‘परस्त्री’को पोस्टर सार्वजनिक

२०८० बैशाख २२
‘परस्त्री’को पोस्टर सार्वजनिक

चलचित्र ‘परस्त्री’को पोस्टर सार्वजनिक गरिएको छ । असार १५ गतेबाट प्रदर्शनमा आउने चलचित्रका मुख्य कलाकाहरुलाई फिचर्ड गर्दै ४ वटा पोष्टर सार्वजनिक गरिएको हो । पोस्टरमा मुख्य कलाकार कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्ट फिचर्ड छन् ।

सार्वजनिक ३ पोस्टरमा अभिनेत्री शिल्पा मास्केलाई स्थान दिइएको छ भने एक पोस्टरमा कोशिस र गौरव  छन् । चलचित्रमा अलिसा क्षेत्री, आशान्त शर्माको पनि अभिनय रहेको छ ।
 
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको चलचित्र काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो । सुरज पाण्डेले निर्देशन गरेको चलचित्रमा दीपेन्द्र के खनालको लेखन र निरज कडेलको छायांकन रहेको छ ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रका निर्मातामा शर्मिला पाण्डे र दीपेन्द्र के खनाल रहेका छन् । नेपालीसँगै हिन्दीमा भाषमा पनि रिलिज हुने चलचित्रको हाल भारतको मुम्बईमा प्राविधिक काम भइरहेको छ ।