Janai Harayeko Manchhe

Feature Film DramaAug 22, 2025Hall Release

News

‘जनै हराएको मान्छे’ : रुवाउने इन्टेन्सनले लय हराएको चलचित्र

बिष्णु सुबेदी २०८२ कार्तिक २८
‘जनै हराएको मान्छे’ : रुवाउने इन्टेन्सनले लय हराएको चलचित्र

सर्वकालिन हिट चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ पछि विजय वरालको मुख्य भूमिका रहेको चलचित्र हो ‘जनै हराएको मान्छे’ ।

यति बेला हलमा प्रदर्शन भइरहेको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’ लय हराएको चलचित्र बन्न पुगेको छ । भनिन्छ ‘पूर्ण बहादुरको सारङ्गी’ हिट हुनुको पछि यसको भावनात्मक पक्ष निकै गहिरो थियो । चलचित्र हेरेर दर्शक निकै रोए । जसका कारण माउथ पब्लिसिटी निकै अब्बल भयो । सायद यही बुझाइका कारण होला बिजयलाई मुख्य भूमिकामा लिए पछि जसरी हुन्छ रोना धोना र भावनात्मक कुरा राखेर दर्शक रुवाउनै पर्छ भन्ने मनशाय चलचित्र ‘जनै हराएको मान्छे’मा देखियो ।

चलचित्र कस्तो बनाउने भन्ने कुरा मेकरको इन्टेन्सन के हो ? भन्ने कुरामा निर्भर रहन्छ । त्यसैले त चलचित्रको कथा पनि ‘पूर्ण बहादुरको सारङ्गी’कै भावसँग मिल्ने खालको रोजेको देखिन्छ । ‘पूर्ण बहादुरको सारङ्गी’मा बुबा छोराको भावनात्मक कथा थियो, यो चलचित्रमा पनि बुबा र सन्तान बिचकै भावनात्मक कथा छ । 

सिताराम (विजय बराल) गाउँका चर्चित पुरोहित चिन्तामणी (भोलाराज सापकोटा)का छोरा हुन् । सिताराम सानै हुँदा आमा विरामी हुन्छिन् । अनि छोराको हातबाट दागबत्ति पाइने आशले उनले सितारामको ब्रतबन्ध गर्न आग्रह गर्छिन । चिन्तामणीले पनि सितारामको ब्रतबन्ध गरिदिन्छन् । उसले अब जनै लगाउँछ । आमाले जनैको महत्व बुझाउँदै भन्छिन् – यदि जनै हरायो वा चुडियो भने अर्को नलगाउँदा सम्म बोल्नु हुँदैन, अन्यथा ठूलो अनिष्ट हुन्छ ।

तर, एकदिन स्कूलमा खेल्दा खेल्दै जनै चुडिन्छ । सिताराम बोल्छ । त्यसै दिन आमाको निधन हुन्छ । अब भने उसको मनमा गहिरो सँग जनै चुडिएको बेला बोल्यो भने साँच्चै अनिष्ट हुने कुरा गडेर बस्छ ।

सानैमा आमा गुमाएको सिताराम, दिदीले पनि आफु खुशी बिवाह गरेर गएपछि गाउँमै बुबा सँग एक्लै छ । एकदिन कोरियाबाट फर्केको युवालाई देखेपछि उसलाई पनि कोरिया जाने भूत सवार हुन्छ । तिनै युवासँगको सामान्य लफडा पछि उसले इगोमा ६ महिना भित्र कोरिया जाने भन्दै काठमाडौं छिर्छ । सितारामको एउटै लक्ष्य छ जसरी पछि ६ महिना भित्र कोरिया जाने । काठमाडौं आएपछि मानबहादुर दाई सँग उसको भेट हुन्छ । मानबहादुरले उसलाई ठगेर हिड्छ । गाउँकै साथीको श्रीमतीको चिनजानको मान्छे भनेर भेटेको मानबहादुरलाई त्यसपछि सितारामले खोज्दै खोज्दैन । न त त्यही साथीमार्फत नै खोज्न वा बुझ्न तर्फ लाग्छ । मानबहादुरले ठगेर हिडेपछि उ अलपत्र जस्तो पर्छ । उ दिदी भिनाजुको मा जान्छ । अनि दिदीसँग काम खोज्दीन भन्छ । तर, मानबहादुरले सिप सिक्न भन्दै लगेको ग्यारेजमा फेरी काम खोज्न जाँदैन । यता मन नहुँदा नहुँदै भिनाजु सँग मिलेर उ जाँदु देखाउन जान्छ । मेकरले अलिकति कमेडी पनि हाल्दिउ भनेर जादुको दृष्य क्रियट गरेको सजिलै बुझ्न सकिन्छ । जे होस् यो दृष्यले दर्शकलाई मनोरञ्जन भने दिन्छ ।

केही सिच्युएयनहरु बम्बैया फर्मूलाबाटै प्रेरित छन् । ज्याकेट किन्न जादा पसलबाट सितारामको व्याग चोरी हुनु, सितारामले चोर र पसलेले सितारामलाई लखेटेने दृष्य कुनै नौलो होइन । यस्ता कयौं दृष्यहरु छन्, जहाँ दर्शकले अब यो हुन्छ भनेर सहज अनुमान लगाउन सक्छन् । यही विच सितारामको जनै चुडिनु र उ गुण्डा ग्याङको समुहमा फस्नु सबै बम्बैया मसला युक्त चलचित्रमा पटक पटक आएको जस्तै गरि बुनिएको छ ।

