Bulaki

Feature Film DramaApr 14, 2023Hall Release

News

‘बुलाकी’लाई लिएर उत्साहित नरेन

लेन्सनेपाल २०७९ चैत्र २७
‘बुलाकी’लाई लिएर उत्साहित नरेन

‘बुलाकी’का मुख्य पात्र नरेन खड्का चलचित्रलाई लिएर निकै उत्साहित छन् । डेब्यू चलचित्र ‘हमेशा’ पछि पहिलो पटक शशक्त भूमिकामा ‘बुलाकी’मा काम गरेको उनको दाबी छ । चलचित्र प्रदर्शन मिति नजिकिदै गर्दा प्रचार प्रसारमा दौडधुप गरिरहेका खड्का ‘बुलाकी’ एक उत्कृष्ट चलचित्र बनेको भन्दै दर्शकको मन जित्नेमा बिश्वस्त देखिए ।

केही भोजपुरी चलचित्रमा समेत काम गरिसकेका खड्का चलचित्रको कथाबस्तु र परिवेशले आफुलाई आकर्षण गरेका कारण ‘बुलाकी’मा आवद्ध भएको बताउँछन् । राम्रो काम गर्दा गर्दै पनि दर्शकको नजरमा खासै नपरेका खड्का यो चलचित्रबाट भने सफलताको स्वाद चाख्नेमा निकै आशाबादी छन् । अभिनय क्षमता भएर पनि खड्काले काम गरेका चलचित्रले दर्शकको साथ नपाउनु तथा उनले छनोट गरेका कतिपय चलचित्र नै गलत पर्नु पनि उनी चाहे अनुरुप सफल नहुनुको कारण थिए । यसपटक भने आफुले हरेक पक्षमा ध्यान दिएको र चलचित्र पनि राम्रो बनेको खड्का बताउँछन् । ‘कतिपय अवस्थामा मेरो पनि आफ्नै कमजोरी छ । मैले केही प्रोजेक्टहरूमा आफूलाई हेलचेक्र्याई पनि गरेँ । तर, बुलाकीबाट दर्शकले मलाई र मेरो अभिनयलाई पहिचान गर्नुहुन्छ भन्ने अपेक्षा छ, उनी भन्छन् ।

‘बुलाकी’ मा अभिनेता खड्काले कर्णाली प्रदेशको एक साधारण युवक चन्द्रयाको भूमिका निवार्ह गरेका छन्, जो विवाहित छन् । विवाह गरेको लामो समयसम्म पनि निःसन्तान भएका कारण श्रीमतीसँग सम्बन्ध राम्रो छैन । खेती–किसानी गरेर आमा र श्रीमतीको खर्च जोहो गरिरहेका छन् ।

शुक्रबार बाट प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक प्रचार सामाग्री हेर्दा अभिनेत्री सुरक्षा पन्तसँगै अभिनेता खड्काले पनि उत्कृष्ट काम गरेको अनुमान गर्न सकिन्छ । अभिनेता खड्का आफैँ पनि सुदुरपश्चिममा जन्मि–हुर्केका हुनाले कर्णाली प्रदेशको एक साधारण युवकको भूमिकामा काम गर्न सहज भएको बताउँछन् । उनी भन्छन्– ‘बुलाकी मेरो कमब्याक चलचित्र हुनेछ ।’

‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह–अवरोहलाई प्रस्तुत गरिएको अभिनेता खड्काको भनाइ छ ।

चलचित्र अभिनेता खड्का तथा अभिनेत्री पन्तसंगै बिराज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइ, प्रकाश कँडेल र सरस्वती खत्री अभिनय गरेका छन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व. मोति बिष्टको प्रस्तुति रहेको यो  चलचित्रलाई लक्ष्ण सुनारले निर्देशन गरेका हुन् ।