Bhuwan K.C.   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

भुवन भन्छन् – अनमोल मेरो कव्जामा छैन, उसलाई प्रयोग गरेर पैसा कमाउन खोजेको पनि होइन

बिष्णु सुबेदी २०७५ फागुन ११
भुवन भन्छन् – अनमोल मेरो कव्जामा छैन, उसलाई प्रयोग गरेर पैसा कमाउन खोजेको पनि होइन

हुन त डेव्यु चलचित्र होस्टेलबाट नै युवा पुस्ता माझ अनमोल केसीको क्रेज देखिएको थियो । होस्टेल र त्यसपछि आएको जेरीले अनमोललाई सफलता मात्र दिएनन् युवा पुस्तामाझ चर्चित पनि बनायो । जेरी प्रदर्शनको पहिलो शो मै कलेज ड्रेसमा चलचित्र हेर्न आएका बिद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमै लिन पर्यो । यो घटनाले पनि युवापुस्ता माझ उनको लोकप्रियताको एउटा मापन गर्न सकिन्थ्यो ।

दुई चलचित्रले दिएको सफलतासँगै लोकप्रिय भएका अनमोलको तेस्रो चलचित्र ड्रिम्स प्रदर्शनको समयमा स्टार भ्यालु देखिन थाल्यो । त्यो वर्षको सबै भन्दा बढी कमाउने चलचित्र पनि ड्रिम्स नै बन्यो । अनमोल सार्वजनिक कार्यक्रममा बडीगार्ड बिना निस्कनै नसक्ने भए । उनको क्रेज चुलिदै गयो । त्यो क्रेज अहिले सम्म पनि कायम छ ।

जब अनमोलको चर्को क्रेज देखिन थाल्यो, जब अनमोलका चलचित्रले बक्स अफिसमा एकपछि अर्को सफलता प्राप्त गर्न थाले तब चलचित्रकर्मीहरु उनलाई एउटा चलचित्र खेलेको ५० लाख सम्म दिन तयार भए । पारिश्रमिकको कुरा गर्दा अहिले अनमोलको बजार रेट ५० लाख हो । केही वर्ष अघि सम्म कुल ५० लाखको बजेटमा चलचित्र तयार हुन्थे तर, अहिले एउटै नायकले ५० लाख पारिश्रमिक बुझ्छन् ।

यति धेरै क्रेज र डिमाण्ड देखिएका नायक अनमोल निकै सेलेक्टेड चलचित्रमा मात्र काम गर्छन । फागुन ७ गते प्रदर्शन हुने क्याप्टेन र चैत्र २९ गते प्रदर्शन हुने ए मेरो हजुर ३ समेतलाई जोड्दा उनले नायकको रुपमा जम्मा ७ चलचित्रमा काम गरेका छन् । यो आँकडा झण्डै वर्षको एउटा हुन आँउछ । त्यस मध्ये होम प्रोडक्सनको व्यानरमा ३ चलचित्रमा काम गरेका छन् । त्यसमा पनि एउटा चलचित्र बाहिरी व्यानरसँगको सहकार्य थियो ।

संख्याका हिसाबले बाहिरी व्यानरका चलचित्र धेरै भएपनि अनमोल पिता नायक तथा निर्माता भुवन केसी माथी एउटा आरोप लाग्ने गरेको छ । त्यो हो उनले अनमोलको क्रेजलाई आफै क्यास गर्न खोजेका छन् । होम प्रोडक्सनमै अनमोललाई राखेर आफै कमाउन खोजेका छन् । यसै साताको एक भेटमा हामीले अनमोल र भुवन सक्षम यही आरोप बारे कुरा गर्यौ । जहाँ भुवन र अनमोल दुबैले यो कुरालाई नकारे ।

भुवनले पनि यो कुरा नसुनेका होइनन् । तर, उनी यो आरोपमा कुनै सत्यता नभएको बताउँछन् । बाहिर राम्रो डिमाण्ड छ, अनमोलका चलचित्रले निर्मातालाई राम्रो नाफा दिइरहेका छन्, यस्तो अवस्थामा घरकै चलचित्र खेलाउँदा अनमोलको पारिश्रमिक बच्ने मात्र होइन आफैले मात्र कमाउन खोजे भन्ने कुरा भुवनले सुनेका छन् । तर, भुवन होम प्रोडक्सनका चलचित्र अनमोलका लागि चुनौतिपूर्ण देख्छन् । चले कमायो घरमै राख्यो, नचले घरकै चलचित्रमा त चल्दैन भन्ने खालको टिका टिप्पणी पनि हुन सक्छ । यद्यपी उनी आफुहरु कुनै पनि दिन पैसाको पछि नलागेको जिकिर गर्छन । सधै राम्रो चलचित्र बनाउ वा खेलौं भन्ने आफ्नो पहिले देखिको चाहना भएको भुवनको भनाई छ । उनले आफ्नो पालामा पनि आफुले त्यही रणनीति अवलम्बन गरेका कारण अरुको तुलनामा कम तर, स्तरिय चलचित्र खेलेको भन्दै त्यही गुण अनमोलमा पनि भेटेको बताए । अनमोलको नेचर पनि पैसाको पछि लाग्ने खालको छैन । यदी पैसाकै पछि लाग्थ्यो भने उसले एकै वर्ष धेरै चलचित्रमा काम गर्न सक्थ्यो, अनमोलसँगै रहेका भुवनले थपे – ‘कुनै भुमिकामा आफु फिट हुन सक्दिन भनेर आइराखेको ५० लाख फिर्ता गर्ने कलाकार पनि उ मात्रै होला ।’

