Laxmi Giri   
Movie's Credit : Cast
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

लक्ष्मी गिरीको जीवनी : राष्ट्र बैंकको जागिर छोडेर कलाकारितामा

बिष्णु सुबेदी २०७७ भाद्र ७
लक्ष्मी गिरीको जीवनी : राष्ट्र बैंकको जागिर छोडेर कलाकारितामा

नेपाली चलचित्र क्षेत्रको विभिन्न कालखण्डमा यस क्षेत्रको स्तर वृद्धिका निमित्त धेरै कलाकार तथा प्राविधिकहरूले आफ्नो क्षेत्रबाट सकेसम्मको टेवा पु¥याएका छन् । दिग्गज चलचित्रकर्मी तथा प्राविधिकहरूको महत्वपूर्ण योगदानले चलचित्र जगत अझै फल्दै र फुल्दै आएको तथ्यलाई हामी नकार्न सक्दैनौं । चलचित्र कर्ममा लागि आफूलाई स्थापित गराउन सफल र दर्शकहरूको मन जिती हालसम्म पनि निरन्तर क्रियाशील त्यस्तै एक अभिनेत्री हुनुहुन्छ, लक्ष्मी गिरी ।

जन्म/बाल्यकाल


काठमाडौंकै पाशुपत क्षेत्रमा वि.सं २०१० साल माघ ११ गते आइतबारका दिन अभिनेत्री गिरीको जन्म भएको हो । अभिनेत्री गिरीका पिता मुक्तिनाथ पौडेल र माता उजेली अधिकारी हुनुहुन्छ ।गिरी पौडेल परिवारको एकमात्र सन्तान हुनुहुन्छ । मध्यम बर्गिय परिवार जन्मीए पनि बाल्यकालमा उहाँले कुनै पनि कुराको अभाव भने महशुश गर्नु परेन ।

त्यसो त नेपालीमा एउटा भनाइ छ ‘हुने बिरुवाको चिल्लो पात’ हो यो भनाई लक्ष्मी गिरीका लागि पनि मिल्न आउँछ । उहाँ बाल्यावस्थाबाट नै कलाक्षेत्री प्रति लगाव राख्नु हुन्थ्यो । फलतः उहाँले लामो समय बालकलाकारका रुपमा समेत काम गर्नुभयो ।

शिक्षा


अभिनयमा आफै एउटा इन्ष्टिच्यूट भइसकेकी गिरीले एसएलसी सम्मको औपचारिक शिक्षा हासिल गर्नु भएको छ । तत्कालिन समय जतिबेला अक्सर छोरीहरुलाई पढ्नबाट बन्चित गर्ने गरिन्थ्यो । छोरालाई बढाउनै पर्ने अनि छोरीले घरको काम जाने हुन्छ भन्ने तत्कालिन समयमा गिरीको परिवारको सोच भने अलिक फरक नै थियो । घरमा हजुरआमाकै बोली चल्ने र हजुरआमा देवकुमारी पेशाले नर्स भएकोले पनि उहाँले गिरीलाई स्कूल पठाउनु भयो । हजुरआमाले उहाँलाई पढ्नु पर्छ भनेर बाल्यकाल देखि नै प्रोत्साहित गर्नुभयो । अझ आफैले अक्षरहरु चिनाएर मात्र स्कूल पठाउनु भयो ।

२०१८ सालबाट गिरी औपचारिक अध्ययनका लागि सकूल जान थाल्नु भयो । कक्षा ३ सम्म विभिन्न स्कूलमा अध्ययन गरेकी गिरीले कक्षा ४ देखि ८ सम्मपशुपात क्षेत्रको शारदा नि.मा.बीमा पढ्नु भयो । तत् पश्चात चामुण्डा हाइस्कूल जोरपाटीमा भर्ना भएकी गिरीले २०२९ सालमा एसएलसी पास गर्नुभयो ।

