Jai Bhole

PG Feature Film Comedy, DramaOct 16, 2018Hall Release

News

चलचित्र सृजना गर्दा गर्दै जीवनको अन्त्य होस् – अशोक शर्मा

बिष्णु सुबेदी २०७५ असोज २९
चलचित्र सृजना गर्दा गर्दै जीवनको अन्त्य होस् – अशोक शर्मा

अशोक शर्मा नेपाली चलचित्रका लागि नयाँ नाम होइन । थुप्रै सफल चलचित्रका कलाकार, निर्माता अनि निर्देशक हुन, शर्मा ।

शर्मा पछिल्लो एक दशक यता डिजिटल सिनेमा नेपाल ९डिसिएन० प्रमुख भई काम गरे । नेपाली चलचित्र भर्खर भर्खर सेल्युलाइड प्रबिधिबाट डिजिटल उन्मुख थियो । शर्मा चलचित्रलाई पूर्ण डिजिटल बनाउने कार्यमा सक्रिय रुपमा लागे ।

जब शर्मा डिसिएनमा व्यस्त भए उनले चलचित्र निर्देशनमा हात हाल्न सकेनन् । चलचित्र सृजना भएको र उत्कृष्ट सृजनाका लागि स्वतन्त्र सोचको आवश्यकता महशुस गर्ने शर्मा डिसिएनमै व्यस्त भएकोले चलचित्र निर्देशनमा ग्याप बढेको बताउँछन् । अहिले नेपाली चलचित्रको प्रविधि पूर्ण रुपमा डिजिटल बनिसकेको छ । यसैले डिसिएनमा शर्माको खटाई पनि केही कम हुनु स्वभाविक बन्दै आयो । उनलाई अब आफुले चलचित्र निर्माण र निर्देशनको जिम्मेबारी फेरी सम्हाल्न सक्छु भन्ने लाग्यो फलतः जय भोले बन्यो ।

आफ्नो जन्म नै चलचित्रका लागि भएको रहेछ कि भन्ने ठानेका शर्मा अब भने निर्माण, निर्देशन र अभिनयमा पुनः सक्रिय रहने अठोटमा छन् । हुन त यो विचमा उनले केही चलचित्रमा अभिनय पनि गरेका छन्, एकाध चलचित्र साझेदारी रुपमा निर्माण पनि गरेका छन् ।

आफु सृजनामा रम्ने मान्छे भएपनि चलचित्रलाई डिजिटल प्रविधिका रुपान्तर गर्नु अर्को महत्वपूर्ण काम भएकोले केही समय यसबाट अलिक पर भएको जस्तो देखिएको उनको बुझाई छ । अब भने शर्माले डिसिएनलाई आफ्नो व्यवसायिक पाटो र चलचित्रलाई सृजनात्मक पाटोका रुपमा अघि बढाउने सोच बनाइसकेका छन् । आफ्नो जीवनको अन्त्य पनि चलचित्र सृजनासँगै होस् भन्ने उनको चाहना छ ।

डिसिएनमा काम गरिरहदा शर्माले नेपाली चलचित्रलाई नजिकबाट नियाल्ने अवसर पनि पाए । उनले पछिल्लो दशकमा चलचित्रमा आएका परिवर्तनलाई सुक्ष्म रुपमा औल्याए । चलचित्र कसरी अघि बढीरहेको छ, कस्तो शैली समातिरहेको छ, बजार के छ, कस्ता चलचित्रलाई दर्शकले मन पाएका छन् यस्ता विषयहरुमा उनले अध्ययन पनि गर्न पाए । अक्सर नेपाली चलचित्रहरु हेरेका कारण उनलाई यि विषयमा बुझ्न कठिन परेन । उनले परिवर्तनलाई मनन् गरे ।

चलचित्रको पछिल्लो ट्रेण्डलाई आत्मसाथ गरिसके पछि उनी झण्डै साढे २ वर्ष अघि चलचित्र निर्माण, निर्देशनको सोचमा पुगे । चलचित्र त बनाउने तर त्यसका लागि सवैभन्दा पहिला उत्कृष्ट कथाको आवश्यकता थियो । कथा भएर मात्र पनि कहाँ हुन्छ र पटकथा र सम्वाद लेखक पनि त चाहियो । उनी एउटा उत्कृष्ट कथा र लेखकको खोजीमै थिए । ठिक त्यसै बेला चलचित्र पशुपति प्रसाद प्रदर्शन भयो । शर्माले पनि पशुपति प्रसाद हेरे । यो चलचित्र हेर्दै गर्दा उनी खगेन्द्र लामिछानेबाट निकै प्रभावित भएछन् । पशुपति प्रसाद हेरेपछि लामिछानेको लेखन र अभिनयबाट प्रभावित भएका शर्माले त्यसपछि उनका अन्य चलचित्रहरु पनि हेरेछन् । तर, लामिछानेलाई एउटै टाइपको भुमिकामा मात्र भेटेछन् । दुःखी पात्र अनि अक्सर ग्रामिण भेगकै कथा । शर्मालाई लागेछ यस्तो सृजनशिल प्रतिभा भएको मान्छेले जस्तो पनि काम गर्न सक्छ । एउटा निर्देशकले कलाकारको खुबी चिन्न सक्नै पर्छ । शर्मा आफुले लामिछाने भित्रको फरक शैलीको पात्रलाई पनि न्याय गर्न सक्ने खुबी चिनेको बताउँछन् । त्यसैले उनी निचोडमा पुगे – ‘काम लामिछानेसँगै गर्ने तर फरक शैलीको कथा र पात्रमा ।’ शर्माको कुरामा लामिछाने शुरुमै कन्भिन्स भएनछन् । बिस्तारै दुवैको कुरा मिल्यो, लामिछाने काम गर्न तयार भए । तर स्कृप्ट लेख्दै जाँदा बिचैमा बिवाद भयो । यो कुरा स्वयम् शर्माले खाले । लामिछानेले यति सम्म भनेछन् कि मैले तपाईलाई कथा दिइसकेको छु, अभिनय पनि म गर्छु तर स्कृप्ट लेखनको काम अब म गर्दिन । फेरी पनि दुवैजनाले पटक पटक छलफल गरे । केही कुरामा शर्माले त केही कुरामा लामिछानेले एक अर्कालाई कन्भिन्स गरे । फेरी एकसाथ काम अघि बढ्यो ।

