खाना खाने बताउँदै स्रोत थाहा भएको सादा खानाले नै मान्छेलाई राम्रो हुन्छ समेत भनेका छन् । उनले आफुले सादा शैलीमा सागपात, तरकारी, मासु बनाएर खाने बताए । धेरै चिल्लो र नुन नखाने हमालले विगत २५–३० वर्ष देखि चिनी खाएका छैन् । त्यसो त उनले प्याकेटको चाउचाउ लगायतका जंक फुड नखाएको पनि त्यति नै वर्ष भयो (हेर्नुस् भिडियोको १४ मिनेटबाट) । हुन त हमालले भात खान छोडेको पनि लगभग त्यतिनै वर्ष भएको बताइन्छ । खानै परे ब्राउन राइस त्यो पनि निकै कम खान्छन रे ।

वाह ! राजेश हमाल हेल्थ प्रति कति सजग । आफु सजग भएरै होला उनले आफ्ना दर्शकलाई पनि के खाने भन्दा पनि के नखाने भन्ने कुरामा ध्यान दिन आग्रह गरेको । हमालले मैले यस्तो खान्छु, उस्तो खान्न मात्र भनेनन् दर्शकलाई के नखाने भन्ने कुरामा ध्यान दिनुस् समेत भने । सायद यसलाई भन्छन् राजेश हमालले बोध गरेको सामाजिक उत्तर दायित्व ।

तिनै राजेश हमालले शुक्रबार जुन मार्टको बिज्ञापन गरे त्यो मार्टमा भने उनले नखाने चिजहरु नै बढी पाइन्छ । हमालले चाउचाउ लगायत जंक फुड खादैनन् त्यहाँ त्यही पाइन्छ, राइस खादैनन् त्यहाँ त्यही पाइन्छ, मसलेदार खाना खादैनन् त्यहाँ त्यही पाइन्छ । अर्थात उनले भनेको जस्तो स्रोत थाहा भएको सादा खाना मात्र खाने हो भने त्यहाँ नगए पनि हुन्छ । किनकी त्यहाँ पाइने हरेक सामग्रीको स्रोत थाहा नहुन सक्छ । न त कुन स्रोतबाट ल्याएर प्याकिङ गरिएको हो खुलाइएको हुन्छ । बस् प्याकिङ गर्नेको मात्र लेवल हुन्छ (यसको अर्थ यो होइन कि उक्त मार्टमा गुणस्तरिय सामग्री पाइदैन्) । जुन कुरा हमाललाई थाहा नहुने कुरै भएन । त्यसो भए हमालले किन उक्त मार्टको ब्राण्ड एम्बेस्डर स्वीकार गरे त ? सार्वजनिक व्यक्ति भइसकेपछि बिभिन्न कम्पनीको प्रमोशनमा जोडिनु सामान्य हो । हमाल त्यो कम्पनी वा प्रोडक्टको बिश्वसनियतामा ध्यान दिएर मात्र काम गर्ने बताउँछन् । आफु त्यस कम्पनी वा प्रोडक्टले समाज र राष्ट्रलाई पार्ने प्रभावको बारेमा स्पष्ट भएर, हरेक कोणबाट त्यसको बिश्लेषण गरेर मात्र ब्राण्ड एम्बेस्डरका लागि राजि हुने उनले जनाएका छन् । यसपटक पनि आफुले त्यही गरेको उनको भनाई छ । उनले यसो भनेपनि ब्राण्ड एम्बेस्डर घोषणा कार्यक्रमा पत्रकार मनिष अन्जानले हमालमाथी प्रश्न उठाए । मनिषले हमाललाई सोधे – तपाईले जे जे खान हुन्न भन्नु भएको थियो त्यही त्यही सामग्री यो मार्टमा राखिएका छन् । यस्तो अवस्थामा तपाईले भनेको आम मानिसले मान्लान त (हेर्नुस् भिडियोको २७ मिनेट २५ सेकण्डबाट) ? हिजोको दिनमा के नखाने भन्ने कुरामा ध्यान दिन अग्रह गर्ने हमाल आज आउ त्यही किनेर खाउ भन्दैछन् । यसअर्थ हमाल प्रति यो प्रश्न स्वभाविक थियो । तर, हमालका लागि उनको प्रश्न भने अनपेक्षित जस्तै देखियो । सायद यसैले होला शुरुमा हमालले प्रश्नै नबुझे झै गरे । तर, मनिष रोकिएनन् उनले बस्तुको नाम नै लिएर सोधे – तपाई आफैले आम मानिसलाई यि प्रयोग गर्नुस् भनेर कसरी भन्न सक्नुहुन्छ ? अब भने हमालले जवाफ दिन थाले । तर, यसरी जवाफ दिए कि ठोस् कुरा केही बताएनन् बरु घुमाउन र सवाललाई टार्नमै उद्धत देखिए । हमालले भने – ‘हैन खानपिनको कुरा, मान्छेको आफ्नो व्यवहारमा सञ्चालन गर्ने तौर तरिका हरेक व्यक्तिले आफ्नो आवश्यकता अनुसार रोज्नु पर्छ । कुनै अर्को व्यक्तिको अनुसरण गर्न मिल्दैन । मैले आफुले रोज्ने भनेको  आफ्नो शारिरिक बनाबट, आफ्नो स्थीति, परिस्थिथिति हेरेर मैले रोज्ने हो । अर्को व्यक्तिले त्यही अनुसार आफ्नो रोजाई रोज्नु पर्छ । त्यो खानपिनमा पनि लागु हुन्छ, त्यो विचारमा पनि लागु हुन्छ त्यो माया प्रितिमा पनि लागु हुन्छ । मैले लामो अवधीसम्म विवाह गरिन भनेर त्यो नै अनुकरणिय हैन । त्यो मेरो व्यक्तिगत धारणा हो, व्यक्तिगत सोचाई हो । म मा मात्र सिमित हुन्छ अर्को व्यक्तिले आफ्नै हिसावले सोच्नु पर्छ । त्यसकारण खानपानका हिसावमा त्यसरी जान हुँदैन । मेरो केही शारिरिक बनाबटले गर्दा होला, मेरो आफ्नो स्वादले गर्दा होला । यसकाण आफ्नो आफ्नो आफ्नो स्वाद अनुसार जानु पर्छ ।’

