Mansara

चलचित्रमा तीज, बिर्सनै नसकिने ‘तीजको लहर आयो बरी लै’

२०७५ भाद्र २७
चलचित्रमा तीज, बिर्सनै नसकिने ‘तीजको लहर आयो बरी लै’
तस्विर सौजन्य : तीज गीत यतै घमाइलो उतै घमाइलो...

“कन्यादान” चलचित्रको “तीजको लहर आयो बरी लै” शिर्षकको यो गीत करीब बीस–बाईस वर्ष अगाडिदेखि तीजको अवसरमा नियमित बजाईंदै आइरहेको गीत हो । बाघ निर्देशकका रुपमा कहलिएका स्व.प्रकाश थापाको यो चलचित्रमा प्रयोग गरिएको यो तीज गीत वास्तवमा एउटा कालजयी तीज गीत बनेको छ । तीजमा नारी दर्शकहरुको भीड उर्लने गर्दछ । त्यसैले यो अवसर छोप्न तँछाडमछाड गर्ने गर्छन् चलचित्र ब्यवसायीहरु । तीजलाई नेपाली चलचित्रको लागि राम्रो व्यवसायिक सिजन मान्ने चलचित्रकर्मीहरुका चलचित्रभित्र तीजको मर्म कति समाहित भएको छ ? यो प्रश्न सदैव उठ्ने गरेको छ ।

नेपाली चलचित्रलाई भारतको हिन्दी चलचित्रका ठिमाहा सन्तान पनि भन्ने गरीन्छ । हिन्दी चलचित्रहरु हेर्ने दर्शकहरुले उनीहरुका चलचित्रमा करवाचौथको महिमा र मर्मलाई कसरी कथामा पिरोलिएका हुन्छन् भन्ने कुरा देखेकै होलान् । करवाचौथ र तीजको संस्कार एउटै नहुन सक्छ । तर हेर्दा उस्तै उस्तै पनि लाग्ने गर्दछ । दुबै पर्वमा विवाहित नारीले आफ्नै पतिको सुस्वास्थ्य दीर्घायु र सफलताको कामना गरी ब्रत बस्ने गर्छन् । दुबै पर्वमा पतिको हातबाट पानी खाए पछिमात्र ब्रत पूर्ण हुने परम्परा छ । पर्वको महत्व समान छ । त्यत्तिमात्र नभई नेपाली चलचित्रको कथाको प्रेरणा स्रोत समेत हिन्दी चलचित्र नै हो । यत्ति हुँदै पनि नेपाली चलचित्रहरुमा तीजको प्रसङ्गले त्यत्ति बिघ्न ठाउँ पाइरहेको देखिंदैन ।

आजभन्दा बीसबाइस वर्ष अगाडि निर्देशक प्रकाश थापाले बनाएको “कन्यादान” चलचित्रमा प्रयोग गरिएको तीज गीतपछि त्यस्तो खालको सुमधुर तीज गीत सुन्न धेरै वर्ष पर्खनु पर्यो । बाल्य काल मै विवाह बन्धनमा बांधीएर बाल विधवा बन्न पुगेकी एउटी युवतीको सौभाग्य चिन्ह प्रतिको मोहलाई “कन्यादान” मा सशक्त रुपमा चित्रण गरिएको छ । त्यही मोहको प्रतीकको रुपमा तीज गीतको प्रयोग गरिएको छ । “कन्यादान” को बीस वर्षपछि त्यही गीतको छन्द र बोललाई सापटी लिइ एउटा नयाँ तीज गीत प्रकाशमा ल्याइएको छ । यसरी प्रकाशमा ल्याइएको नयाँ तीज गीत चलचित्र “सौभाग्य” को हो । “आउ साथी संगीनी नाचौं छमछमी” बोलको यो तीज गीतमा अभिनेत्री झरना थापाले छमछमी नाच्ने मौका पाएकी छिन् । आफ्नो एक दशक लामो चलचित्र जीवनमा करीब पाँच दर्जन चलचित्रमा अभिनय गरी सकेकी झरना थापाको तीज गीतमा अभिनय गर्ने इच्छा चलचित्र “सौभाग्य”मा आएर पूरा भएको छ । यसलाई उनले आफ्नो अभिनय जीवनको एउटा महत्वपूर्ण पक्षका रुपमा लिएकी छिन् । 

“कन्यादान” देखि “सौभाग्य” सम्मको यात्रामा अरु पनि केही चलचित्रमा तीज गीत वा तीजको प्रसङ्ग नराखिएको भने हैन । राखिएको छ । तर त्यत्ति चर्चामा भने आउन सकेनन् । यसलाई संजोग नै भन्नु पर्ला कि “सौभाग्य” संगसंगै प्रदर्शनमा आएको अर्को एउटा नेपाली चलचित्र “श्रीमान् श्रीमति”मा पनि तीजको प्रसङ्ग राखिएको छ । “श्रीमान् श्रीमति”मा श्रीकृष्ण श्रेष्ठ र सरीता लामिछानेले पति पत्नीको भुमिका निर्वाह गरेका छन् । यसमा सरीता लामिछानेले पतिबाट अपहेलित नारीको रुपमा अभिनय गरेकी छिन् । यसरी अपहेलित हुनु परे पनि तीजको दिन श्रीमान्को नाममा ब्रत बस्ने र ब्रत पूर्ण गर्न श्रीमान्को प्रतीक्षा गर्न संवेदनाले भरिएको प्रसङ्ग राखिएको छ । यसभन्दा अघि “कसलाई दिउँ यो जोवन” चलचित्रमा तीजको प्रसङ्गलाई हास्य प्रसङ्गको रुपमा राखिएको थियो ।