के कति र कस्ता कमर्सियल तत्वहरु स्कृप्ट समावेश गर्ने भन्ने विषयमा विवाद भयो । शर्माले भनेछन् कथाको मर्मलाई मर्न दिनु हुँदैन । तर चलचित्र चलाउन अन्य तत्वहरु पनि चाहिन्छन् । एउटै कुराले चलचित्र चल्दैन । धेरैभन्दा धेरै दर्शकले चलचित्र हेर्नुपर्छ । उनले थपेछन् म कथाको भाव मार्दीन तर, एउटै थिममा मात्र चलचित्र बनाउँदिन । चलचित्रमा एउटै मात्र कुरा भयो भने वा भनौं कमर्सियल कुराहरु भएनन् भने चलचित्र हेर्ने दर्शक कम हुन्छन् । त्यसमा लामिछानेले पनि आफ्ना कुराहरु राखे । अनि दुवै एक अर्काको कुरामा कन्भिन्स भए । झण्डै १३ महिनामा चलचित्रको स्कृप्ट तयार भयो ।

शर्मा केही उत्साहित देखिए । उनले भने – ‘यहाँ एउटा कलाकार जस्तो चलचित्रमा चल्यो मेकरले उसलाई त्यस्तै चलचित्रमा मात्र लिन्छन् । टाइप काष्ट हाबी छ । तर, मैले लामिछानेलाई फरक शैलीमा प्रस्तुत गरेको छु ।’ त्यसो त लामिछानेको अभिनय यात्रामा यो एउटा टर्निङ प्वाइन्ट हुने विश्वास समेत उनले लिएका छन् ।

स्कृप्ट तयार भएपछि उनले पात्रलाई न्याय गर्न सक्ने कलाकार खोजे । कथाको माग बमोजिम नै ३ वटा जेनेरेशनको फ्युजन देखियो कलाकारमा । पहिलो पुस्ताका बसुन्धरा भुषाल, राजाराम पौडेललगायत जोडिए भने अर्को पुस्ताबाट सौगात मल्ल, खगेन्द्र लामिछाने, बुद्धि तामाङ अनि पछिल्लो पुस्ताबाट स्वस्तिमा खड्का, सलोन बस्नेत लगायतका कलाकार चलचित्रमा आवद्ध भए । सबै वर्ग, उमेर र समुदायका दर्शकका लागि जय भोले बनाएको बताएका शर्माले कलाकारको छनौटले पनि त्यसको झल्को दिने जनाएका छन् । उनले यसो भनिरहँदा कतै चलचित्रको कथा ३ पुस्ता विचको अन्तरमा त केन्द्रित छैन भनेर हामीले सोधिहाल्यौं । तर, शर्मा कथा खोल्न तयार हुँदै भएनन् । बरु आफुले एउटा शशक्त स्कृप्टमा शशक्त टिम बनाएर काम गरेको बताए ।

चलचित्र हेर्दै गर्दा हरेक व्यक्तिले कुनै न कुनै पात्रमा आफुलाई पाउने उनको भनाई छ । आफ्ना चलचित्रमा कुनै न कुनै ठोस् विषय हुने गरेको भन्दै शर्माले यो चलचित्रमा पनि केही गुदी कुरा भएको दाबी गरे । उनले चलचित्रमा हाँस्ने मात्र कुरा नभएर ठोस् विषयलाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरेको बताएका छन् । उनी भन्छन् यदी नेपाली मन छ भने त्यो मान्छेले जय भोले अवश्य मन पाराउँछ ।

आफुले पछिल्लो एक दशकका चलचित्रलाई नजिकबाट नियाल्दा जे कुरा मनन् गर्न सकियो त्यही कुरामा इमान्दार भएर चलचित्र बनाएको उनको भनाई छ । जसका कारण जय भोले सफल हुने विश्वास पनि छ उनलाई । उनी त दाबाका साथ भन्छन् जय भोलेबाट कोही पनि निराश हुनु पर्दैन ।