मसँग बाँचुञ्जेल गाएर नसकिने गीत छ, तर लगानी गरिदिने कोही छैनन् : जयनन्द लामा

यो अन्र्तवार्ता १६ माघ २०७८, आईतवारका दिन नेपाल समाचार पत्र र अनलाइन संस्करण न्यूजअफनेपाल डटकममा प्रकाशित भएको हो । नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीले लामासँग लिएको यो अन्र्तवार्ता गिरीको अनुमति लिएर लामाको सम्झनामा यहाँ प्रस्तुत गरिएको हो ।
पाँच दशकअघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाले संगीत क्षेत्रमा दखिएको छाडापन र विचलन तथा लगानीको अभावमा दुई दशक यता गीत गाउन करिब करिब छोडेका छन् । दुई दशक लामो अन्तरालपछि हालै एउटा मौलिक लोकगीत रेकर्ड गराएका सिन्धुपाल्चोकका ६६ वर्षे लामाले लोक गीत, दोहोरी गीत, गीति नाटक गरी दुई सय बढी गीत गाएका छन् भने फिल्म निर्माण, निर्देशन र अभिनय पनि गर्दै आएका छन् ।
२०२७ सालबाट लोकगीत गाउन शुरू गरी पछिल्ला केही वर्षयता डिमान्डेड अभिनेताका रूपमा छाउँदै आएका लामाका मुलाको चाना उही चाना, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, कलकत्ते काइँयो केश मेरो बाँगो, लौन हजुर के गरौँ नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन् । नेपाली गीत संगीत तथा फिल्म क्षेत्रका विभिन्न विषयमा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीले उनीसँग गरेको कुराकानी यहाँ प्रस्तुत छ :
हिजो आज के गर्दै हुनुहुन्छ ?
हिजो आज संगीतसम्बन्धी पुस्तक प्रकाशन गर्न आफैँले निकालेको किताबको अध्ययन गर्दैछु । मैले २०६४ र २०६६ सालमा नेपाली संगीत वर्णमाला र संगीतको सिद्धान्त नामक पुस्तक निकालेको थिएँ । सबै कुराको सिद्धान्त हुन्छ । तर, संगीतको सिद्धान्त नभएको हुनाले मैले संगीतको सिद्धान्तसम्बन्धी यी पुस्तक निकालको थिएँ । १५/१६ वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानको संगीत शाखामा गायकका रूपमा जागिर खाँदा पाँच वर्ष लगाएर गीत संगीतको अनुसन्धान गर्ने मौका पाएको थिएँ । प्रज्ञा प्रतिष्ठानले अम्बर गुरुङ, गोपालनाथ योगी, रामशरण दर्नाल र मलाई पञ्चवर्षीय योजना बनाएर संगीतको अनुसन्धान गर्न पठाएको थियो । व्यक्तिगतरूपमा धर्मराज थापाले संगीतको अध्ययन गरे पनि सरकारी तवरले सरकारी खर्चमा नेपाली संगीतको अध्ययन गर्न पाउने हामी चार जना मात्र हौँ । त्यसमा पनि अब गोपालनाथ र ममात्र जिवित छौँ । त्यो अनुसन्धानका आधारमा कम्तिमा सातवटासम्म पुस्तक तयार पार्ने सोच छ । अहिले त्यसैको तयारीमा छु । हामी नेपाली संगीत यस्तो उस्तो भनेर केवल मुखले मात्र भनिरहेका छौँ ।
नेपाली संगीतको इतिहास वैदिक युगदेखिको छ । यो यो वेद, रामलीला, कृष्णलीला, महाभारत, संगीत सरगम, संगीत पिंगुल, धु्रवपदमा यस्तो भनेको छ भन्ने कुरा लिखितरूपमा आउनुपर्यो नि त । यसबारे भन्न सक्ने धेरै छन् । तर, नेपाली भाषामा होइन, किनभने उनीहरूले विदेशमा पढेर आए । हामी नेपालमा मास्टर डिग्रीको संगीत पढाइन्छ भनेर फूर्ति गर्छौं । तर, नेपाली संगीत अहिले पनि नेपाली भाषामा होइन, विदेशी भाषामा पढाइन्छ । अहिले पनि झ्याउरे, ख्यालीलाई हिन्दीमा पढाउनुपर्छ । मैले पनि त्यही गरेर पढेर आएको हुँ । हामीले नेपाली संगीतको अनुसन्धान गरेर आएपछि लिपि पाइयो, संगीतको लिपि त राष्ट्र संघको मुलुकी ऐनमा पनि खुलाइएको छ । प्रत्येक स्वतन्त्र राष्ट्रको आफ्नो संगीत लिपी हुनुपर्छ भनिएको छ । किनभने हरेक स्वतन्त्र राष्ट्रको आप्mनो भाषा हुन्छ । त्यमा आफ्नो भाषा भएपछि संगीत लिपि हुनुपर्छ भनेर उल्लेख गरेको छ । यसबाहेक यो बीचमा कबड्डी कबड्डी ४, सिक्किमबाट बनाएको त्यो एक दिनलगायतका तीन चार फिल्मको सुटिङ सक्काएँ । अहिले कमेडी सिरियल हल्का रमाइलोको सुटिङ गरिरहेको छु । बज्र एकेडेमीमा म्युजिक क्लास पनि लिइरहेको छु ।
२०५१ सालमा चुईंचुईं चुईंकिने जुत्ता बोलका लोकगीत गाएपछि अरू गीत गाउनुभएको छैन, किन ?
