‘कैदीको पत्र’, ‘प्रसाद २’ र  ‘नाइँ नभन्नू ल ६’ प्रदर्शनमा

२०८० बैशाख १५
‘कैदीको पत्र’, ‘प्रसाद २’ र  ‘नाइँ नभन्नू ल ६’ प्रदर्शनमा

शुक्रबारबाट तीन नेपाली चलचित्र ‘कैदीको पत्र’, ‘प्रसाद २’ र  ‘नाइँ नभन्नू ल ६’ एकसाथ प्रदर्शनमा आएका छन् ।

यी तीन फिल्ममध्ये ‘नाइँ नभन्नू ल ६’ र ‘प्रसाद २’लाई प्रतिष्ठाको लडाइँको रुपमा हेरिएको छ । किनकि, दुवै हिट फिल्मका श्रृंखला हुन् । र, फेरि पनि व्यावसायिक सफलता हासिल गर्नुपर्ने ठूलो चुनौती छ । मल्टीप्लेक्सहरुले शोज बाँडफाँटमा ‘प्रसाद २’पछि दोस्रो स्थानमा ‘नाइँ नभन्नू ल ६’लाई राखेका छन् । तर, दुवै फिल्मको एड्भान्स बुकिङ सुखद हुन सकेन । अब ‘विन्डो सेल’को भर छ ।

जसमध्ये ‘कैदीको पत्र’लाई सनम कुमार बैरागले निर्देशन गरेका हुन् । स्व. ईश्वर मानन्धरले लेखेको कथामा निर्मित चलचित्रमा कुनाल विश्व, ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापालगायतको अभिनय छ । चलचित्रले मल्टीप्लेक्समा भने औसत पाएको छ । देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स क्यूएफएक्स च्यानलमा भने चलचित्र प्रदर्शन भएको छैन ।

यस्तै विकासराज आचार्यको निर्देशन रहेको ‘नाइँ नभन्नू ल ६’ ‘नाइँ नभन्नू ल’को सिरिज हो । चलचित्रमा आशिर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, खड्ग बहादुर पुन, अथर्व उप्रेति, योगिशा खत्रीलगायतको अभिनय छ । अनुभव रेग्मीले चलचित्रमा केमियो भूमिका निभाएका छन् ।

त्यस्तै, सुदर्शन थापा निर्देशित ‘प्रसाद २’मा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी आदिको अभिनय छ । चलचत्र ‘प्रसाद’को सिक्वेल हो । चलचित्रलाई सुशील पौडेलले लेखेका हुन् ।