कलाक्षेत्रमा प्रवेश


नेवार समुदायको बाहुल्यता रहेको पाशुपत क्षेत्र सांस्कृतिक हिसावले पनि धनी स्थान मानिन्छ । जहाँ समय समयमा विभिन्न जात्रा, नाचगान र पर्वहरू मनाइने गरिन्छ । कृष्ण अष्टमीको दिन त्यस्तै एक पर्व हुन्थ्यो, ‘दगु प्याखँ’ । उक्त पर्वमा विभिन्न साँस्कृतिक नाचहरु प्रस्तुत हुन्थे । वि.सं. २०२१ सालको कुरा हो ‘दगु प्याखँ’मा अग्रज कलाकार फत्तेमान राजभण्डारीको टोलीले नाच देखाउन थाल्यो । गिरीले सोही पर्वमा नाच्ने अवसर पाउनु भयो । पँखा फिजाउने म पुतली, बोलको गीतमा गिरीले पहिलो पटक नृत्य गर्नु भएको हो । सानैदेखि कला क्षेत्रमा सौख भएपनि यहीबाट उहाँको कलायात्रा शुरु भयो ।

यसरी शुरु भएको उहााको कलायात्रा स्थानिय टोल, समाजका साथै विधलयमा पनि निरन्तर रह्यो । उहाँले २०२८÷०२९साल सम्म बाल कलाकारको रुपमा काम गर्नु भएको छ ।

पहिलो कमाई


अभिनेत्री गिरीमा सानै देखि पशुपक्षि र जनावरको आवाज निकाल्ने समेत कला थियो । सोही कलानै उहाँको जीवनमा पहिलो कमाईको बाटो बन्यो । हुन त गिरीले कविताहरु समेत लेख्ने गर्नुहुन्थ्यो । २०२४ सालतिरको कुरा हो उहाँ साथीहरु सँगआफुले लेखेको कविता लिएर रेडियो नेपाल जाने गर्नुहुन्थ्यो । एकदिन रेडियो नेपालमा यादब खरेलका अघि उहाँले कुकुरका साथै बच्चा रोएको आवाज निकाल्नु भयो । उक्त आवाज सुनेर खरेलले के गर्छे यो केटी मान्छे भएर, माथि रेडियोमा गएर बोल्नु भन्नुभयो । खरेलको त्यही आदेशले उहाँले रेडियोमा बोल्न पाउनुभयो । जहाँउहाँले गीत र कविता मात्र सुनाउनु भएन कुकुर, बच्चा रोएको र बिरालो कराएर आवाज समेत सुनाउनु भयो । त्योबापत उहाँले २ रुपैयाँ पचास पैसा पाउनु भयो । त्यो पैसाले साथीहरूलाई चिया, चना किनेर खुवाएको याद छ उहाँसँग ।


जागिरे जीवन


कक्षा १० मा पढ्दै गर्दा गिरी सरकारी सेवामा प्रवेश गर्नुभयो ।२०२८ साल कात्र्तिक १५ गतेका दिनबाट उहाँले राष्ट्रबैकको नोट बिभागमा जागिर गर्न थाल्नु भयो । नगद सहायकका रुपमा राष्ट्रबैंकमा प्रवेश गर्नुभएकी गिरीले त्यहाँ आफ्नो बढुवा नभएपछि २०५० सालमा स्वेच्छिक रुपमा जागिर छोड्नुभयो ।


