आफ्नै मुद्दासँग जोडेर पलले ल्याए ‘तिमीलाई हेर्ने बानी पर्‍यो’

२०८० बैशाख २८
आफ्नै मुद्दासँग जोडेर पलले ल्याए ‘तिमीलाई हेर्ने बानी पर्‍यो’

नाबालिक बलात्कार अभियोगमा सफाइ पाएपछि पल शाहले अभिनय गरेको म्युजिक भिडियो ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ सार्वजनिक गरिएको छ । 

पल शाहकै कथा तथा निर्देशन रहेको भिडियोमा उनले आत्मसमर्पण गरे देखि छुटे सम्मको कथालाई प्रस्तुत गरेर उनकैै मुद्दासँग जोडिएको छ । आत्मसर्पण गरेर पललाई प्रहरीले अदालत लैजाँदाको दृष्य जस्ताको तस्तै उतार्न खोजिएको छ । उक्त दृष्यमा पल त्यही पहिरनमा छन्, जुन पहिरनमा उनी त्यसबेला अदालत लैजाँदा थिए ।

पलको रिहाइका लागि मन्दिर, मस्जिददेखि गुम्बासम्म प्रार्थना गरिएको दृष्य पनि समावेश गरिएको छ । उक्त दृष्यले भने बालकालिका तथा धर्मगुरुहरु बलात्कार जस्तो जगन्य अपराधको आरोपितको पक्षमा प्रार्थना गर्छन भन्ने गलत सन्देश दिएको छ । पलले आफ्नो पक्षमा सहानुभूति बटुल्न यस्ता केही दृष्यहरु भिडियोमा प्रयोग गरेको सहजै बुझ्न सकिन्छ । पल जेलबाट निस्किएपछि आफन्त र शुभचिन्तकले फुलमाला लगाएर स्वागत गरेको, आमाले आरती उतारेको दृष्यहरु पनि भिडियोमा छन् । जुन वास्तविक जीवनसँग मेल खान्छन् ।

प्रेमिल भावको गीतमा पलको प्रेमिकाको भूमिकामा सनिशा भट्टराईले अभिनय गरेकी छन् । उनलाई कुरी बसेकी प्रेमिका सँगको मिलनसँगै भिडियो सकिएको छ । वास्तविक जीवनका धेरै घटना भिडियोमा मेल खाएका कारण पलकी कुन प्रमिकाको भूमिकामा सनिशाले अभिनय गरेकी हुन त्यो भने यसै भन्न सकिने अवस्था भएन ।

पलको बुवाको भूमिकामा प्रकाश अधिकारी, आमाको भूमिकामा सुर्यमाला खनाल र बहिनीको भूमिकामा प्रिन्सु तिवारीले अभिनय गरेका छन् । 

अनु चौधरीको स्वर रहेको गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत रहेको छ । गीतको पुरुष भर्सनलाई पुष्पन प्रधानले नै गाएका थिए ।