Dipendra K. Khanal   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

मिथिलाको १०१ औं चलचित्र 'आमा' जीवनको दोश्रो टर्निङ

बिष्णु सुबेदी २०७६ फागुन ७
मिथिलाको १०१ औं चलचित्र 'आमा' जीवनको दोश्रो टर्निङ

जीवन्त अभिनयका लागि परिचित अभिनेत्री हुन् मिथिला शर्मा । शर्माले पर्दामा कयौं चरित्र निभाईसकेकी छिन । छोरी, दिदी, बहिनी, भाउजु, बुहारी, श्रीमती, आमा, हजुर आमा........

आफूले पाएको भूमिकालाई जीवन्त बनाउने यि अभिनेत्रीले आफ्नो अभिनयकला मार्फत थुप्रै दर्शकहरुको मन जितेकी छिन् । आम नेपालीको कथालाई जीवन्त उतारेकी छिन । सन् १९८६ को चलचित्र ‘बिश्वास’बाट अभिनय यात्रा थालनी गरेपनि त्यो भन्दा अघि चलचित्र ‘अर्को जन्म’ १९८५ मा प्रदर्शनमा आएको थियो । यो विचमा शर्माले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन । लेन्सनेपालको रेकर्ड अनुसार शर्मा अभिनित १ सय वटा चलचित्र प्रदर्शन भइसकेका छन् । ‘आमा’ १०१ नम्बरको चलचित्र हो ।

चलचित्र ‘सुख–दुःख’बाट अभिनयमा अमिट छाप छोड्दै अघि बढेकी यि अभिनेत्रीले सन् १९९२ को चलचित्र ’दिदी‘लाई आफ्नो पहिलो टर्निङ मान्छिन् । प्रताप सुब्बा निर्देशित यो चलचित्र पछि शर्मालाई धेरैले दिदी भनेर सम्बोधन गर्न थाले । यो बिचमा शर्माले थुप्रै चलचित्रमा आमाको भुमिकामा काम गरेकी छिन् । सन् २००४ को चलचित्र 'मेरी आमा'मा पनि उनी शिर्ष भुमिकामा नै थिइन । तर, रबी अर्याल निर्देशित यो चलचित्रले शर्मालाई आमाका रुपमा स्थापित गर्न भने सकेन ।

यतिबेला चलचित्र 'आमा'को प्रमोशनका लागि व्यस्त अभिनेत्री शर्माले आफुले यो चलचित्रमा काम गर्न पाउनु सौभाग्यकै कुरा भएको बताइन । यति मात्र होइन की उनले 'आमा' आफ्नो जीवनको दोस्रो टर्निङ पोइन्ट रहेको समेत जनाइन । दर्शक तथा चलचित्रकर्मीहरुले ‘दिदी’ पछि शर्मालाई दिदी भनेर सम्बोधन गर्न थालेका थिए । ‘आमा’ प्रदर्शन अगावै चलचित्रकर्मीहरुले आमा भन्न थालेका छन् । अब दर्शकले पनि आमाकै रुपमा चिन्ने उनको बिश्वास छ ।

चलचित्रको शिर्ष भुमिका निभाउनु चानचुने चुनौति पक्कै होइन । चलचित्रलाई आफ्नो काँधमा बोक्नु पर्छ अभिनय कौशलताको मार्फत । जुन कार्यमा शर्मा सफल छिन भनेर बिश्वास गर्न सकिन्छ । आमाको ट्रेलर र गीतले पाएको दर्शक प्रतिक्रियाले पनि चलचित्रका प्रति दर्शकको प्रतिक्षा व्यग्र छ भन्न सकिन्छ । त्यो आशा अनुरुपकै चलचित्र बनेको रहेछ भने पक्कै पनि शर्माले भने झै उनलाई दर्शकहरुले आमा कै रुपमा चिन्नेछन् ।

त्यसो त शर्माका लागि ‘आमा’ भाग्य नै हो । यो भुमिकाका लागि पहिलो रोजाई सुर्यमाला खनाल थिइन । तर, उनले समय दिन नसकेपछि शर्मा अनुबन्धित भइन । शर्मा यसअर्थ पनि ‘आमा’ आफ्ना लागी भाग्यमात्र नभएर सौभाग्य नै भएको बताउँन पछि पर्दिनन् ।

चलचित्रलाई दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । पशुपति प्रसाद पछि त्यस्तै मन छुने चलचित्र बनाएको उनको भनाई छ । सुरक्षा पन्त शर्माको छोरीको भुमिकामा छिन । आफ्नो पात्रलाई न्याय गर्न उनले कपाल समेत खौरिएकी छिन । परिवार भन्दा कामलाई महत्व दिने छोरा भन्दा पहिला सन्तान बनेर अनि आमा बन्न चाहेकी छोरीको कथा समेत चलचित्र भन्न खोजेको छनक ट्रेलर दिन्छ । चलचित्र यही शुक्रवार अर्थात फागुन ९ गतेबाट प्रदर्शन हुँदैछ ।