Jhingedaau

Feature Film DramaSep 02, 2022Hall Release

News

प्रिमियरमा रुचाइयो ‘झिङ्गे दाउ’

लेन्सनेपाल २०७९ भाद्र १६
प्रिमियरमा रुचाइयो ‘झिङ्गे दाउ’

चलचित्र ‘झिङ्गे दाउ’लाई चलचित्रकर्मी र पत्रकारहरुले रुचाएका छन् । बुधवार साँझ काठमाडौंमा सम्पन्न प्रिमियर शोमा चलचित्र हेरेका सेलिब्रेटीबाट चलचित्रले उत्कृष्ट प्रतिक्रिया बटुलेको हो । धेरैले शुक्रबारबाट प्रदर्शन हुने चलचित्रलाई मौलिक नेपाली चलचित्रको रुपमा प्रशंसा गरेका छन् ।

समारोहमा फिल्मका मुख्य अभिनेत्रीहरु केकी अधिकारी तथा आँचल शर्मा आकर्षणको केन्द्र बनेका थिए । समारोहमा आँचलले लगाएका पहिरनले अधिकांशलाई आकर्षित गरिरहेको थियो ।

फिल्म हेरेका अधिकांश कलाकारहरुले फिल्मको प्रस्तुति, विषयवस्तु, छायांकन तथा कथावस्तु मन पराएको प्रतिक्रिया दिएका छन् । फिल्म हेरेका कतिपय कलाकारहरुले सामाजिक सञ्जालमार्फत आफूलाई फिल्मले छोएको धारणा व्यक्त गरेका छन् ।

फिल्मकर्मी दीपकराज गिरीले लेखेका छन्– ‘धेरैपछि अर्ग्यानिक कमर्शियल फिल्म हेरेँ । गाउँघरका कथा मन पराउनेले मज्जाले हेरे हुन्छ । मेरो पहिलो फिल्मको निर्देशक मित्र ज्ञानेन्द्र । तिमिसंग फेरी काम गर्न मन लाग्यो । शुभकामना १’

फिल्मकर्मी प्रदीपकुमार उदयले फिल्मलाई सफलताको शुभकामना दिँदै लेखेका छन्– ‘धेरै समयको अन्तरालपछि नेपाली चलचित्रको प्रिमियरमा उपस्थित भई निर्देशक ज्ञानेन्द्र देउजाको नेपाली कथानक चलचित्र ‘झिंगेदाउ’ हेर्ने मौका मिल्यो । निर्देशकले अत्यन्तै सुन्दर र सरल तरिकाले लोक शैलीमा कथा भन्न र देखाउन सफल हुनु भएको छ । निर्देशक, कलाकारहरु, प्राविधिकहरू र सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ।’

निर्देशक वसन्त निरौला लेख्छन्– ‘कृतिलार्इ न्याय गरेर चलचित्र बनाउनु भएकोमा ज्ञानेन्द्र देउजालाई वधाई । चलचित्र पारिवारिक र कमर्सियल बनाउनु भएकोमा पनि, १७ गते शुक्रबारदेखि हेर्न नछुटाउनु होला ।’

प्रीमियर शोमा फिल्म हेरेर फर्किने क्रममा फिल्ममा आमाको मुख्य भूमिकामा प्रस्तुत भएकी कलाकार हिउँवाला गौतमको आँखा रसाएको देखियो । उनले आफ्नो आँखा आँशु लुकाउन सकेकी थिइनन् । उनलाई आफैंले निर्वाह गरेको आमाको भूमिका तथा फिल्म कथाले छोएको सहजै अनुमान गर्न सकिन्थ्यो ।

फिल्म हेरेपछि पाएका प्रतिक्रियाले अभिनेत्रीद्वय केकी अधिकारी तथा आँचल शर्मा उत्साहित देखिए । यो फिल्ममा उनीहरु देउरानी–जेठानीको भूमिकामा छन् ।

सबैको प्रतिक्रिया सुनेपछि निर्देशक ज्ञानेन्द्र देउजाले एउटा पूर्ण मनोरञ्जनको प्याकेज बनाएको प्रतिक्रिया दिएका छन् । फिल्ममा हिउँवाला, केकी र आँचलसंगै मुकुन भुषाल, कुशल बिष्ट, संगम भण्डारी आदि कलाकारले पनि मुख्य भूमिकामा निर्वाह गरेका छन् ।