Mahajatra

२० वर्षपछि आयो फेरि कुनै जादु

२०७७ भाद्र २८

लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले २० वर्षअघिको आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार पारी सार्वजनिक गरेको छ । २० वर्षअघि नै सार्वजनिक भई लोकप्रियता कमाउन सफल व्याण्डको कुनै जादु बोलको गीत अनप्लग्ड भर्सनमा आएको हो ।

अमेरिकामा रहँदै आएका व्याण्डका भोकलिष्ट प्रइन सिंहले लकडाउनको समयलाई सदुपयोग गर्दै स्टुडियोमा एक्लै बसेर कुनै जादु बोलको सो गीत यत्तिकै पियानो बजाएर गाई साथीहरुलाई पठाउँदा सबैले मन पराई पियानोमा त झनै राम्रो सुनियो भन्दै सार्वजनिक गर्न सल्लाह दिएपछि उनले पियानोको भरमा गाएको गीत युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।  यो गीत पहिला नसुनेका मानिसहरुले पनि कस्तो राम्रो भनेपछि प्रइनसँगै व्याण्डका सदस्यहरु उत्साहित हुँदै युट्युबमार्फत लिरिकल भिडियोका रुपमा यसको नयाँ भर्सन सार्वजनिक गरिएको हो । २० वर्षअगाडि चलेका गीत नयाँ पुस्तालाई पनि सुनाउनु पर्छ भनेर युट्युबमा नयाँ भर्सन अपलोड गरेको भोकलिष्ट प्रइनले सुनाए । यो गीत द भाइब्ज व्याण्डका भोकलिष्ट प्रइनको पहिलो कम्पोजिशन थियो । प्रइन माइक्रोसफ्टमा हटमेल इन्जियिनरका रुपमा कार्यरत छन् । उनको दाजुभाई नै संगीतकर्मी हुन् । उनका दाई मनोज सिंह ग्रामी अवार्ड मनोनयनमा पर्न सफल संगीतकर्मीसमेत हुन् । द भाइब्ज व्याण्डका हरेक गीतमा मनोजले नै बाँसुरी वादन गर्दै आएका छन् । २ दशकअघिको यो गीत अर्चना श्रेष्ठले रचना गरेकी हुन् । सगीत पनि प्रइनको हो ।

द भाइब्ज व्याण्ड अमेरिकाको सन्त रोसामा रहेका उत्साहित सांगितीक युवाहरुले स्थापना गरेको व्याण्ड हो । व्याण्डले गठन भएको ४ वर्षको मेहनतपछि स्तरिय नेपाली रक गीत संगीतहरुलाई समावेश गरेर पहिलोपटक सन् २००९ मा द भाइब्ज जेनेरेशनको नाममा रक गिती अडियो एलबम सार्वजनिक गरेको थियो । पहिलो एलबमबाटै वाहवाही पाए पनि व्याण्डले दोस्रो एलबम सार्वजनिक गर्नका लागि अर्को ४ वर्ष कु¥यो र सन् २०१३ मा दोस्रो एलबम को हुँ म बजारमा ल्यायो । पहिलो एलबम ल्याएलगत्तै सन् २००९ को हिट्स एफएम अवार्ड र इमेज अवार्ड चुमिसकेको द भाइव्ज व्याण्ड संगीत क्षेत्रमा केही गर्ने उच्च महत्वकांक्षाका साथ मूख्यतया ३ उत्साहि युवाले गठन गरेका थिए । व्याण्डका यी तीन युवा अहिले नेपालदेखि अमेरिकाका विभिन्न प्रतिष्ठित क्षेत्रमा संलग्न छन् । व्याण्डका ड्रमर कामना न्यूज पब्लिकेसन्स्का सिइओ र प्रवन्ध सम्पादक हुन् भने भोकलिष्ट प्रइन सिंह अमेरिकाको क्लालिफोर्नियास्थित हटमेल डट कममा इन्जिनियर छन् । त्यसैगरी गितारिष्ट रुपक लामा उत्तरी क्यालिफोर्नियाको रेष्टुराँ उद्यमीका रुपमा स्थापित छन् । व्याण्डले खै के भो, थाकी सके, त्यही पल, आमा, फसें म र हाम्रो तारा बोलका गीतमाथिको म्युजिक भिडियोमार्फत समेत ख्याति आर्जन गरिसकेको छ । यसका साथै उत्कृष्ट सांगितीक सिर्जनाहरुका कारण हिट्स म्युजिक अवार्ड, इमेज अवार्डजस्ता सांगितीक अवार्ड चुम्दै आएको छ।