नायक दिलिप रायमाझीले आफू एउटै भएपनि दुई वटा अलग अलग व्यक्ति हुँ भनि झरना थापा र मेलिना मानन्धरसित बिहे गरेको हुन्छ । यसरी दुई महिलासित विवाह गरेका नायक तीजको दिन दुबै श्रीमतीको तीज ब्रत पूर्ण गर्ने समस्याबाट कसरी मुक्त हुन्छ भन्ने कुरालाई यो चलचित्रमा देखाइएको छ । यसरी तीजको प्रसङ्ग वा गीत प्रयोग गरिएका चलचित्रहरु मध्ये “मन मेरो मान्दैन” पनि एउटा हो । यो चलचित्रमा अभिनेत्री विपना थापाले तीज गीतमा नृत्य अभिनय गरेकी छिन् ।

यसरी केही नगण्य संख्याका चलचित्रमा तीजको गीत वा प्रसङ्ग भेटिन्छन् । तीजमात्र हैन नेपाली चलचित्रमा नेपालीहरुको कुनै पनि चाडपर्वको सटिक प्रयोग अहिलेसम्म भएको पाईंदैन । चाहे त्यो दशैं तिहार नै किन नहोस् । सायद यस्तै खालको अभावलाई मेट्न होला निर्देशक श्याम भट्टराईले “तीज” शिर्षकमा एउटा चलचित्र नै बनाउने घोषणा गरेका थिए । तीज कै दिन पारी पशुपति परीसरका “तीज” चलचित्रको शुटिङ्ग आरम्भ पनि गरेका थिए । पहिलो दिनको शुटिङ्गमा निर्देशककी श्रीमति रञ्जना शर्मा र अभिनेत्री अरुणिमा लम्सालले अभिनय गरेका थिए । तर यो “तीज” चलचित्र बन्न सकेन । 

पशुपति परीसरमा तीज कै दिन पहिलो छायाङ्कन गरिएको अर्को चलचित्र “आँसु” हो । निर्देशक तथा छायाङ्कार चन्द्रप्रकाश घिमिरेले बनाउन लागेको यस चलचित्रभित्र पनि तीजको प्रसङ्ग महत्वपूर्ण रुपमा रहने बताइएको थियो । पहिलो दिनको शुटिङ्गमा अभिनेत्री मौसमी मल्ल र नायक भुवन के.सी.ले अभिनय गरेका थिए । तर यो “आँसु” चलचित्र पनि बन्न सकेन । तीजको अवसर पारी चलचित्र रिलिज गर्न तँछाड मछाड गर्ने चलचित्र व्यवसायीहरुको मनमा तीज प्रसङ्गले किन छाप पार्न सकेन । यो बेग्लै चर्चाको विषय हो । तर अहिले भने केही चलचित्रहरुमा फाट्टफुट्टै भए पनि तीजलाई स्थान दिन थालिएको छ । नेपाली चलचित्रका नाम चलेकी नायिका रेखा थापा स्वयंको लगानीमा निर्माण भएको चलचित्र “अन्दाज”मा पनि एउटा तीज गीत राखिएको छ  रेखा थापासित लोकप्रिय गायिका निशा सुनारले समेत नृत्य अभिनय गरेको तीज गीतलाई पनि चलचित्र कै एक अंशको रुपमा आकर्षक रुपमा प्रस्तुत गरिकोछ । “पानी पनि खा छैन ननाचिनि भा छैन” बोलको यो गीतमा रेखा थापाले निशा सुनारसँग नाचेको दृश्य धेरैले मनपराएका पनि थिए ।

यस्तै निर्देशक शम्भु प्रधानले आफ्नो पछिल्लो चलचित्र “रंग वैजनी”मा पनि तीजको गीत समावेश गरेका छन् । “छड्के पोते रातो साडीे” बोलको गीतमा गरिमा पन्त र सुमिना घिमिरेले नृत्य गरेका छन् । यद्यपी यो गीतले पनि खासै चर्चा पाउन सकेन । गरिमा पन्तकै मुख्य भुमिका रहेको चलचित्र स्काउटमा पनि तीज गीत समावेश छ । “तीज आयो” बोलको गीतमा गरिमाकै नृत्य देख्न सकिन्छ ।

यस्तै अर्को चलचित्र “हाम्री चेली”मा पनि तीजको गीत समावेश गरिएको छ । चलचित्रमा पहिला तीजको गीत थिएन तर तीजकै अवसरमा चलचित्र प्रदर्शन हुने भएपछि यसमा तीज गीत समावेश गरिएको थियो ।

यसरी हेर्दा चलचित्रको पर्दामा तीजका गीत नृत्यहरु अत्यन्त मनपराइएको देखिन्छ तर पनि किन हो कुन्नि फिल्ममेकरहरुले तीजगीतको त्यत्ति धेरै प्रयोग गरेको देखिंदैन ।  अब आगामी दिनहरुमा तीज प्रसङ्ग र गीतहरु के कति हेर्न पाइने हो ? त्यो पनि प्रतिक्षाको नै विषय बनेको छ ।

Mahajatra