Harry Ki Pyari

Feature Film ComedyFeb 03, 2023Hall Release

News

‘ह्यारीकी प्यारी’को प्रिमियर, कथाबस्तुको तारिफ

लेन्सनेपाल २०७९ माघ १८
‘ह्यारीकी प्यारी’को प्रिमियर, कथाबस्तुको तारिफ

शुक्रबार प्रदर्शनमा आउने चलचित्र ‘ह्यारीकी प्यारी’को मंगलबार प्रिमियर गरिएको छ । राजधानीको बिग मुभिजमा सम्पन्न भव्य प्रिमियरमा उपस्थित चलचित्रकर्मी, पत्रकार र अन्य पाहुनाहरुले चलचित्रलाई रुचाएका छन् ।

डा. कपिल रिजालको डेब्यु निर्देशन रहेको चलचित्रको विशेषगरि कथाबस्तुको धेरैले तारिफ गरेका छन् । साम्राज्ञी राज्यलक्ष्मी शाह, जितु नेपाल, विजय बराल, लक्ष्मी गिरी, सुवाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाल लगायतका कलाकारहरुले पनि उपस्थित पाहुनाबाट तारिफ पाए ।

कसले के भने प्रिमियरमाः

मदनकृष्ण श्रेष्ठ (वरिष्ठ कलाकार)
आफुले कल्पनै नगरेको कथा पाएँ । कथा सरसर्ती अगाडी बढेको छ । एकछिनपनि आँखा झिमिक्क हुन दिंदैन । जितुलाई हिरोमा सुहाएको छ । निर्देशक रिजालको काम उत्कृष्ट छ ।

सन्तोष पन्त (वरिष्ठ कलाकार)
निर्देशक कपिल रिजाल जीले एउटा मनले चाहेको चलचित्र बनाउनु भएको छ । चलचित्रमा सुगठित शरीर भएको हिरो होइन मनको हिरो हुनुपर्छ भन्ने निर्देशकको परिकल्पना राम्रो लाग्यो । जितुको अभिनय राम्रो पाएँ । साम्राज्ञीले आफ्नो अभिनय निखारेको पाएँ । चलचित्रमा सुरुको दृश्यदेखि लिएर अन्तिमसम्म साम्राज्ञीको अभिनयमा विविधता पाएँ । एकदमै उत्कृष्ट चलचित्र । एकपटक हेरिदिनु होला ।

रमेश उप्रेती (अभिनेता)
जितुलाई बधाई दिन चाहन्छु । एकदमै राम्रो अभिनय गर्नु भएको छ । पटकथा उत्कृष्ट लाग्यो । समसामयिक लाग्यो विषयबस्तु । संदेशसहितको मनोरन्जनात्मक चलचित्र बनेको छ ।

केदार घिमिरे (हास्यकलाकार)
रमाइलो र उत्कृष्ट चलचित्रमा लाग्यो । बीचबीचमा भावुकपनि बनायो । लेखन, अभिनय र निर्देशन पक्ष राम्रो लाग्यो । निर्देशक ज्यूलाई बधाई भन्न चाहन्छु ।

दीपाश्री निरौला (निर्देशक÷कलाकार)
जितुको अभिनयको पहिलेदेखि फ्यान थिएँ । ‘ह्यारीकी प्यारी’मा उसले प्रमाणित गरेको छ । उसको अभिनयले आँखाबाट आँशु झारेको पत्तै भएन । साम्राज्ञीको पनि अभिनय राम्रो लाग्यो । यस्ता उत्कृष्ट चलचित्र बन्दा यसले यस क्षेत्रको जरा बलियो बनाउछ । ‘ह्यारीकी प्यारी’ दर्शकको प्यारो हुनेमा विश्वस्त छु ।


आकाश अधिकारी (निर्देशक÷कलाकार)
धेरैपछि मन छुने लभस्टोरी हेर्न पाउँदा मनैदेखि दंग छु । कपिल, जितु र साम्राज्ञी जीले एउटा पृथक लभस्टोरी पस्किनु भएको छ । टिमलाई सफलताको शुभकामना ।

किरण केसी (हास्यकलाकार)
जितुले लिडमा चलचित्र खेल्दैछ भन्दा एकदमै डर लाग्या थियो । अहिले चलचित्र हेर्दा डर मुक्त भएँ । एकदमै राम्रो अभिनय जितुको । निर्देशकले सानो सानो कुरा ध्यान पुर्याउनु भएको छ । कपिल रिजाल यो क्षेत्रको आवश्यकता हो । मेरो लागि ‘ह्यारीकी प्यारी’ ९९.९९ प्रतिशत उत्कृष्ट छ ।

शिवहरी पौड्याल (हास्यकलाकार)
चलचित्र क्षेत्रले खास जोडी भेट्टाए जस्तो लाग्यो । साम्राज्ञी र जितुको जोडी एकदमै सुहाएको छ । विषयबस्तुपनि फरक रहेछ । निर्देशक काम डेब्यु जस्तो लागेन । परिपक्कता पाएँ । जितुको भावुक अभिनय मज्जाको छ । साम्राज्ञीलाई फरक अभिनयमा पाएँ । सबैले हेरिदिनुस ‘ह्यारीकी प्यारी’ ।