५१ दिनमा सकियो ‘कोशेढुंगा’को छायांकन

२०८२ आषाढ २४
५१ दिनमा सकियो ‘कोशेढुंगा’को छायांकन

निर्देशक सरोज पौडेलको चलचित्र ‘कोशेढुंगा’को छायांकन सकिएको छ । सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलले सोमबार ५१ दिनमा छायांकन सकेका हुन् ।

मकवानपुरको चितलाङ्ग, मार्खुलगायत क्षेत्रमा गीतको छायांकन गर्दै चलचित्रको ५१ दिनमा सुटिङ सकिएको हो । त्यसअघि ललितपुरको च्यासलस्थित सेट लगाए छायांकन गरिएको चलचित्र स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा छायाकंन गरिएको थियो ।

निर्माणपक्षले भदौ १२ गतेलाई रिलिज मिति घोषणा गरिसकेको छ । नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने चलचित्रलाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।

चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् ।