Samhalinchha Kahile Man

Feature Film Love StorySep 02, 2022Hall Release

News

कलाकारलाई भन्दा मेकरलाई प्राथमिकतामा राख्नु पर्ने सुदर्शनको भनाई

लेन्सनेपाल २०७९ भाद्र १३
कलाकारलाई भन्दा मेकरलाई प्राथमिकतामा राख्नु पर्ने सुदर्शनको भनाई

चलचित्र निर्देशकको अभिब्यक्तिको माध्यम हो । पर्दामा देखाईने हरेक विषयवस्तुको प्रस्तुति निर्देशकको सोच अनुसार फरक फरक हुने गर्छ । सायद यसैले होला अचेल कलाकार सँगै निर्देशकको नामले पनि चलचित्र थोरै–धेरै चल्न थालेका छन् ।

निर्देशक सुदर्शन थापा यतिबेला चलचित्रमा कलाकारको भन्दा मेकरको भूमिका महत्वपूर्ण हुने कुराको वकालत गरिरहेका छन् । आफ्नो चलचित्र ‘सम्हालिन्छ कहिले मन’को प्रचारमा व्यस्त सुदर्शनले आइतबार राजधानीमा सिमित सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यही कुरामा जोड दिएका छन् । मेकरलाई भन्दा कलाकारलाई बढी प्राथमिकता दिदा नेपाली चलचित्र चुक्दै गएको उनको ठम्याई छ । कलाकारलाई प्राथमितामा राखेर चलचित्रको पुरै भारि बोइने गरेको भन्दै उनले त्यसको सम्पूर्ण जिम्मा निर्देशशको काँधमा हुन्छ भन्ने भुल्न नहुने बताए ।

आफुले निर्देशन गरेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ बिदेशी ए ग्रेडकै चलचित्रको हाराहारिमा मेकिङ गरेको उनको भनाई छ । नेपाल वा नेपाल बाहिर जहाँ छायाँकन गरे पनि नेपाली चलचित्रमा नेपाली कै भावना हुने उनाको भनाई छ । लण्डनमा छायाँकन भएको यो चलचित्रले नेपाली भावनाकै प्रतिनिधित्व गर्नेछ । आफ्नो नजरमा चल्ने जति सबै राम्रा र नचल्ने जति सबै नराम्रा चलचित्र भएको भन्दै उनले ‘सम्हालिन्छ कहिले मन’ राम्रो हुने बिश्वास लिए ।

प्रेम कथाको चलचित्रमा आकाश श्रेष्ठ, पूजा शर्मा र गायक सोनम तोप्देनको समेत अभिनय छ । चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित हरेको छ । आफुले माया गर्ने र आफुलाई माया गर्ने व्यक्ति बिचको प्रेमकथा चलचित्रमा देखाइएको छ । अभिनेत्री पूजा शर्माले आफ्नो वास्तविक जीवनसँग ‘सम्हालिन्छ कहिले मन’ को कथावस्तु निकट रहेको बताइन् । यस्तै अभिनेता आकाशले पनि चलचित्रमा आफ्नो यस अगाडिको भन्दा भिन्न भूमिका रहेको बताए । यसै चलचित्रमा अभिनयमा डेब्यु गरेका हुन् गायक​ सोनमले । उनले चलचित्रको कथा अनि आफ्नो भूमिका मन परेकोले अभिनय गरेको बताए ।

लण्डन, दुबई र नेपालको उपल्लो मुस्ताङमा छायांकन भएको चलचित्रको नाम गायक सुगम पोखरेलले करिब १२ वर्षअघि गाएको हिट गीतबाट राखिएको हो । भाद्र १७ गतेबाट प्रदर्शन हुने चलचित्र एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको हो ।