Prakash

120 mins Feature Film Social DramaAug 26, 2022Hall Release

News

‘प्रकाश’ प्रिमियरमा सेलिब्रेटीले गरे दिन खोलेर तारिफ

लेन्सनेपाल २०७९ भाद्र ९
‘प्रकाश’ प्रिमियरमा सेलिब्रेटीले गरे दिन खोलेर तारिफ

शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘प्रकाश’को प्रिमियर गरिएको छ । राजधानीमा आयोजित प्रिमियर शोमा थुप्रै सेलिब्रेटी, पत्रकार सहित बिभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

जुम्लाको परिवेशलाई पृष्ठभूमी बनाएर छायाँकन गरिएको चलचित्र हेरेपछि उपस्थित सबैले यसको मुक्त कण्ठले तारिफ गरेका छन् । चलचित्रको कथा, कलाकारको अभिनय, छायाँकन, प्रस्तुति, निर्देशकको काम, साउण्ड, सम्पादनलगायत सबै बिधामा प्रकाशले चलचित्रकर्मी र पत्रकारबाट तारिफ बटुलेको छ ।

अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले चलचित्र हेर्दा कर्णालीको जीवनमा पुगिने जनाएका छन् । ‘प्रकाश’ हेर्न आफु पहिले देखि नै उत्साहित रहेको भन्दै उनले यस्ता मौलिक कथाका चलचित्रलाई सबैले हेर्नुपर्ने बताएका छन् । चलचित्रमा सबैको काम राम्रो भएको भन्दै उनले एउटा राम्रो चलचित्र हेर्न पाउको भन्दै खुशी ब्यक्त गरे ।

यस्तै अभिनेत्री नम्रता श्रेष्ठले कलाकारदेखि निर्देशकसम्म सबैको काम अब्बल लागेको प्रतिक्रिया दिएकी छिन । निर्देशक दिनेश राउतले सबै नयाँ काम गर्ने भन्दै उनले आफु यसपटक पनि निराश नभएको बताइन । अभिनेता प्रदिप खड्का, अभिनेत्री दिया मास्केलगायतको कामको प्रसंसा गर्दै नम्रताले आफुले दर्शकसँग बसेर पुनः एकपटक चलचित्र हेर्ने समेत जनाएकी छिन ।

यता अभिनेता सौगात मल्लले प्रदिपको अभिनय अहिले सम्मकै उत्कृष्ट लागेको बताए । चलचित्रका सबै पक्ष नै सबल रहेको भन्दै उनले निर्देशक, लेखक, कलाकार सबैको तारिफ गरेका छन् । सौगातले सबै दर्शकलाई ‘प्रकाश’ हेर्न समेत आग्रह गरेका छन् यस्तै अभिनेत्री सृष्टि श्रेष्ठले पनि आफुलाई चलचित्र निकै मन परेको प्रतिक्रिया दिएकी छिन । उनले प्रदिपको अभिनयबाट आफु निकै प्रभावित भएको भन्दै खुलैरै उनको तारिफ गरिन ।

त्यसो त अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले चलचित्रको विषयवस्तु, कलाकार, निर्देशक सहित प्राबिधिक पक्षको समेत प्रसंसा गरेकी छिन । उनले प्रदिप खड्काको मेहनतको निकै तारिफ गरिन । एउटा उत्कृष्ट चलचित्र बनेको भन्दै दिपाश्रीले दर्शकलाई ‘प्रकाश’ नछुटाई हेर्न पनि भनेकी छिन । उनले आम दर्शकसँगै नेताहरुले पनि हेर्नुपर्ने चलचित्र भएको प्रतिक्रिया दिइन ।

प्रिमियरमा उपस्थित निर्देशक आकाश अधिकारी, निर्देशक ज्ञानेन्द्र देउजा, निर्देशक प्रदिप भट्टराई, निर्देशक तथा कलाकार अनुप बराल, कलाकार रबिन्द्र सिंह बानियाँ, निर्देशक सुवर्ण थापालगायत सबैले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् ।

प्रिमियरमा सुखद प्रतिक्रिया मिलेको चलचित्रले एक युवाको शिक्षक बन्ने सपना र संघर्षको कथा भनेको छ । बिकास सुबेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन र उत्तम न्यौपानेको साउण्ड डिजाइन रहेको छ ।