Bijayaratna Tuladhar   
Movie's Credit : Director / Chief Ass. Director

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

चलचित्रको पर्दामा तिहार

चलचित्रमा भाइटिका र तिहार गीतको नालिबेली

बिष्णु सुबेदी र विजयरत्न तुलाधर २०७५ कार्तिक २१
चलचित्रको पर्दामा तिहार
भाईटिका पछि भाईलाई खुट्टा ढोगाउँदै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह(बाँया) र दिदि कथाकार काजोल केसीको खुट्टा ढोग्दै नायक अनमोल केसी (दाँया)

नेपाली चलचित्रमा तिहारको प्रसंग त्यति धेरै त छैन तर, जति चलचित्रमा छ ति मध्ये धेरैमा शशक्त छ । चलचित्र “चिनो”मा समावेश “दियो बालि साँझको”, “स्वर्ग”मा समावेश “तिहारै आयो लौ झिलिमिली” अनि “विजय पराजय”मा समावेश “निधारैमा लर्काएर सत्परङ्गी टिका” बोलको गीत कालजयी गीत हुन । हरेक वर्ष तिहारमा सबैभन्दा धेरै बज्ने गीतहरु पनि यिनै हुन । त्यसो त गीत बाहेक भाइीटकाको प्रसंगमा कुरा गर्दा दाजुभाई–दिदीबहिनीको सम्बन्धलाई महत्वका साथ परिभाषित गर्न समेत नेपाली चलचित्र सफल भएको देखिन्छ ।

नेपाली चलचित्रको कुरा गर्दा “यो मायाको सागर”मा समावेश गरिएको भाइटिका सम्वन्धि दृष्य अहिले सम्मकै सबैभन्दा शक्तिशालि दृष्य हुनुपर्छ । जहाँ भाइटिकाको दिन माइतिको ज्यान बचाउन चेलीले आफ्नै ज्यान दिएको प्रसंग समावेश छ । अशोक शर्माको निर्देशनमा बनेको यो चलचित्रमा राजेश हमाल इमान्दार प्रहरीको भूमिकामा छन् भने सुरविर पण्डितलाई आतंकबादीको भूमिकामा प्रस्तुत गरिएको छ । करिश्मा मान्धरको भूमिका सुरविर पण्डितकी दिदी र राजेश हमालको श्रीमतिका रुपमा छ । भाइटिकाको दिन करिश्माको हातबाट टिका ग्रहण गर्दै गर्दा राजेश नेतृत्वको प्रहरी टिमले घर घेरी सुरविरलाई आत्मसमर्पण गर्न चेतावनी दिन्छ । यही नेर करिश्माले भाईको जीवन रक्षाको बचन दिन्छिन् । प्रहरीकै सामु भाईलाई भगाउन खोज्दा राजेशले नै गोली चलाउँछन् जुन गोली छेक्न करिश्मा अघि सर्छिन । गोली करिश्मालाई लाग्छ । सन् २०१० मा प्रदर्शन भएको चलचित्र हो यो मायाको सागर । त्यो समय नेपालमा माओबादी द्वन्द्वकाल थियो । अशोक शर्मा कथाको माग अनुसार यो दृष्य बुनिएको सम्झिन्छन ।

चलचित्रको पर्दामा तिहारका गीतहरु केही शशक्त देखिए पनि एकाध चलचित्र बाहेक दृष्यका हिसावले त्यत्ति शशक्त प्रस्तुति पाइदैन । यद्यपी चलचित्रको पर्दामा विशेष गरी लक्ष्मीपुजा गरीरहेको दृश्य, देउसी वा भैलीका दृश्य र भाईटिका गरीरहेको दृश्य देखिरहने दृश्यहरु हुन् । तर, कुनै कुनै चलचित्रमा तिहार कै बेला संकट आईपरेको प्रसंग पनि उल्लेख छ ।

