London To Paris
Feature Film Love StoryJun 07, 2024Hall Release
News
‘लण्डन टु पेरिस’को प्रिमियर, प्रिमियरमा मिल्यो सुखद प्रतिक्रिया
आजबाट प्रदर्शनमा आएको चलचित्र ‘लण्डन टु पेरिस’को बिहीबार साँझ काठमाडौंमा ग्राण्ड प्रिमियर गरिएको छ । प्रिमियर पछि चलचित्रकर्मीले चलचित्रको कथावस्तु मनपराएको प्रतिक्रिया दिएका छन् ।
निर्देशक शोभित बस्नेतले ठूलो बजेटमा विदेशमा पनि राम्रो नेपाली चलचित्र बनाउन सकिन्छ भन्ने उदाहरण ‘लण्डन टु पेरिस’ले दिएको बताए । ‘विदेशमा बसेर पनि त्यहाँका नेपालीको नेपालप्रति लगाव छ भन्ने कुरा चलचित्रले देखाएको छ’, उनले भने, ‘मलाई चलचित्र राम्रो लाग्यो । विदेशी भूमिमा बनाइएका धेरै नेपाली चलचित्र चल्न सकेका छैनन् । तर यो चलचित्रले राम्रो चल्ने सम्भावना देखाएको छ ।’
चलचित्रका लेखक प्रदीप भारद्वाजले लेखकका रुपमा लेखेका कुरा प्राविधिक रुपमा केही तलमाथि भए पनि चलचित्र राम्रो बनेको बताए । ‘चलचित्र हेरिरहँदा यस्तो अथवा उस्तो हुनुपर्ने भन्ने कुरा आइहाल्छ । तर यो चलचित्र विदेशमा भएर सफल जीवन बिताइरहेका नेपालीको कथा भएकाले सबैलाई छुन्छ भन्नेमा विश्वस्त छु’, उनले भने ।
निर्देशक घनश्याम लामिछानेले एउटा राम्रो प्रेमकथालाई चलचित्रमा आफूले भनेको बताए । उनले चलचित्र विदेशमा खिचिए पनि त्यो नेपालीकै कथा भएको बताए । यो चलचित्रबाट अभिनेताका रुपमा डेब्यू गरेका निश्चल खड्काले सानैदेखि आफूलाई हिरोका रुपमा पर्दामा हेर्न चाहेको कुरा अहिले आएर पुरा भएको बताए । ‘आफूलाई पर्दामा देख्दा भावुक पनि भएँ । फिल्म हेर्नुहुनेले राम्रो भनी प्रतिक्रिया दिइरहनुभएको छ’, उनले भने ।
चलचित्रका अर्का अभिनेता कवीर खड्काले आफूले कलाकार भन्दा पनि दर्शकका रुपमा चलचित्र हेरेकाले ‘इन्जोय’ गरेको बताए । ‘गौरव, अपिल, दीपा जस्ता जुन क्यारेक्टर छन्, उनीहरु पूर्ण रुपमा चरित्रमा भिजेका छन् । मैले आफूले गर्न सक्ने सबै काम गरेको छु’, उनले भने ।
चलचित्रकी ‘डेब्यू’ अभिनेत्री गरिमा शर्माले सानो पर्दामा दर्शकको माया पाए जसरी ठूलो पर्दामा पनि त्यसरी नै माया पाउने आशा व्यक्त गरिन् । ‘आफूले दिन सक्ने सतप्रतिशत काम दिने प्रयास गरेको छु । नयाँ छु, सिक्दै जानेछु, आगामी दिनमा अझ सुधार्ने प्रयास गर्नेछु’, उनले भने ।
घनश्याम लामिछाने निर्देशित चलचित्रले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रमा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही चलचित्रबाट डेब्यू गरेका हुन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा चलचित्रको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।
चलचित्रमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



