Harsh
PR Banner

‘मन बिनाको धन’ अधिकांश शोहरु हाउसफूल

२०८२ कार्तिक २१
‘मन बिनाको धन’ अधिकांश शोहरु हाउसफूल

चलचित्र ‘मन बिनाको धन’ले सुखद सुरुवात गरेको छ । आजबाट प्रदर्शनमा आएको चलचित्रका अधिकांश शोहरु हाउसफूल छन् । चलचित्रले तुलनात्मक रुपमा कम शो पाएको छ । यद्यपी प्राप्त शोको अकुपेन्सी अब्बल छ ।

गायक अशोक दर्जीको जीवनकथामा आधारित चलचित्रले उनको संघर्ष र सफलताको कथा पेश गरेको छ ।  ‘कथा जिरो देखि हिरो सम्मको’ ट्याग लाइन दिइएको चलचित्रले अशोकले सडकमा बसेर गीत गाउँदै बटुवासँग पैसा मागेको दृश्य देखि सुपरस्टार सम्मको कथा प्रस्तुत गरेको छ ।

चलचित्रले देखाएको मानवियता र भावनात्मक पक्षलाई दर्शकहरुले रुचाएका छन् । बिहानी शोमा चलचित्र हेरेका दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । बर्ड अफ माउथ बलियो हुँदै गएमा चलचित्रको ब्यापार थप बढ्ने आशा गर्न सकिन्छ ।

बाटोमा गीत गाउदै माग्दै हिड्ने अशोकलाई संगीतकार टंक बुढाथोकीले अभिभावकत्व प्रदान गरेका थिए । टंककै संगीतमा पहिलो पटक ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत रेकर्ड गरेपछि अशोकको जीवन परिवर्तन भएको थियो । टंककै संरक्षणमा रहेका अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।

प्रेम, हाँसो, रोदन र खुसीको मिश्रण चलचित्रमा देखिन्छ । संगीतकार टंक बुढथोकीकै निर्देशन रहेको चलचित्रमा अशोकसहित सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, सन्तोष पन्त, रमा थपलिया, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत लगायतको अभिनय रहेको छ । टंककै कथा रहेको चलचित्रको पटकथा शिवम् अधिकारीले लेखेका हुन् ।

चलचित्रमा सौरभ लामाको छायांकन, मित्र डि. गुरुङको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र निर्देशक टंककै संगीत रहेको छ । बिष्णु माया मैनाली निर्माता रहेको चलचित्रका सह निर्मातामा जी.पी. सग्रौला, विवेक नेपाल र विजया पाण्डे तथा कार्यकारी निर्मातामा सपना शर्मा रहेका छन् ।