Gunyo Cholo : The Dress

Feature Film Social DramaAug 29, 2025Hall Release

News

जति टाले पनि टाल्न नसकिने – ‘गुन्यो चोलोः द ड्रेस’

लेन्सनेपाल २०८२ असोज ३१
जति टाले पनि टाल्न नसकिने – ‘गुन्यो चोलोः द ड्रेस’

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रको हो ‘गुन्यो चोलोः द ड्रेस’ । समुन्द्र भट्टको निर्देशन रहेको चलचित्रले पारालैङ्गिक महिलाको कथा भन्छ । तर, यति संवेदनशिल विषय उठान गर्दा निर्देशकको सतही बुझाई र फिलतो प्रस्तुतिले चलचित्र निकै कमजोर बन्न पुगेको छ । चलचित्र हेर्दै गर्दा निर्देशकको अपरिपक्कता पटक पटक पर्दामा महशुस हुन्छ ।

पारालैङ्गिक महिलाको कथामा बनेको चलचित्रको सबैभन्दा ठुलो कमजोरी त्यस्ता महिलालाई कमजोर नै देखाउनु हो । अहिले तेस्रो लिङ्गीहरुले पनि आफ्नो पहिचान खुलाएरै थुप्रै उदाहरणिय काम गरेका छन् । तर, चलचित्रमा उनीहरुलाई रातकी रानी, दुई दिनकी चाँदनी जस्तो गरि त देखाइएको छ नै, अझ एक स्टेप अघि सरेर यस्ता ब्यक्ती माथी सामुहिक बलात्कार हुँदा समेत त्यसलाई वेवास्ता गरिनु निर्देशकको गम्भिर कमजोरी हो । बुबाले त उसको कुरा सुनेनन्, घरमा पुगेर आमालाई बलात्कृत भए भन्दा समेत मातृत्वको साथ नपाउनु अपत्यारिलो कुरा होइन र ? आमा त ममताकी खानी हुन् । सन्तान जस्तो भएपनि, परिस्थिति जस्तो भएपनि के कुनै आमाले आफ्नो बलात्कृत भएको सन्तानलाई मुखै नदेखा भनेर घरबाट पठाउन सक्लिन र ? बलात्कार जस्तो संवेदनशिल विषय उठान गरेर असंवेदनशिल रुपमा प्रस्तुत गर्नु निर्देशकको अर्को कमजोरी हो ।

चलचित्रको शिर्ष पात्र देब बहादुर थापा उर्फ गुलाबीको भूमिकामा अभिनेता नाजिर हुसेनले अभिनय गरेका छन् । तर, निर्देशकले उनको अभिनय माथी कन्ट्रोल गुमाउँदा उनको मेहनत ‘वालुवामा पानी’ भन्दा जस्तै भएको देखिन्छ । पुरुष भएर जन्मिए पनि महिलाको मन भएको ब्यक्तिले गुन्यु चोलो लगाउन मात्र सघर्ष गर्दैन, समाजमा सम्मानजनक उपस्थितिका लागि गर्ने मानसिक संघर्ष सबैभन्दा कठिन यात्रा हो । चलचित्र यो विषयमा भने नराम्रो सँग चुकेको छ । पुरुषको शरिर देखिने तर भित्रबाट महिला भएर बाँच्नु एउटा गहिरो आन्तरिक संघर्ष हो । शरीरले एक कुरा देखाउँछ, आत्माले अर्कै कुरा माग्छ । समाजले थोपरेको पहिचान र आफूभित्रको वास्तविक पहिचानबीच निरन्तर द्वन्द्व चलिरहन्छ । तर, निर्देशक केही थान सम्बादकै भरमा मुख्य पात्रको अन्तरद्वन्द्व बुझाउन खोज्छिन् । जसलाई प्रभावकारी दृष्यभाषा मान्न सकिदैन । यही नै गर्न पथ्र्यो भनेर त नभनौ तर, दर्पणको प्रतिक (हेरिरहेको पात्र र देखिएको पात्र विचको भिन्नता), रङ र प्रकाशको प्रयोग (कडा र नरम), सपना र कल्पना (जे हो र जे हुन खोजिरहेको छ) जस्ता विम्बहरु मार्फत पनि पात्रको मनोविज्ञान बुझाउन सकिन्थ्यो । निर्देशक त्यस्ता थुप्रै विम्बहरु मार्फत आन्तरिक द्वन्द्व देखाउन पनि चुकेकी छिन ।

कथा पहाडको एउटा सानो गाउँबाट सुरु हुन्छ । रिटायर्ड लाहुरे (विशाल पहाडी) जो गाउँमै लाहुरे ट्रेनिङ्ग गराउँछन् । तीन जना छोरी भएपछि उनलाई पुत्र (देब बहादुर थापा) लाभ हुन्छ । उनी शुरु देखिनै छोरालाई लाहुरे बनाउने सपना देख्छन् । बच्चा बढ्दै जाँदा, उसको वास्तविक लिङ्ग पहिचान प्रकट हुन थाल्छ । तर, बाबुको कडा स्वभाव र जसरी पनि छोरालाई लाहुरे बनाउने सपनाका अघि देवले लाहुरेकै ट्रेनिङ्ग गर्छ । तर, उसलाई लाहुरे हुन् मन लाग्दैन । उ लाहुरे छनौटको दिन आन्तरिक मनोद्वन्द्वमा फस्छ । र सेलेक्सन हुन सक्दैन ।