विवाह


वि.सं २०३० साल असार ३० गते अभिनेत्री गिरीको विवाह प्रध्यापक रत्नकुमार गिरीसँग भएको हो। उहाँको प्रेम विवाह भएको हो । तर प्रेममा रहेर एकअर्काको हात समातेर डेटिङ भने जानु भएन कुनै दिन । बरु उहाँकी अमाजुगुञ्जना गिरीका कारण नै उहाँहरु बिच नजानिदो तवरले प्रेम भयो । गुञ्जनाले यता आएर लक्ष्मी तिमीलाई त रत्नले कस्तो खोजिरहेको थियो नि भनेर भन्नुहुन्थ्यो भने उता आफ्ना भाईलाई चाँही तलाई लक्ष्मीले कत्ति सोधिराकी थिइन् भनिदिनु हुँदो रहेछ । यसरी अमाजुका कारण नै उहाँहरुको माया बढ्यो । त्यो समयमा चिठ्ठी लेख्ने चलन थियो । विस्तारै अभिनेत्री गिरीलाई लभ लेटर आउन थाल्यो, रत्नकुमार गिरीका तर्फबाट । तर कसैले कसैले देख्ला कि, कसैले भेट्ला कि भन्ने डर मात्र हुन्थ्यो उहाँको मनमा । त्यही डरले कुनै पनि दिन पत्र मार्फत उत्तर भने दिन सक्नु भएन । बरु त्यसरी आएका लभ लेटरलाई बाधरुममा गएर पढ्ने र त्यहीँ नष्ट गरिदिने गर्नुहुन्थ्यो । पछि अमाजु रत्नकै सक्रियतामा दुवै परिवारको सहमतिमा उहाँहरुको विवाह भयो ।

रंगमञ्च/नाटकको यात्रा


आफूभित्रको अभिनय कलालाई प्रस्फुटन गर्ने सुवर्ण मौकाको खोजीमा रहेकी अभिनेत्री लक्ष्मी गिरीले अन्ततः रंगमञ्चमार्फत आफ्नो त्यो तृष्णालाई मेटाउने अवसर पाउनु भयो । २०३८ बैशाख १४ गते नेपाल राष्ट्र बैंकको रजत जयन्तीको अवसरमा उहाँले गायक रुवि जोशी, कलाकार हरिहर शर्मा, शकुन्तला शर्मा, विजयबहादुर मल्लको टिम सँग नाटककमा काम गर्नुभयो । शुरुमा जोशीले उहाँलाई अफर गर्नु भएको थियो । उहाँले नाटकमा अभिनय गर्न स्वीकृती जनाए पनि श्रीमानको अनुमति विना उहाँहरुले काम गराउनु भएन । उहाँहरूले गिरीका श्रीमानलाई भेट्नुभयो र उहाँले मेरो श्रीमतीको पहिलेदेखिको चाहना नै यही हो, हुन्छ अभिनय गराउनुहोस् भनेपछि गिरीले सपना नसम्झ नामक नाटककमा खेल्न पाउनु भयो ।

उक्त नाटकमा गिरी उत्कृष्ट अभिनय कला प्रदर्शन गर्न सफल हुनुभयो । १५ दिनको रिहर्लसल पछि मञ्चन गरिएको नाटकमा उत्कृष्ट अभिनय गरे वापत उहाँ राष्ट्र बैंकबाट पुरस्कृत समेत हुनुभयो । बैंकमा उहाँको २ ग्रेड थप भयो । रंगमञ्चमा उहाँलाई पहिलो नाटकले नै सफलता दिलायो ।

नाट्य क्षेत्रमा रमाइरहनु भएकी गिरी रंगमञ्चमा मात्र सिमित रहनु भएन । उहाँको जीवनले त्यतिबेला अर्को फड्को मा¥यो जतिबेला नेपाल टेलिभिजनका लागि उज्वल घिमिरेको निर्देशनमा अप्रिल फष्ट नामक टेलिश्रृंखला निर्माण हुने घोषणा भयो । नेपाली भाषा मात्रै हैन नेवारी, मैथली, भोजपुरी, तामाङलगायतका भाषाहरूमा पनि पोख्त अभिनेत्री गिरीले चर्चित हाँस्यजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग थुप्रै टेलिश्रृंखलामा समेत अभिनय गर्नु भएको छ । खासगरि बिज्ञाापन शिर्षकको नाटकबाट उहाँ चर्चामा आउनु भयो । उक्त नाटक नेपाल सहित विभिन्न राष्ट्रमा गरि ३८९ पटकमञ्चन गरिएको थियो । कलायात्रको दौरान उहाँले ५५० टेलिसिरियल(खुद्रा) र ७ वटामेघा टेलिसिरियलमा काम गर्नु भएको छ ।


