Rose

PG Feature Film Love Story, ThrillerSep 07, 2018Hall Release

News

‘रोज’ हेरेपछि रोजी महर्जनको परिवार भन्छ – हाम्रो आपत्ति छैन, तर सुट गरेको दृष्य मिल्छ

बिष्णु सुबेदी २०७५ भाद्र २२

जब चलचित्र रोज निर्माणको औपचारिक घोषणा भयो त्यस लगत्तै नाम र विषयबबस्तुलाई लिएर निकै विवाद देखियो ।

केही सञ्चार माध्यमहरुमा रोजी महर्जन हत्याकाण्डमा आधारित भएर चलचित्र निर्माण हुन लागेको समाचार प्रकाशन भएको थियो । यही समाचारलाई आधार बनाएर रोजी महर्जनको परिबारले आफ्नो छोरी माथी घटेको घट्नामा चलचित्र बनाउँनै नदिने भन्दै सारोकारवाला निकायमा उजुरी समेत दिए ।

केही दिन चलचित्रको छायाँकन नै रोकियो । अन्ततः चलचित्रको स्कृप्ट पढेपछि छायाँकन गर्न त दिइयो तर नाम परिवर्तन नगरि प्रदर्शन गर्न नदिने बताएपछि निर्माण टिमले यसको नाम परिवर्तन गर्यो । शुरुमा चलचित्रको नाम रोजी राखिएको थियो तर, ३ हप्ता अघि मात्र यसको नाम परिवर्तन गरि रोज राखियो ।

शुक्रबार बाट त्यही चलचित्र प्रदर्शनमा आएको छ । निर्माण युनिटले शुक्रबार नै बिग सिनेमामा प्रेश शोको आयोजना गरेको थियो । उक्त शोमा पत्रकारहरुको बाक्लो उपस्थिति त थियो नै रोजी महर्जनको परिवारका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

प्रेश शोमा चलचित्रका कलाकारहरु प्रदिप खड्का, मिरुना मगरपारामिता राणा सहित निर्देशक निरक पौडेल र निर्माता मणिकरण केसी पनि उपस्थित थिए । चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरुले प्रदिपको प्रतिक्रिया लिदै थिए त्यति नै बेला रोजी महर्जनकी भाउजु पनि आइपुगिन । उनले उक्त शोमा चलचित्र रोज हेरेकी रहिछन् । प्रदिपले नै मिडियासँग फेस गराउँदै भने – ‘चलचित्रको विषयवस्तुबारे निकै विवाद भयो अब रोज हेरेर निस्कनु भएको रोजी महर्जनका परिवारको प्रतिक्रिया सुनौ न, उहाँहरु के भन्नु हुन्छ । उनले अघि थपे उहाँहरुले आफ्नो कुरामात्र राख्नु हुन्छ प्रतिप्रश्न नगरिदिनु होला ।’

त्यसपछि रोजी महर्जनकी भाउजु मिडिया माझ प्रस्तुत भइन । उनले भनिन् – ‘फिल्म धेरै राम्रो छ । मिडियामा भने झै चलचित्र बहिनीको घट्नासँग ठ्याक्कै मेल खाएको चाँही लागेन । समाजमा घटि रहेको घट्नाबारे चलचित्र बनाउनु भएको रहेछ । अहिले यस्तै घट्ना घटिरहेको सुनिन्छनी । हाम्रो बहिनीसँग नमिले पनि यस्तै घट्ना भएको थियो । अब समाजमा यस्तो नहोस् भनेर उहाँले म्यासेज दिनुभएको छ । कतिले आवेशमा आएर यस्तो गर्नुभयो ।’

प्रदिपले प्रतिप्रश्न नगरिदिन शुरुमै आग्रह गरे पनि के गर्नु, पत्रकारको धर्म न हो, प्रतिप्रश्न आइहाल्यो । अनि कथा चाँही मिल्छकी मिल्दैन त ? फेरी पनि रोजी महर्जनकी भाउजुले भनिन् – ‘कथा १०० प्रतिशत मिल्दैन । समाजमा भएको यस्तै हो, प्रेमीले प्रेमिकाको हत्या गर्ने यस्तै हो । हाम्रो केसमा यसमा मिल्ने भनेको बहिनीको पनि सुट गरेर हत्या भएको थियो त्यत्ति हो । हामीले नाम परिवर्तन गरिदिन भन्यौ उहाँहरुले गरिदिनु भयो आभारी छौ । हाम्रो आपत्ति केही पनि छैन । वेष्टअप लक रोज टिम ।’

लगत्तै प्रदिप बोले, उनले भने – ‘नेपाली चलचित्रले जहिले पनि समाजमा भएको घट्नालाई अघि ल्याउन पर्छ । कुनै पनि बलिउड र हलिउडलाई कपि गरेर बनाउने भन्दा हाम्रै समाजका घट्नालाई म्यासेज दिने गरि ल्याउने हो । मैले एउटा रिक्स लिएको पनि हो । जो जसले मलाई फलो गर्नु हुन्छ उहाँहरुले सिक्नुस् भनेर मैले रिक्स लिएको हो । रिक्स लिने बेला पनि यही हो जस्तो लाग्छ मलाई । मलाई विश्वास गरेको बेला रिक्स लिने हो । उहाँहरुलाई हामीले कहिँ कतै हट गरेको भए माफि चाहन्छु । उहाँहरुको सपोर्टका लागि आभारि छौं ।’

लभस्टोरी–क्राइम जनरामा आधारित चलचित्र रोजमा प्रदिप खड्काको क्रिमिनल लुक्स निकै चर्चामा छ । यसअघि लभस्टोरीमा फिट भएका यि कलाकारले रोजमा गरेको भिन्न भुमिकाका लागि पनि तारिफ पाएका छन् । सबै भन्दा बढी तारिफ भने मिरुना मगरले बटुलिन । मगरलाई धेरैले सम्भावना बोकेकी नायिकाको रुपमा बलियो रुपमा उभ्याउन सफल भएको प्रतिक्रिया दिएका छन् । पारामिता राणा र कर्म पनि आफ्नो भुमिकामा अव्वल देखिएको प्रतिक्रिया मिलेको छ ।

चलचित्रका दुई मुख्य पात्र बिचको प्रेम र उनीहरुविच उत्पन्न असमझदारीको वरिपरी रोजको कथा घुमेको छ । एक प्रेमीले किन आफ्नै प्रेमिकाको हत्या गर्यो भन्ने विषयको प्रस्तुतीलाई धेरैले रोचक बताएका छन् । कथाकै कुरा गर्दा कलाकार प्रदिप खड्काले चलचित्रको कथा सस्पेन्स भएको र अरुले कथा खोलीदिन सक्ने भएकोले जतिसक्दो चाँडो चलचित्र हेर्न आफ्ना फ्यानलाई आग्रह गरेका छन् ।

चलचित्रका वितरक मनोज राठी र गोविन्द शाहीको दाबी अनुसार चलचित्र रोज देशभरका ९५ चलचित्र हलबाट एकसाथ प्रदर्शनमा आएको छ । चलचित्रले शुक्रबार देशभरका मल्टिप्लेक्स र सिंगल दुवै थियटरमा सुखद शुरुवात गरेको वितरकहरुको भनाई छ ।

गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेण्टको संयुक्त व्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता उद्धब पौडेल हुन । यसलाई मणिकरण केसी, आर्या पौडेल र आरोही केसीले निर्माण गरेको हुन् । रोजमा राजुबिक्रम थापाको छायाँकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत, कविराज गहतराज र गोविन्द राईको कोरियोग्राफी रहेको छ ।