Soltini

Feature Film DramaOct 23, 2025Hall Release

News

चलचित्र 'सोल्टिनी'को टिजर सार्वजनिक

लेन्सनेपाल २०८२ असोज २
चलचित्र 'सोल्टिनी'को टिजर सार्वजनिक

चलचित्र 'सोल्टिनी'को टिजर सार्वजनिक गरिएको छ । कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने चलचित्रको टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुबीचको प्रेम, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई झल्काइएको छ ।

यसअघि चलचित्रका चार फरक–फरक पोस्टर सार्वजनिक गरिएको थियो, जसले कथावस्तु प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित रहेको सन्देश दिएको थियो । सार्वजनिक टिजरले पनि त्यही पक्षलाई थप प्रस्ट्याउँदै ग्रामीण जीवनशैली, प्रेमकथा र सामाजिक सङ्घर्षलाई दृश्यात्मक ढङ्गले उतारेको छ ।

चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । प्रकाश र परीक्षासँगै चलचित्रमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा कार्यकारी निर्माताको रूपमा 'हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम'को संलग्नता हो, जसको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गरिरहेका छन् ।

इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरमा छायाङ्कन गरिएको ‘सोल्टिनी’मा समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउने सन्देश समेटिएको निर्देशक सुवेदीले दाबी गरेका छन् । दुई प्रमुख पात्रबीचको प्रेमकथा यसकै मुख्य आकर्षण रहेको बताइएको छ ।

गीतमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ भने छायाङ्कन सुशन प्रजापतिले गरेका हुन् । कथा पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईको रहेको छ ।

चलचित्रलाई रेजिना बिस्ट र संसार चौलागाईँले निर्माण गरेका हुन् भने सह–निर्मातामा रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्। चलचित्र नेपालभर टि फल्क्स फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।