चलचित्र यात्रा


रंगमञ्च र टेलिभिजनमा सक्रिय रहीरहेका बेला २०४५ सालमा गिरीलाई एकाएक चलचित्रको अफर आयो । उहाँले भिडियो चलचित्र सपनामा काम गर्नुभयो । जुन चलचित्रको बारेमा त उहाँलाई याद छैन । तर त्यही चलचित्रले फिचर फिल्मको बाटो तय ग¥यो । सपनाका छायाँकार हुनुहुन्थ्यो स्वर्गिय दिपक ढकाल । उहाँले गिरीको कामलाई नियाल्नु भएको थियो, सपनामा । यता चलचित्र भुमरी निर्माणको तयारीमा रहनु भएका लेखक/निर्देशक चेतन कार्कीले चरित्र अभिनेत्रीको खोजी गरिरहनु भएको थियो । अभिनेत्रीको खोजी चलिरहेका बेला छायाँकार ढकालले नै गिरी र कार्कीको भेट गराउनु भएको थियो । २०४५ साल चैत्रको दोस्रो साता कार्कीको चलचित्र भुमरीका लागि अभिनेत्री गिरी अनुधन्धित हुनुभयो ।

Know more about Laxmi Giri's Filmography

कहिले काँहीको संयोग पनि गज्जवको हुन्छ । गिरीका लागि पनि चलचित्र यात्राको शुरुवातमै यस्तै गज्जबको संयोग जु¥यो । २०४६ साल बैशाख २३ गते चलचित्र भुमरीको छायाँकन पोखराबाट आरम्भ भयो । पहिलो चलचित्रको छायाँकन शुरु गरे लगत्तै गिरीलाई दोस्रो चलचित्रको पनि अफर आयो । कार्कीकै सिफारिसमा चलचित्र फेरी भेटौलाका लागि निर्देशक राजु विक्रम शाहले पोखरामै गिरीलाई अनुबन्धित गर्नुभयो । यति मात्र कहाँ हो र भुमरीको छायाँकन आरम्भ भएको तीन दिन पछि बैशाख २६ मा फेरी भेटौलाको छायाँकन शुरु भयो । उक्त चलचित्रको छायाँकन पनि पोखरामा नै गरिएको थियो । त्यसपछि गिरीले फर्केर हेर्नु परेन । कला यात्राको दौरान फेरी भेटौला, भूमरी, कन्यादान, लोभीपापी, प्रेमपिण्ड, ठूल्दाई, घर संसार, तँ त साह्रै विग्रिस नी बद्री, दर्पण छायाँ, मुग्लान, उपकार, दुनियाँ, बलिदान, सिमारेखा, सुनगाभा, झोला, प्रेमगीत, जालो, रेशम फिलिली, भुलभुलैया, पुर्नजन्म, छक्का पञ्जा २, कृ लगायत नेपाल भाषा, थारु र भोजपुरी समेत गरि १७० भन्दा बढी चलचित्रमा काम गरिसक्नु भएकी अभिनेत्री गिरी निरन्तर यस क्षेत्रमा सक्रिय हुनुहुन्छ । हालसालै उहाँले अभिनय गर्नु भएको चलचित्र छक्का पञ्जा ३ र क्याप्टेन प्रतिक्षित चलचित्र हुन ।

Do Watch Laxmi Giri's Featured Movie

अवार्ड/सम्मान


अविछिन्न रुपमा कला यात्रमा सक्रिय रहेकी गिरीले चलचित्र क्षेत्रमा निरन्तर कर्म गर्दा दर्शकबाट पाएको माया नै उहाँले आफ्नो अमुल्य सम्पत्ति मान्नुहुन्छ । तथापी उहाँको अभिनय कौशलताको प्रसंसा गर्दै राज्यका साथै विभिन्न संघ सस्थाले थुप्रै अवार्ड र सम्मान मार्फत पुरस्कृत र सम्मान समेत गरेका छन् ।

