बहुपति प्रथामा भोग्नु परेको समस्या नै ‘टुल्की’को कथा

२०८० जेष्ठ १०
बहुपति प्रथामा भोग्नु परेको समस्या नै ‘टुल्की’को कथा

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को अग्रीम टिकट बुकिङ खुल्ला भएको छ । आगामी जेठ १२ गते शुक्रबारदेखि प्रदर्शन हुन लागेको उक्त चलचित्रको आजदेखि टिकट बुकिङ खुला भएको हो । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी चलचित्र ‘टुल्की’ शुक्रबार देखि देशभर प्रदर्शन गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली क्षेत्रमा चली आएको बहुपति प्रथालाई चलचित्रमार्फत देखाइएको जानकारी दिए । चलचित्र डोल्पा जिल्लाको शे–फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको निर्माता लामाले बताए । पत्रकार सम्मेलनमा चलचित्र निर्देशक देव थापाले चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई उजागर गरिएको बताए ।

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ ।