Mahajatra

‘रातो टिका निधारमा’ टिमले लगायो दृष्टिविहिन र अनाथ बालबालिकासँग टिका र जमरा

२०७६ असोज ९
‘रातो टिका निधारमा’ टिमले लगायो दृष्टिविहिन र अनाथ बालबालिकासँग टिका र जमरा

रातो टिका निधारमाको टिमले गोंगबुस्थित त्रिनेत्र फाउन्डेसनलाई सहयोग गरेको छ । फाउण्डेसनमा रहेका दृष्टिविहिन र अनाथ बालबालिकाहरुसँग आत्मियता साट्दै लत्ता कपडा उपहार प्रदान गरेको हो । सो अवसरमा कलाकारहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, रविन्द्र झा र निर्देशक अशोक शर्मासहितको टोलीले भोजनसमेत गराएको थियो । साथै दशैँको टिका र जमरा लगाएर खुसिको माहोल छरेको थियो । वेमेन्स रूम्स रिलोटेड (WRR) को सहकार्यमा असोज १० गते रिलिज हुने चलचित्रले फाउन्डेसनलाई सहयोग गरेको हो ।

पहिलो पटक सामाजिक कार्यमा सहभागी हुन पाउँदा साम्राज्ञी भावुक भइन । ‘मैले अहिलेसम्म यस्तो खालको सहयोग गरेकी थिइन् । पहिलो पटक आफ्नै हातले अशक्त बालबालिकाको निमित्त सानो सहयोग गर्न पाउँदा खुसि लागेको छ ।’ भावी दिनमा समाज सेवामा आउने योजना रहेको बताउदै साम्राज्ञीले सहि समयको पर्खाइमा रहेको बताइन । ‘सामाजिक कार्यमा लाग्नलाई पहिले त मनैदेखि तयार हुनु पर्दछ । त्यसैले अहिले नै सबै ठाउँमा हात हाल्ने अवस्था छैन । भावी दिनमा अवस्य पनि तनमन लगाएर सामाजिक कार्यमा हिड्नेछु ।

दशैँको छेकोमा अनाथ र अशक्त बालबालिकालाई सहयोग गर्दा निर्देशक अशोक शर्माले आफ्नो बाल्यकाल सम्झिए । ‘दशैँ भन्न वितिकै नयाँ कपडा र मिठो खानाको लागि सम्झिन्छौँ । मेरो बाल्यकालमा नयाँ कपडा लगाउन दशैँ नै कुर्नु पर्थ्यो । अहिले आएर दशैँको मुखमा सानो सहयोग गर्न पाउँदा आफुलाई भाग्यमानि ठान्छु ।’ निर्देशक शर्माले भावुक स्वरमा भने ।

यस्तै ‘रातो टिका निधारमा’बाट डेब्यु गरेका अंकित शर्माले यस्तो खालको सहयोगले मनमा सन्तुष्टि मिल्ने बताए । ‘कुनै बेला कपडा लगाउन दशैँ कुर्ने मेरो बुबाले हामीलाई यस्तो अभाव हुन दिनु भएन । तर, आज आएर असहायहरुलाई सहयोग गर्न पाउँदा मनैदेखि सन्तुष्ट भएको छु ।’ अंकितले भने ।

अभिनेता रविन्द्र झाले पनि आफ्नो सानो सहयोगले कसैको जीवनमा ठुलो खुसि ल्याउने राय व्यक्त गरे । ‘यसपटकको दशैँ ‘रातो टिका निधारमा’ विशेष हुनेछ । हामीले सम्पूर्ण नेपालीको कथा बोकेर आएका छौँ । आशा छ, हाम्रो चलचित्रले सबैलाई समेट्ने छ ।’ झाले भने ।

किरण शर्मा र कृति शर्माले निर्माण गरेको ‘रातो टिका निधारमा’ले वैदेशिक रोजगारको कथा उठाएको छ । रोजगारका कारण दशैँमा घर फर्किन नसकेका नेपालीको कथा सिनेमाले भन्नेछ ।