गिरीले पाएका मुख्य मानपदवी, पुरस्कार तथा सम्मानहरु यसप्रकार छन् ः

१,    प्रवल गोरखा दक्षिणबाहु चौथो (२०६२)
२,    गद्दि आरोहण रजत पदक (२०५५)
३,    ‘बसुन्धरा’ सर्बोत्कृष्ट सहअभिनेत्री, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१ (चलचित्र झोला)
४,    महिला सशक्तिकरण सम्मान २०७२ (नेपाल सरकार सूचना तथा प्रविधी मन्त्रालय, चलचित्र विकास बोर्डका तर्फबाट)
५,    अभियान श्री पुरस्कार २०७१
६,    सेलिब्रेटी वुमनहुड – नवनारी अन्तर्गत महामाया सम्मान (नगद सहित) २०७२
७,    अभिनय तारा सम्मान २०६५ ( नेपाल चलचित्र कलाकार संघका तर्फबाट)
८,    नेपाल चलचित्र कलाकार संघ सम्मान २०५९
९,    नागरिक सम्मान पदक (चलचित्र बलिदान प्रदर्शनको १३५ औं दिन पुगेको अवसरमा निर्माण संस्थाका तर्फबाट)
१०,    सर्वोत्कृष्ट चरित्र अभिनेत्री, फान अवार्ड २०७३ (चलचित्र प्रेमगीत)
११,    शान्तिका लागि नागरिक समाज सम्मान पदक २०५९
१२,    नेपाल राष्ट्रबैंक २०३८ रजत महोत्सव नाटक प्रतियोगितामा प्रथम भई नगद पुरस्कार प्राप्त

उहाँ कला यात्रामा पु¥याउनु भएको योगदानका लागि यि बाहेक अन्य थुप्रै सम्मानबाट सम्मानित भइसक्नु भएको छ ।

संलग्नता


कलायात्राकै दौरान उहाँले यस क्षेत्रमा विभिन्न संघसंस्था तथा समितिमा रही नेतृत्वदायी भूमिका समेत खेल्नु भएको छ । खासगरि कलाकारहरुको छाता संस्था नेपाल चलचित्र कलाकार संघमा उहाँको नेतृत्वदायी भुमिका निरन्तर छ । २०५३ साल देखि २०६० सम्म कार्यसमिति सदस्य रही काम गर्नु भएकी गिरी २०६० साल देखि उपाध्यक्ष, द्धितिय उपाध्यक्ष र २०६९ देखि २०७२ सम्म बरिष्ठ उपाध्यक्ष रही काम गरि सक्नु भएको छ उहाँ हाल पनि कलाकार संघको उपाध्यक्ष हुनुहुन्छ ।

यस्तै चलचित्र विकास बोर्डको महिला शशक्तिकरण समितिको संयोजकका रुपमा समेत उहाँले २०६९ सालमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको छ भने अन्य विभिन्न सामाजिक संघसंस्थामा समेत उहाँ संलग्न रहदै आउनु भएको छ ।


संघर्ष


हुन त कलायात्राको क्रममा गिरीको जीवन भोगाई पनि उतार चढाब पुर्ण रह्यो । एकातिर जागिरे जीवन अर्कोतिर घरगृहस्थी, कला यात्रा त्यती सहज थिएन । त्यसमाथी सन्तानको हेरचाह गर्नुपर्ने, हुर्काउनु अनि पढाउनु पर्ने । भनिन्छ नी जहाँ इच्छा त्यहाँ उपाय । गिरीको मनले पनि कलायात्रालाई निरन्तरता दिने अठोट गरेको थियो, सायद यसैले होला सबै कुराहरुलाई मिलाउँदै उहाँ निरन्तर अघि बढ्नु भयो । आज उहाँ आफ्ना ति दिनलाई खासै सम्झन चाहनुहुन्न । बस् यत्ति भन्नु हुन्छ ‘संघर्ष त मनले लिने कुरा मात्र हो, बाँकी सबै सोचाई र भोगाई हो ।’