भुवनले आफुहरुले जहिले पनि उत्कृष्ट चलचित्र दिने कोसिस गरिरहेको बताइरहँदा अनमोलले ओभरल्याप गर्दै होम प्रोडक्सनका चलचित्रमा काम गर्नु गलत नभएको बताए । हुन त भुवन केसीले अनमोल स्टार हुनु पहिले देखिनै सफल चलचित्र निर्माण गरिसकेका छन् । अनमोलले त्यसैलाई आधार बनाएर भने – ‘हामी यही क्षेत्रमा छौं । हाम्रो काम नै चलचित्र खेल्ने र बनाउने हो । आफ्नो रोजिरोटिका लागि काम गर्ने हो । हामीले हाम्रो घरका लागि पनि त केही गर्न पर्यो, होइन र । टिमअप भएर घरका लागि पनि केही गर्नु गलत हो र ।’  निर्माताको पैसा नडुबोस् अनि चलचित्र पनि राम्रा बनुन भन्ने अनमोलको चाहना रहेको भन्दै भुवनले फेरी थपे – ‘अनमोलले लगातार चलचित्र खेलेर धेरै पैसा कमाउन सक्छ तर, हामीले स्तरिय चलचित्र बनाउने कोसिसमा किन रिक्स लिइरहेका छौ त ? राम्रो चलचित्र बनोस् भनेर नै त हो नी ।’

त्यसो त भुवनले अनमोललाई आफ्नो कव्जामा राखेको अनि चलचित्रकर्मीलाई सहजै भेट्न समेत नदिने आरोप पनि लाग्ने गरेको छ । अनमोल चलचित्रको प्रमोसनमा मात्र मिडिया माझ उपस्थित हुने, कम चलचित्र खेल्ने जस्ता कारण पनि यस्तो कुरा आएको हुन सक्छ । तर, भुवन केसी यो सबै कुरा बिल्कुल गलत भएको जिकिर गर्छन । अनमोल आफ्नो कब्जामा नभएको भन्दै उनले उसको आफ्नै कामका कारण आफ्नै पहिचान बनेको बताए । ४० वर्ष यो क्षेत्रमा बिताएका कारण एउटा बुबाले आफ्नो सन्तानलाई सल्लाह सुझाब दिनु स्वभाविक नै हो । भुवनले पनि त्यही गरेका छन् । तर, भुवन कुन चलचित्रमा काम गर्ने, कुनमा नगर्ने भन्ने कुराको अन्तिम निर्णय अनमोलमै रहेको बताउँछन् । भुवनले भने – ‘कुनै पनि प्रोजेक्टलाई लिएर बाबु छोराको सल्लाह हुन्छ, मैले उसलाई सुझाव पनि दिन्छु, कतिपय विषयमा उसले पनि मलाई सुझाब दिन्छ । तर, यसको अर्थ हो होइन की उसको निर्णय मैले गर्छु ।’ यत्तिकैमा अनमोल बोले – ‘घरमा बिहान बेलुका के तरकारी खाने भन्ने कुरामा त सल्लाह हुन्छ भने यो त चलचित्र हो ।’

त्यसो त कतिपय चलचित्रकर्मीसँग अनमोलको सम्पर्क नम्बर समेत नहुँदा भुवन मार्फत नै सम्पर्क गर्नुपर्ने अवस्था छ । भुवन मार्फत नै सम्पर्क स्थापित भई आउने चलचित्रको स्कृप्ट समेत भुवनले सुन्दैनन् रे । अनमोलले आफुलाई स्कृप्ट मन परेमा भुवनसँग सल्लाह भने गर्छन । किन कि स्कृप्टले मात्र पनि चलचित्र राम्रो बन्ने होइन । अनमोलले काम गर्ने भएकोले पहिला उ नै कन्भिन्स होस् भनेर आफु स्कृप्ट सुन्न पनि नबस्ने भुवनको भनाई छ । जब अनमोल कन्भिन्स हुन्छन् त्यसपछि भुवनसँग सल्लाह गर्छन । भुवन भन्छन् – ‘त्यो बेला मैले आफुलाई लागेको अनि आफले बुझेको कुरा उसलाई भन्छु र पनि चलचित्र गर्ने नगर्ने अन्तिम निर्णय उसैको हो ।’

अनमोल अभिनित चलचित्र क्याप्टेन आउने शुक्रबारबाट प्रदर्शन हुँदैछ । स्पोर्टस् जनराको यो चलचित्रमा अनमोल फुटबलरको भुमिकामा देखिएका छन् । गीतसंगीत र ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहदा क्याप्टेन प्रतिक्षित चलचित्र बनेको छ ।