Farki Farki
UA Feature Film Love Story, Time LoopMay 23, 2024Hall Release
News
प्रिमियरमा ‘फर्की फर्की’को तारिफ नै तारिफ
आजबाट रिलिज भएको चलचित्र ‘फर्की फर्की’को बुधबार साँझ राजधानीमा भव्य प्रिमियर गरिएको छ । राजधानीको कमलपोखरीस्थित बिग मुभिजमा भएको प्रिमियरमा अनमोल केसी र जसिता गुरुङ स्टारर चलचित्र हेर्न चलचित्रकर्मी, पत्रकार, सञ्चारकर्मी तथा लब्धप्रतिष्ठित व्यक्तिको बाक्लो उपस्थिति थियो । प्रिमियर पछि अधिकांशले चलचित्रको कथावस्तु, कलाकारको अभिनय, निर्देशकको कामको तारिफ गरेका थिए ।
अभिनेता हरिवंश आचार्यले नेपालमा कोरियन प्याटर्नको चलचित्र बनेको महशुस भएको बताए । ‘चलचित्र प्राविधिक रुपमा अत्यन्तै राम्रो छ । निर्देशक सुयोग गुरुङ, नायक अनमोल केसी, नायिका जसिता गुरुङको काम धेरै राम्रो छ । चलचित्रले युवा भाईबहिनीलाई झन राम्रो लाग्नेछ । उहाँहरुलाई मनपर्यो भने आफ्नो बुवाआमालाई पनि बोलाएर ल्याई हाल्नुहुन्छ’, उनले भने ।
अभिनेता तथा निर्माता हरिहर अधिकारीले चलचित्रले आफ्नो मन छोएको बताए । ‘चलचित्र पूर्ण व्यावसायिक र साइन्स फिक्सन भएकाले पनि केही नयाँ छ,’ उनले भने । निर्मात्री तथा अभिनेत्री निता ढुंगानाले चलचित्र नयाँ अवधारणामा बनेकाले दर्शकले हेर्न आवश्यक रहेको बताइन् । ‘निर्माताले पनि धेरै ठूलो रिस्क लिएर यो चलचित्र बनाउनुभएको छ । सामान्यतया व्यावसायिक चलचित्रहरु चलिरहेका हुन्छन्, हिट भइरहेका हुन्छन् । तर यो किसिमको चलचित्रलाई बनाउन धेरै गाह्रो हुन्छ । त्यसकारण नेपाली निर्मातालाई दर्शकले साथ दिनुपर्छ’, उनले भनिन् ।
अभिनेता वीरेन श्रेष्ठले प्रेमकथाका चलचित्र दर्शकले हेर्न नपाईरहेको समयमा ‘फर्की फर्की’ले त्यो तिर्सना मेटाउने बताए । ‘चलचित्रमा नयाँ प्रयोग पाएँ । अनमोलको अभिनय गज्जब लाग्यो । प्रेमकथा मनपराउने दर्शकका लागि त्यो एउटा स्वादिलो चलचित्र बन्नेछ’, उनले भने, ‘चलचित्रमा देखाइएको समयको कुराले जोकोहीलाई छुन्छ । दर्शकका लागि चलचित्रले एउटा मिठो सन्देश पनि दिएको छ ।’ अभिनेत्री सुरक्षा पन्तले चलचित्र आफूलाई मनपरेको बताइन् । ‘बुलिङबाट स्टोरी बिल्ड अप भएको रहेछ । क्लाइमेक्सको टाइमिङ मनपर्यो । कलाकारको अभिनयमा कुनै खोट लगाउन छैन’, उनले भनिन् ।
निर्देशक वसन्त निरौलाले युवापुस्ताका लागि समय सापेक्षको चलचित्र बनेको बताए । ‘चलचित्रको मेकिङ, कलाकारको अभिनय, पाश्र्व संगीत, कथा, लोकेसन हरेक हिसाबले चलचित्र उत्कृष्ट बनेको छ’, उनले भने । निर्माता सुनिलकुमार थापाले ठूलो क्यानभासमा चलचित्र एकदमै राम्रो बनेको बताए । ‘निर्माताले दिल खोलेर चलचित्र बनाउनुभएको छ । निर्देशकले पनि राम्रो काम गर्नुभएको छ । छायांकन राम्रो छ । अनमोलको अभिनय ‘वाह’ नै छ । अन्य कलाकारको काम पनि अब्बल छ’, उनले भने ।
निर्देशक झरना थापाले अनमोलको अभिनय निखारिएकोमा खुशी व्यक्त गरिन् । ‘अनमोलको अभिनयमा धेरै सुधार भएको महशुस गरें । सबै पक्षले चलचित्र अब्बल छ’, उनले भनिन् । चलचित्रमा विशेष भूमिकामा देखिएका अभिनेता सलोन बस्नेतले चलचित्रले दर्शकलाई फ्रेसनेस दिने बताए । ‘नेपाली चलचित्रको इतिहासमा सायदै पहिलोपटक टाइम लुपको कथामा चलचित्र बनिरहेको छ । दर्शकले इन्जोय गर्नुहुनेछ’, उनले भने ।
अभिनेता सलिनमान बनियाँले चलचित्र आफ्ना लागि ‘अमेजिङ’ रहेको बताए । ‘चलचित्रमा टाइम लुपको कन्सेप्ट छ । सुरुदेखि अन्त्यसम्म राम्रो लाग्यो । मैले अनमोलको होस्टेलदेखि फर्की फर्कीसम्म आउँदै सबै चलचित्र हलमा नै हेरेको छु । फर्की फर्कीसम्म आइपुग्दा उसको अभिनय उत्कृष्ट छ’, उनले भने ।
चलचित्रका अभिनेता अनमोल केसीले हल भरिएका कारण आफूले चलचित्र हेर्न नपाए पनि चलचित्र हेर्नेको प्रतिक्रिया उत्कृष्ट पाएको बताए । ‘सबैजनाले राम्रो भन्नुभयो । मेयर बालेन दाई(बालेन शाह)ले पुरै चलचित्र हेरेर जानु भयो । त्यो हाम्रो ठूलो उपलब्धी हो’, उनले भने । अभिनेत्री जसिता गुरुङले आफूले ‘भयंकर’ प्रतिक्रिया पाएको बताइन् । ‘चलचित्रमा भएको टाइम लुपको कन्सेप्टमा जुन रेस्पोन्स आएको छ, त्यो एकदमै राम्रो छ’, उने भनिन् ।
चलचित्र हेर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दीपाश्री निरौला, निर्माता तथा अभिनेता दीपकराज गिरीलगायत पनि हल पुगेका थिए ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