त्यसो त सोचाई र भोगाईलाई नै संघर्ष वा सफलता मान्ने गीरीले यसलाई पृथ्वीसँग तुलना गर्नुहुन्छ । जसरी पृथ्वीलाई जहाँबाट जसरी हेरे पनि गोलो देखिन्छ त्यसैगरी आफ्नो जीवनका उतार चढावलाई संघर्ष वा सफलता जसरी बुझेपनि भोगाईको प्रतिफल नै मान्नुहुन्छ । बस् संघर्ष वा सफलता त जसरी सोच्यो उस्तै लाग्छ । यो त अविरल बग्ने नदी जस्तै चलिरहन्छ ।


जीवन प्रतिको बुझाई


मान्छे पिच्छे जीवन प्रतिको बुझाई फरक फरक पाइन्छ । मानिसले जस्तो भोग्यो, जस्तो देख्यो, जस्तो अनुभव ग¥यो त्यही कुराका आधारमा जीवनप्रतिको धारणा बनाउँछ । गिरीको जीवन प्रतिको बुझाई पनि अरु भन्दा अलिक फरक छ । कलाकार यस्तो भाग्यमानी हुन्छ की उसले एउटै जुनीमा पनि कयौं जीवनहरु जीउने अवसर पाउछ । गिरीले पनि कलायात्रको दौरान यस्ता थुप्रै जीवनहरु जीउनु भएको छ । तर, यर्थाथमा चाँही गिरीलाई जीवन यस्तो लाग्छ ।

जीवन एक नशा हो, पिउन जान्यो भने
जीवन उत्सर्गको आशा हो, बाँच्न जान्यो भने
जीवन भोगाई अतित अनि भविष्यत प्राप्ती हो
जीवन विछोडको बेदना अनि मिलनको तृप्ती हो
जान्नुपर्छ यहाँ चढ्न शिखर जीवन सगरमाथा हो
समेट्न जान्नु पर्छ अथाहा भावना जीवन उत्कृष्ट गाथा हो
जीवन बग्दो बादल अनि निल छाल सागर हो
जीवन चट्टानी पहाड अनि दृढ संकल्प सागर हो
जीवन सुभाषित पुष्प माधुर्य हो
जीवन सौन्दर्य सागर, मुस्कान उल्लासमय हो
जीवन शान्तिको सुरुवात र निर्वाणको बिन्दु हो
जीवन अस्तित्वको सुत्रधार र निर्माणको श्रृखला हो
रहरहरु समेटिएका छन् अविराम जीवनभरी
कर्महरुको श्रृखला पर्खिरहेछन् अविछिन्न पथभरी
जीवन इश्वरको उत्कृष्ट रचना, श्राृखलाहरुको विवेचना
नियमित आकस्मिकता भित्रको अन्तत्वगता अवदृयम्भावी रचना


भारत, बंगलादेश, हङकङ, अमेरिका, बेलायत लगायतका आधा दर्शन बढी देशमा पुगि नेपाली कलासस्कृति प्रस्तुत गरिसक्नु भएकी गिरी नेपाली कलासंस्कृति विश्वकै उत्कृष्ट रहेको बताउँनु हुन्छ । निरन्तर रुपमा चलचित्रकर्ममा सक्रिय गिरी पछिल्लो केही वर्ष यता चलचित्र क्षेत्रमा समेत निकै परिवर्तन आएको आफुले महशुस गरेको बताउनु हुन्छ । समयसँगै नेपाली चलचित्रमा पनि सकारात्मक परिवर्तनहरु आएको उहाँको बुझाई छ । तर चलचित्र क्षेत्रमा आफु कहाँ छु, आफ्नो योगदान के छ भन्ने कुरा चाँही अन्य चलचित्रकर्मी, यस क्षेत्रका संघसंस्था र मिडियाले नै मुल्याङ्कन गरिदियोस भन्ने उहाँको चाहना छ । आफ्नो कर्मको सही मुल्याङ्कनले भएमा त्यसले हौसला मिल्ने उहाँको भनाई छ तथापी कहिले काँही कामको भन्दा नाताबाद र कृपाबादका कारण गलत तरिकाले हुने मुल्याङकनले कलाकारमा निराशा पैदा हुन सक्ने तर्फ सचेत रहन उहाँ सबैलाई आग्रह गर्नुहुन्छ ।