Mansara

‘ए मेरो हजुर ४’मा र्‍यापर जी–बब गीत र केमियो

२०७८ चैत्र २४
‘ए मेरो हजुर ४’मा र्‍यापर जी–बब गीत र केमियो

बैशाख १ रिलिज हुने चलचित्र ‘ए मेरो हजुर ४’मा जी–बब नामले चर्चित र्‍यापर सुदीप भण्डारीले गीत गाएका छन् । जी बबको गीत रेकर्ड सँगै चलचित्रका लागि केमियो दृष्यको समेत छायाँकन गरिएको छ ।

बुधबार चलचित्रका लागि जी–बबको केमियो छायाँकन गरिएको हो । चलचित्रका लागि जी–बबले आफ्नै शब्द संगीतमा रेकर्ड गरेको गीत यही शुक्रबार रिलिज गर्ने तयारी निर्माण पक्षको छ । एएनटीएफ गायन प्रतिस्पर्धाबाट चम्किएका यी जी–बब युबा पुस्तामाझ लोकप्रिय र्‍यापर हुन् ।

त्यसो त यसअघि गायक दुर्गेश थापाले चलचित्रमा एक गीत सहित केमियो गरेका थिए । तर, पल शाह प्रकरणसँगै दुर्गेश बिबादमा तानिएपछि उनलाई हटाएर जी–बबलाई इन्ट्रि गराइएको हो । 

झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’ मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ । सुनिल कुमार थापाले निर्माण गरेको चलचित्रमा सञ्जय लामाको छायाँकन, मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

चलचित्रको कथा निर्देशक तथा अभिनेत्री झरना थापाले लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।

Mahajatra