चलचित्रको पर्दामा तिहारको कुरा गर्दा “चिनो”मा तिहारको गीत समावेश गरिएको छ । निर्देशक तुलसि घिमिरेको सर्वाधिक सफल चलचित्र चिनोमा समावेश “दियो बालि साँझ”को बोलको गीत जीवन्त गीतको सूचिमा छ । यो गीत सदाबहार तिहार गीत हो । गीतसँगै तिहार मनाइरहेकै बेला चलचित्रका खलपात्र राते काँइला (सुनिल थापा) ले नायकको परिवार माथि हमला गर्ने दृश्य राखिएको छ । यही हमलामा नायकका बुबाको हत्या हुन्छ भने हमलाबाट ज्यान जोगाउन भाग्ने क्रममा नायकको परिवारका सदस्यहरु एक अर्काबाट छुट्टिएर अलगिन पुग्छ ।

निर्देशक शम्भु प्रधानको “सम्झना” चलचित्रमा रोगले थला परेकी नायिकाको घरमा भैलिनी आउने दृश्य राखिएको छ । जुन दृश्य अत्यन्तै मार्मिक दृश्यको रुपमा अहिलेसम्म पनि दर्शकको मानसपटलमा बसिरहेकै छ । प्रधान कै अर्को चलचित्र “स्वर्ग” मा नायिका गौरी मल्लले तिहारको बेला “तिहारै आयो लौ झिलिमिली” गीतमा गरेको नृत्य पनि नेपाली चलचित्रको पर्दामा देखिएको तिहारको एउटा स्मरणीय दृश्यको रुपमा लिन सकिन्छ । यो गीत पनि चलचित्र चिनोको जस्तै सदाबहार गीत हो । हरेक वर्ष तिहारमा सबैभन्दा बढी यही गीत घन्किने गर्छ ।

चलचित्रको पर्दामा यो सम्बन्धलाई ठूलै आकर्षणको रुपमा प्रस्तुत गर्ने चलन छ । कतिपय चलचित्रहरुको शिर्षकबाटै यो सम्बन्धको महत्व झल्काइएको छ भने कुनै कुनै चलचित्रको पर्दामा भाईटिका गरीरहेकै दृश्य पनि राखिएको हुन्छ । विश्व वस्नेतको चलचित्र “अन्याय”मा पनि लक्ष्मीपुजाको दिन घरमा दियो बालेर नायिका मीरा माधुरी नाचेको दृश्य राखिएको छ । त्यही बेला चोरहरुले देउताको मूर्ति चोर्ने दृश्य समावेश छ । 

चलचित्र “विजय पराजय”मा बहिनी बनेकी रुपा रानाका दुई दाजुहरु भुवन के.सी. र कृष्ण मल्ल मध्ये एक अपराधी र अर्को प्रहरी अधिकृत बन्ने प्रसङ्गलाई समावेश गरिएको छ भने भाईटिकाको दिन दुबै दाजुहरु बहिनीको हातबाट टिका थाप्न आउने प्रसङ्गलाई बडो रोचकताका साथ प्रस्तुत गरिएको छ । यही भाईटीकाको दृश्यमा प्रयोग गरिएको “निधारैमा लर्काएर सत्परङ्गी टिका” बोलको गीतले भाईटिकाको विधी र महत्वबारे वर्णन गरेको छ । यो गीत पनि हरेक वर्ष तिहारमा बज्ने सदाबहार गीत हो ।

यता चलचित्र “माइति”मा रिसाएकी बैनीलाई फकाउन दुई दाइहरुले “हासेर बोल न बैनी” भन्दै गाएको गीत समावेश गरिएको छ । गीतका शव्दहरु अत्यन्त मार्मिक छन् । यो गीतले दाजुभाई–दिदीबहिनीको माया, प्रेमलाई दर्शाएको छ । चलचित्र “देश देखि बिदेश”मा नायिकाले आफुलाई जिस्क्याउने केटा लाई नै भाइटिका लगाइ दिएको दृष्य छ । यसका साथै विदेशमै तिहार मनाउनु परेको प्रसंग सहितको “परदेशमै बित्ने भो दशैं तिहार” बोलको गीत समावेश गरिएको छ ।