यद्यपी अब यो ग्याङबाट उसले निस्कन गरेको संघर्ष भने मौलिक छ । चलचित्रले भन्न खोजेको कुरामा तर्कसंगत सहमत हुन नसकेपनि कयौं दृष्यहरुले मन छुन्छ । 

चलचित्रको सबै भन्दा सबल पक्ष भनेको मुख्य कलाकारहरुको अभिनय हो । विजय बराल अभिनयमा जमेका छन् । शान्तिको भूमिकामा केकी अधिकारीले अत्यन्त न्याय गरेकी छिन । केकीले फेरियल एक्सप्रेसन मार्फत नै धेरै कुरा भनेकी छिन । भावभङ्गी बाटै दर्शकलाई भावनात्मक बनाएकी छिन । सपनाको भूमिकामा देखिएकी मिरुना मगरको अभिनय भने केही कमजोर लाग्छ । गौरब पहारी र भोलाराज सापकोटाको अभिनय औसत लाग्छ । सुशान्त मैनाली, कविता आले र रियर राईले भने पात्रलाई न्याय गरेका छन् ।

लेखक भानुभक्त ढकाल शशक्त पटकथा निर्माणमा चुके पनि चलचित्रको कथा (लकलाइन) शशक्त छ । केही दृष्यहरु निकै शक्तिशालि बनाइएको छ । छोरीको मुखै हेर्दिन भनेको बाबु बिरामी भएर अस्पतालमा भर्ना भएको छ । छोराको थाहा पत्तो छैन । छोरी श्रीमानसहित अस्पतालमा भेट्न आउछे । बुबा अर्को तिर फर्कन्छ । तर, छोरीको मायाले बुबालाई पगाल्छ । छोरीले कुशे औसीको भाग भन्दै छोडेर गएको स्वेटर लगाएको देखाएर प्रतिकात्मकरुपमा उसले छोरीलाई माफ गरिदिएको देखाउन सफल छन् निर्देशक । बिना कुनै सम्वाद, रोनाधोना र हाउभाउविनै देखाइएको यो दृष्यले मन कटक्कै पार्न सक्छ । यस्ता एकाध दृष्य अरुपनि छन्, जुन शशक्त लाग्छ ।

यसबाहेक चलचित्रको छायाँकन पक्ष ठिकठाक नै छ । एक्सन र कटको विचमा मात्र राखेर हेर्दा निर्देशकले डेब्यु चलचित्रबाट सम्भावना देखाएका छन् । तर, चलचित्रमा निर्देशकको काम एक्सन र कटमा मात्र सिमित रहदैन । समग्रतामा हेर्दा भने निर्देशक हिमाल न्यौपाने पनि खरो उत्रिन सकेको देखिएन ।

चलचित्रले जसरी बुबा छोरीको सम्बन्धलाई शशक्त रुपमा स्थापित गरेको छ त्यसैगरि बुबा–छोरा र दिदी–भाईको केमेस्ट्री स्थापित गर्न सकेको छैन । जसका कारण बषौं पछि दिदी–भाई भेट हुँदा पनि दर्शकलाई कनेक्ट गर्न सक्दैन ।

अहिलेको समयमा धेरै ब्राह्मण युवाहरु जनै नै लगाउँदैनन् । यसैले कथाको उठान अर्थात जनै चुडिएकै कारण सितारामले बोल्न नसकेर आफुमाथी भएका एकपछि अर्को अन्याय सहदै आएको कुरा नै विश्वसनिय लाग्दैन । यद्यपी केही दृष्यहरु मार्फत निर्देशकले यसलाई विश्वसनिय बनाउने कोसिस गरेका छन् ।

चलचित्रको कमजोर पाटो भनेको पहिलो हाफ हो । दोस्रो हाफमा भने चलचित्रले गति लिन्छ । बिभिन्न ट्वीस्टहरु आइरहन्छन् । व्याग्राउण्ड म्युजिक पनि ठिकै लाग्छ । तर, पहिलो हाफमा थुप्रै पटक व्याग्राउण्ड म्युजिकले इमोशन ब्रेक गर्छ । पहिलो हाफमा पटक पटक आउने बासुरी र सारङ्गीको धुन कहि कतै इरिटेड लाग्न सक्छ ।

चलचित्रको क्लाइमेक्सले दर्शकको मन त छोला तर, तर्कसंगत रुपमा त्यसमा सहमत हुन सक्ने ठाउँ नै छैन । चलचित्रको क्लाइमेक्स यति कमजोर बनाइएको छ कि यसले अन्तिम संस्कार सम्बन्धमा छोरीले गर्दै आएको बिद्रोह माथी नै प्रश्न उठाएको छ । अहिलेको समयमा छोरा–छोरी सबैले बुबा–आमाको किरिया गर्न थालिसकेका छन् । तर, छोरी हुँदा हुँदै बुबाको अन्तिम संस्कारका लागि अन्य मान्छे खोजिएको दृष्य कुनै पनि अर्थमा तर्क संगत लाग्दैन । त्यसमाथी चलचित्रमा आफुखुशी विवाह गरेर छोरीले समाज र परिवारसँगै बिद्रोह गरेको देखाइएको छ । चलचित्रले छोरीले दागबत्ति दिनु हुँदैन, किरिया गर्नु हुँदैन भन्ने सन्देश दिन खोजेको हो भने यसमा सहमत हुन सकिदैन । होइन भने प्रष्टै छ मेकरको जसरी पनि दर्शक रुवाउने मनशाय ।