Pardeshi 2

Feature Film DramaOct 13, 2023Hall Release

News

चलचित्र ‘परदेशी–२’ सेन्सर पास

लेन्सनेपाल २०८० असोज ९
चलचित्र ‘परदेशी–२’ सेन्सर पास

असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी–२’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ । केद्रीय चलचित्र जाँच समितिले नारायण रायमाझी निर्देशित मल्टिस्टारर ‘परदेशी–२’लाई पीजि सर्टिफिकेट प्रदान गरेको छ ।

प्रदर्शनको झण्डै ३ साताअघि आइतवार साँझ चलचित्रको सेन्सर गराइएको थियो । सेन्सर बोर्डले चलचित्रमा समावेश कुनै पनि दृश्य र संवादमा कैची चलाएको छैन । सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि खुलेर प्रशंसा गरेका थिए । मौलिक कथामा चलचित्र बनेको भन्दै आफूहरुले शुभकामना पाएको निर्माता राजेश वंशलले बताए ।

‘देशको जल्दोबल्दो कथा रहेछ । प्रत्येक घर–घरको कथा रहेछ भन्दै तारिफ गर्नुभयो’ निर्माता वंशलले भने, ‘मौलिक कथामा मन छुने चलचित्र बनेको रहेछ । चलचित्र हेरेर मज्जा आयो । यस्तो चलचित्रहरु चल्छ भनेर शुभकामना दिनुभयो ।’

चलचित्रको टीमबाट निर्माता वंशलसहित अभिनेत्री वर्षा शिवाकोटीसमेत सेन्सरमा सहभागी थिइन् । सेन्सरका क्रममा पाएको प्रतिक्रियाले थप उत्साहित बनाएको निर्माता वंशलले बताए ।

चलचित्रका निर्देशक नारायण रायमाझी, कलाकारहरु अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीलगायतको टिम यतिबेला देश दौडाहामा छ । मंगलवार र बुधवार बुटवलमा रहने टिम पोखरा हुँदै केही दिनमा काठमाडौं फर्किनेछ ।

युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । प्रकाश, केकी र वर्षाका साथमा चलचित्रमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । गायनमा स्थापित प्रकाशको यो डेब्यु चलचित्र हो । विभिन्न हिसावले यो चलचित्रलाई प्रतीक्षित चलचित्रका रुपमा हेरिएको छ ।