फेरी एकपटक प्रकाश सुबेदीसँगको अन्र्तवार्तामा उनले भनेको कुरा सम्झौं । उनले त्यहाँ स्पष्ट भनेका छन् – ‘मैले के खाने भन्दा पनि के नखाने भन्ने कुरामा ध्यान दिनुस् भन्छु ।’

हमालका यि दुई कुरा सुन्दा कहि कतै तालमेल मिल्यो त । एकतातिर नखान आग्रह गर्ने अर्को तिर आफ्नो स्वाद अनुसार खानुस् भन्ने । कि त हमालले उक्त अन्र्तवार्तामा म खादिन मात्र भनेको भए हुन्थ्यो । के नखाने भन्ने कुरामा ध्यान दिनुस् नभनेर के नखाने भन्ने कुरामा ध्यान दिन्छु भनेको भए हुन्थ्यो । कि ब्राण्ड प्रमोशन गर्नका लागि पैसा पाएपछि कुरा परिवर्तन गर्दा फरक पर्दैन । कुरा जे होस् कमसे कम तपाईका कयौं फ्यानहरु प्रति हर कुरामा जिम्मेबार देखिनुहोस् । कमसे कम आफैले बोलेको कुराको मुल्य राख्नुस् । आम दर्शकको नभएपनि आफ्नो बोलीको सम्मान आफैले गर्नुस् । तपाईका क्रियाकलापले तपाईका कयौं शुभचिन्तकको मनमा ठेस् नपुगोस् ।