तिहार खेलिने भैली गीत नभए पनि नारायण पुरीको चलचित्र “मेरो हजुर”मा पनि तिहारको रौनक दिने एक गीत समावेश छ । जुन गीतमा घरबेटीहरु नाङ्लो भरी दक्षिणा र भेटी लिएर आगनमा आएको दृष्य समावेश छ । चलचित्र “पर्खिराख है”मा तिहारमा बहिनी दाइलाई टिका लगाउन माइति आएकै समयमा मिथिला शर्माले नृत्य गरेको भैली गीत समावेश छ ।

चलचित्र “कोहिनुरमा पनि तिहारको गीत समावेश गरिएको छ । कोहिनुरमा समावेश तिहार गीत पनि चर्चित नै बन्यो । जुन गीतमा स्वर्गिय श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्काले नृत्य गरेका छन् ।

यता अर्को चलचित्र “बन्दी”मा पनि तिहारको गीत समावेश छ । चलचित्र “काली”मा नायक किशोर खतिवडाकी दिदि बनेकी सिरु बिष्टलाई भाइटिकाकै दिन खलनायकले बलात्कार गर्ने दृृश्य छ । चलचित्र “फिटकिरी”मा पनि देउसिरे बोलको एक गीत समावेश गरिएको छ ।

चलचित्र “पाले दाईमा” पनि झेलुला म बर्खे झरी बोलको गीत समावेश गरिएको छ । यो चलचित्रमा भाइटिकाको दृष्य पनि समावेश छ । यस्तै चलचित्र “राहदानी”मा देउसी गीत “साउनको ठूलो भेल पानी पर्यो झम्म झम्म” समावेश गरिएको छ । गाउँको परिवेशमा प्रस्तुत गरिएको यो गीतमा गाउँका युवाहरुको एउटा जमातले मारुनी नाच्दै देउसी खेलेको देखाईएको छ ।

यस्तै चलचित्र “पर्व”मा पनि तिहारको प्रसंग समावेश गरिएको छ । तिहारकै प्रसंगबाट चलचित्र शुरु हुन्छ । यता चलचित्र “परदेशी”मा पनि तिहारको प्रसंग समावेश गरिएको छ । परदेशमा जेलमा परेको भाईको सम्पूर्ण बाधाहरु हटोस् भन्ने कामना सहित दिदीले ओखर फोरेको प्रसंग निकै मार्मिक छ । यो चलचित्रमा देउसी गीतपनि समावेश गरिएको छ ।

केही चलचित्रमा तिहारको गीत समावेश भए पनि केही चलचित्रमा भाइटिकाको प्रसंग मात्र समावेश गरिएको छ । दिदीभाई, भाईटिका, दिदी, प्यारी बहिनी, निखिल दाई केही त्यस्ता चलचित्रहरु हुन् जुन चलचित्रको शिर्षकबाटै दाजु बहिनी वा दिदीभाइ बीचको सम्बन्ध झल्काउने खालका चलचित्र हुन भन्ने बुझ्न सकिन्छ । यस्तै गरी कृष्टी मैनालीले दोहोरो भुमिका निर्वाह गरेको “लक्ष्मीपुजा” पनि तिहारको एउटा महत्वपूर्ण दिन लक्ष्मीपुजाको नाममा राखिएको शिर्षक हो । यो चलचित्रमा लक्ष्मीपुजाको दिन जन्मिएका दुई दिदीबहिनीको रुपमा कृष्टि मैनालीले दोहोरो भुमिका गरेकी छिन् । विगतमा प्रदर्शित भई सकेका चलचित्रहरुमाथि दृष्टि दिने हो भने यो सम्बन्धलाई बडो संवेदनशील रुपमा प्रयोग गरी दर्शकको (विशेष गरी नारी वर्गको) भावनामाथि अधिपत्य जमाउन खोजेका उदाहरणहरु भेटिन्छन् ।