त्यसपछि उसलाई लाहुरेकै तयारीका लागि पोखरा पठाइन्छ । पोखरामा उसले खुबै मेहनत गर्छ । त्यसैविच एक घट्ना पछि उसको बलात्कार हुन्छ । यस विषयमा माथीनै कुरा उल्लेख छ ।

बुबाले उसलाई के भएको छ, जान्नै खोज्दैन । बलात्कार भए भन्दा पनि आमाले बुझ्दिनन् । बरु अलिअलि पैसा र गहना दिएर घरबाटै पठाउँछिन । त्यसपछि देब कसरी गुलावी हुन्छ । के उ समाजमा पुनःस्थापित हुन सक्छ । चलचित्रको कथा यसैको वरिपरि घुमेको छ ।

चलचित्रको पहिलो हाफमा कथा अघि बढ्दै बढ्दैन । छोरालाई लाहुरे बनाउने बुबाको सपनामै अल्झिन्छ । दोस्रो हाफमा कथा त अघि बढ्छ । तर, देवले गुलावी भएपछि गर्ने संघर्ष निकै सतही छ । चलचित्रमा सबैभन्दा बलियोसँग आउनु पर्ने भनेको देव उर्फ गुलावीको मनोवैज्ञानिक चिन्तन हो । आन्तरिक द्वन्द्व हो । त्यो नै सबैभन्दा फितलो छ ।

शुरुमा गुलावीलाई सडकमा नउभिने, बरु अन्य काम गर्ने पात्रका रुपमा देखाएर पारालैङ्गिक महिलालाई लाग्ने गरेको यौनकर्मीको आरोपबाट मुक्त गर्न खोजेको आभाष चलचित्रले दिएको थियो । काठमाडौं शहरमा उसलाई आश्रय दिने आमाले जे भने पनि गुलावी सटर – सटर, पसल–पसल काम खोज्दै हिडेको कुराले उनीहरुको आत्मसम्मानलाई थोरै भएपनि उचो बनाउन खोजेको आभाष मिलेको थियो । तर, क्षण भरमै यो विश्वास पनि टुट्छ । चलचित्रको अर्को कमजोरी भनेको पारालैङ्गिक महिला सडकमै उभिनु पर्छ भन्ने जबरजस्त भाष्य स्थापित गर्न खोज्नु पनि हो ।

चलचित्र पटकथा निर्माणमा मात्र होइन प्राबिधिक रुपमा पनि कमजोर छ । ब्याकग्राउण्ड म्युजिकले भावनात्मक गहिराई निर्माण गर्न सक्दैन । छायाँकनमा प्रकाश ब्यवस्थापनको कमजोरी पटक पटक महशुस हुन्छ । रङ संयोजनको कुरा गर्दा देव र गुलावीको यात्रामा फरक–फरक रङ संयोजन गरेर दृष्यलाई थप अर्थपूर्ण बनाउन चलचित्र चुकेको छ ।

देव उर्फ गुलावीको रुपमा नाजिको मेहनत प्रसंसा योग्य छ । तर, धेरै ठाउँमा उनले सम्बाद बोल्दै गर्दा कविता बाचन गरेको जस्तै लाग्छ । बुबाको भूमिकामा देखिएका विशाल पहाडीको अभिनय लाउड लाग्छ । सञ्चिता लुईटेलले आमाको भूमिकामा औसत अभिनय गरेकी छिन ।

चलचित्रको क्लाइमेक्समा दिन खोजिएको सन्देश बलियो लाग्छ । तर, घट्नाक्रमको विकास यति फितलो छ कि बुबा कसरी उक्त परिस्थितिका लागि सहमत भए भन्ने कुरा चलचित्रले देखाउनै सकेको छैन ।

अन्त्यमा बुबाले देवलाई गुन्यो चोलो दिएको दृष्य भने निकै शक्तिशालि र प्रतिकात्मक छ । सामाजिक मान्यता अनुसार बाल्यावस्थाबाट युवावस्थामा प्रवेश गर्दै गरेकी छोरीलाई यसरी गुन्यो चोलो दिनु भनेको नारी पहिचानको सुरुवात, परिवारिक र सामाजिक स्वीकृती र संरक्षण प्रदान गरिनु हो ।

जब यस्ता पात्रले आफ्नो आत्मसत्यलाई स्वीकार्छन्, तब मानसिक द्वन्द्वलाई चिरेर, आत्मस्वीकृति र स्वतन्त्रताको नयाँ यात्रा सुरु गर्छन । चलचित्रको अन्त्यमा भने निर्देशकले गुलावीलाई स्वतन्त्रताको उडान दिएकी छिन । यो प्रसंसा योग्य नै छ । 

समग्रमा भन्दा गुन्यो चोलो यसरी फाटेको छ कि जताबाट जति टाले पनि टाल्नै मुश्किलै पर्छ ।