६ दिन पछि सञ्चालनमा आए चलचित्र हल

२०८२ भाद्र ३०
६ दिन पछि सञ्चालनमा आए चलचित्र हल

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण बन्द भएका चलचित्र हल आजबाट खुलेका छन् । नेपाल चलचित्र संघको आइतबार बसेको बैठकको निर्णय अनुसार हलहरु सञ्चालनमा आएका हुन् । 

जेनजीको आन्दोलनका कारण मंगलबार देखि ६ दिन सम्म चलचित्र हलहरु बन्द थिए । संघका अध्यक्ष नरेन्द्र महर्जनले सुरक्षा सतर्कता अपनाउँदै हल खोल्ने निर्णय भएको जानकारी दिए ।

आन्दोलनको क्रममा आगजनी हुँदा क्षतिग्रस्त बनेको विराटनगरको क्यूएफएक्स हलबाहेक अरु हलहरू सञ्चालनमा आएका हुन् । विराटनगरको क्यूएफएक्स हल जलेर पूर्ण रूपमा ध्वस्त भएको छ, जुन १५ करोडको लागतमा बनेको थियो । योसहित अन्य चारवटा हलमा पनि आगजनी र तोडफोड हुँदा १७ करोडको क्षति भएको संघले जनाएको छ ।

हल सञ्चालनमा आएसँगै ‘रिमै’, ‘कोशेढुंगा’, ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’, ‘मोहर’, ‘गुन्यो चोलो’, ‘बागी ४’ लगायतका चलचित्रको प्रदर्शनलाई निरतन्तरता दिइएको छ । बिभिन्न हलहरुले आइतबार नै उक्त चलचित्रको शो खोलेका थिए ।