एक्शन स्टार निखिल उप्रेतीले रेखा थापाको सौतेनी दाजुको भुमिका निर्वाह गरेको “निखिलदाई” मा दाजुको अपहेलना गर्ने बहिनीमाथि संकट आईपर्दा सौतेनी दाजुले नै उद्धार गर्ने कथा बुनेको छ । यसमा दाजुको बहिनी प्रतिको साँचो माया उजागर गर्ने प्रयत्न गरिएको छ । यसरी दाजु र बहिनी बीचको सम्बन्ध दर्शाउने अन्य चलचित्रहरुमा “प्यारी बहिनी” र “चट्टान” पनि पर्न आउँछ । “प्यारी बहिनी”मा सुमिना श्रेष्ठले उत्तम प्रधानको बहिनीको भुमिका निर्वाह गरेकी छिन् भने “चट्टान” मा सञ्चिता लुईंटेलले राजेश हमालको बहिनीका रुपमा अभिनय गरेकी छिन् । चलचित्र “धर्म” मा अपराधको दुनियाँमा फँसेका भाई सरोज खनालको पछि लाग्ने प्रहरी निरीक्षक दिदीको रुपमा कृष्टि मैनालीले अभिनय गरेकीछिन् । एउटा अपराधी र अर्को प्रहरी बीचको द्वन्द्वलाई दिदीभाई बीचको संवेदनशील नातामा गाँसेर यो चलचित्रको कथा बुनिएको छ ।

“भाईटिका” शिर्षकको पनि चलचित्र बनेको छ । चलचित्रमा दिदी बनेकी झरना बज्राचार्यलाई घमण्डि नारीको रुपमा प्रस्तुत गरीएको छ । यो चलचित्रमा भाई बनेका प्रफुल्ल राजभण्डारीको कारण दिदीको हृदय परिवर्तन हुने देखाइएको छ । “दिदी” शिर्षकको चलचित्रमा मिथिला शर्माले आफ्ना भाई बहिनीहरुको पालन पोषणमा जिन्दगी नै समर्पण गरेकी ममतामयी त्यागी दिदीको भुमिका निर्वाह गरेकी छिन् । यस चलचित्रमा मिथिला शर्माले गरेको भावुक अभिनय हेरेर नरसाएका आँखाहरु कमै थिए होलान ।

यसरी दाजुबहिनी वा दिदीभाई बीचको सम्बन्धले नेपाली चलचित्रमा ठूलै महत्व राख्दै आएको पाइन्छ । यस्ता अन्य चलचित्रहरुमा शिव श्रेष्ठ र गौरी मल्लले बहिनी र दाजुको भुमिका गरेको “मामाघर” अनि अर्जुन श्रेष्ठले गौरी मल्लको भाईको भुमिका निर्वाह गरेका “स्वर्ग” पनि उल्लेखनीय चलचित्र हुन् ।

रगत कै नातामा केन्द्रित यी चलचित्रहरु बाहेक कतिपय चलचित्रहरुमा भावनात्मक साइनो गाँसेर दिदीभाइ वा दाजु बहिनी बनेका प्रसङ्गहरु उल्लेख गरेका दृश्यहरु हेर्न पाइन्छ । यस्ता दृश्यहरु धेरै चलचित्रमा छन् भने त्यस्ता प्रसङ्गहरु मध्ये “पछ्यौरी” चलचित्रमा अभिनेता सुनिल थापाले नायिका कृष्टि मैनालीलाई बहिनी मानेको कुरा थाहा नपाउँदा सुनिल थापाको दाम्पत्य जीवनमा कलह हुने दृश्यलाई यस तर्फको महत्वपूर्ण उदाहरणको रुपमा लिनु पर्दछ । यो चलचित्रमा आफ्नी श्रीमतिको शंङ्का निवारण गर्न सुनिल थापाले आफ्नो श्रीमती कै अगाडि कृष्टि मैनालीबाट भाईटिका थापेको दृश्य पनि राखिएको छ । त्यस्तै “पिंजडा” चलचित्रमा निरुता सिंहले नायक सुरेश मरहठ्ठालाई भाईटिका गरेको फोटो अर्का नायक निखिल उप्रेतीले देखेपछि शंकाबाट हटेको दृश्य राखेको छ ।

यसरी नेपाली चलचित्रको पर्दामा तिहारका विविध पक्ष दर्शाउने प्रसङ्ग र दृश्यहरुले राम्रै प्रभाव छोड्न सफल भएका उदाहरणहरु धेरै नै छन् ।