Aama

UA Feature Film Drama, PatrioticOct 01, 1965Hall Release

News

पहिलो नेपाली चलचित्र ‘आमा’को कथा

बिष्णु सुबेदी २०८२ श्रावन २७
पहिलो नेपाली चलचित्र ‘आमा’को कथा
चलचित्र 'आमा'का बिभिन्न दृष्यमा अभिनय गर्दै कलाकारहरु

नेपाल भित्रै निर्माण गरिएको पहिलो नेपाली चलचित्र हो ‘आमा’ । २०२१ सालमा निर्माण आरम्भ गरिएको चलचित्र ‘आमा’लाई तत्कालिन श्री ५ को सरकार राष्ट्रिय निर्देशन मन्त्रालय अन्र्तगतको प्रचार प्रसार बिभागले निर्माण गरेको हो । चलचित्र ‘आमा’ निर्माणको समयमा देशमा पञ्चायती व्यवस्था लागु थियो । सरकारकै लगानीमा बनेको यो चलचित्रको कथा पञ्चायती व्यवस्थको पक्षमा रचिएको थियो । पञ्चायती व्यस्थाकै गुणगान चलचित्रले गाएको छ । चलचित्रमा नेपाललाई आमाको रुपमा चित्रण गर्दै देशप्रेमको भावनालाई देखाइएको छ । चलचित्र बिकास बोर्डको पुस्तक ‘नेपाली चलचित्रको इतिहास’मा यो चलचित्रको निर्माण लागत दुई लाख रुपैयाँ भन्दा बढी उल्लेख छ ।

चलचित्रको छायाँकन नेपालमा गरिए पनि पोष्टप्रोडक्सनको सबै कामहरु भारतमा नै गरिएको थियो । ‘आमा’को सम्पादन, डबिङ्, मिक्सिङ्ग, धुलाई, छपाई, नेगेटिभ एनालाइजिङ् जस्ता सबै कामहरू भारतको कलकत्तामा भएका थिए । चलचित्र व्ल्याक एण्ड ह्वाइट हो ।

हिरासिंह खत्रीद्वारा निर्देशित चलचित्रको मुख्य भुमिकामा शिवशंकर मानन्धर र भुवन थापा (चन्द)को अभिनय रहेको छ । उनीहरुका अलवा बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हरिप्रसाद रिमाल, उत्तम नेपाली, इन्द्र लाल श्रेष्ठ, दुर्गाप्रसाद श्रेष्ठ, भीम गुरुङ, यदुकुमारी तथा निर्देशक हीरासिंह खत्री स्वयम्को पनि अभिनय रहेको छ । चलचित्रमा नायक शिवशंकरको आमाको भुमिकामा चैत्यदेवी सिंहले अभिनय गरेका कारण कतिपयले उनैले शिर्ष भूमिकामा अभिनय गरेको समेत भन्ने गरेका छन् । यद्यपी चलचित्रमा आमाका रुपमा नेपाललाई चित्रण गरिएका कारण चैत्यदेवीले निर्वाह गरेको आमाको भूमिका शिर्ष पात्र भने होइन ।
साहित्यमा म.वि.वि. शाहका नामले परिचित तत्कालिन राजा महेन्द्र बिरबिक्रम शाहदेवको समेत गीत समावेश चलचित्रमा अर्का गीतकार लक्ष्मण लोहनीको समेत गीत रचना रहेको छ । चलचित्रका गीतमा भी. बलसाराको संगीत र शिवशंकर मानन्धर र तारादेवीको स्वर रहेको छ । चलचित्रको कथा, पटकथा र सम्बाद दुर्गाप्रसाद श्रेष्ठले लेखेका हुन् । उक्त समय नेपालमा चलचित्र उपकरण र प्राबिधिकहरुको अभाव थियो । यसअर्थ ‘आमा’को छायाँकनका लागि आवश्यक उपकरणहरु भारतबाट भाडामा ल्याइएको थियो । देउजी भाइले चलचित्रको छायाँकन गरेका हुन् भने सम्पादन हरिश पठारेले गरेका हुन् । चलचित्रमा संलग्न प्रायः प्राबिधिकहरु भारतिय थिए ।

चलचित्र ‘आमा’ २०२२ साल असोज १५ गते पहिलो पटक प्रदर्शन भएको हो । तत्कालीन ‘रञ्जना सिनेमा’ हलबाट चलचित्रको प्रदर्शनी आरम्भ गरिएको थियो । यो हलमा करिब एक महिना सम्म प्रदर्शन भएपछि उपत्यका भित्रका अन्य हलहरुमा पालै पालो गरेर तीन महिना सम्म प्रदर्शन गरिएको ‘नेपाली चलचित्रको इतिहास’नामक पुस्तकमा उल्लेख छ ।

उपत्यकाका सबै सिनेमा घरमा चलाइसकेपछि उपत्यका बाहिरका हलहरूमा पनि अनिवार्य रुपमा प्रदर्शन गराइएको थियो । तर, देशका सीमित शहरमा सीमित संख्यामा मात्र चलचित्र हलहरू भएकाले सबै नेपालीको पहुँच थिएन । जसका कारण तत्कालीन राष्ट्रिय निर्देशन मन्त्रालय अन्तर्गतको प्रचार प्रसार विभागले बिभिन्न जिल्लाका दुर्गम कुनाकाप्चातिर समेत प्रोजेक्टर, पर्दा, जेनेरेटर आदि बोकाएर चलचित्रको प्रदर्शन गराएको थियो । विदेशी खासगरी हिन्दी चलचित्र मात्र हेर्न पाएका नेपाली दर्शकहरू पहिलो पटक नेपाली कलाकारले आफ्नै भाषामा बोलेको सुन्न र देख्न पाउँदा उत्साहित हुनु स्वभाविक थियो । यद्यपी चलचित्रमा धेरै नाटकिय पक्षहरु अस्वभाविक रुपमा समावेश भएको समेत जनाइन्छ । यसो हुनुमा निर्देशक हिरा सिंह खत्रीको निर्देशनमा भारतिय चलचित्रको प्रभाव पर्नुलाई कारक मानिन्छ । यद्यपी नेपालकै नेपालकै सामाजिक कथा, दृष्य, भाषा र वातावरणका साथै कलाकारको पहिरन समेतले आफ्नो पनको आभाष दिलाएको थियो । यसरी ‘आमा’ले नेपाली चलचित्रको जग बसाल्ने काम गर्यो ।

नेपाल सरकार सञ्चार तथा सूचना प्रबिधी मन्त्रालयले २०८२ सालमा चलचित्र ‘आमा’ सार्वजनिक प्रदर्शनमा आएको दिन असोज १५ लाई राष्ट्रिय चलचित्र दिवस घोषणा गरेको छ । साथै २०८२ असार १६ गते चलचित्र बिकास बोर्डको रजत जयन्तिको अवसर पारि चलचित्र आमाको पोष्टर अंकित हुलाक टिकट समेत सार्वजनिक गरिएको छ ।