नेपाली गीत संगीतमा असाध्यै छाडापन आयो । संसारको कुना–कुनामा बसेको नेपालीलाई पनि मेरो मौलिक गीत संगीत यो हो भनेर थाहा छ । तर, दुई दिनको आम्दानी र चर्चालाई हेरेर यही मौलिक गीत संगीतमा छाडापान ल्याइदिए । क्षणिक आम्दानी गर्ने र चर्चा पाउने नाममा नेपाली संगीतलाई यति बदनाम गरिदिए कि मलाई गीत गाउने इच्छा नै भएन । हाम्रो मौलिक गीत भनेको लोकगीत हो । मैले गाएको लोकगीत, दोहोरी गीत मेरो सम्पत्ति होइन, प्रत्येक नेपालीको सम्पत्ति हो । मैले पहिले गाएकै जस्तो गीत गाएँ भने पो यो जयनन्दको गीत भन्छन् त । लगानी उठाउन बिगारेर गीत गाइदिएँ भने त मेरो के अस्तित्व भयो र ? नेपालीको सम्पत्ति र स्वाभिमानमाथि म कसरी खेलबाड गर्न सक्छु र ? बरु गीत नै गाउँदिन नि । अर्को कुरा पहिले पञ्चायतकालमा रेडियो नेपाल, नेपाल टेलिभिजनजस्ता सरकारी निकायसँगै निजी कम्पनीले पनि गीत गाएबापत हामीलाई पैसा दिन्थ्यो । अहिले त रेकर्ड गर्नदेखि भिडियो बनाउन र बजाउनसम्म उल्टो पैसा तिर्नुपर्छ । तर, हालसालै एउटा गीतचाहिँ पार्टनर राखेर जसोतसो लगानी जुटाएर भए पनि तयार पारेको छु ।
तपाईंले संकलन गरेको र गाउन, रेकर्ड गराउन बाँकी गीत पनि होलान् नि ?
छ नि, थुप्रै छ । यति नै संख्यामा छ भन्न सक्दिनँ । तर, प्रत्येक दिन रेकर्ड गराएर पनि म जिउँदो हुँदासम्म गाएर सकिँदैन । म लोकगीत संकलन गर्न र संगीतको अनुसन्धान गर्न पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पाँच वर्षसम्म हिँडेको छु । कुनै ठाउँमा मेला छ भन्ने थाहा पाएपछि म तीन दिनअघि पुग्थें र तीन दिन पछाडि फर्कन्थेँ । घोडाबाट, हेलिकोप्टरबाट दूर दूरसम्म पुग्थें । त्यत्रो वर्ष लगाएर संकलन गरेको लोक गीत कति होलान्, तपाईं आफैँ पनि अनुमान गर्न सक्नुहुन्छ ।
पछिल्लो समय लोक गीत भन्दै कोठामा तयार पारिन्छ । तपाईंहरूचाहिँ कसरी संकलन गर्नुहुन्थ्यो ?
त्यसको लागि विभिन्न क्षेत्रमा पुग्नुपर्छ । त्यहाँ माहोल हुन्छ एउटा । त्यहाँको रीतिरिवाज परम्परा हुन्छ । पहिलो कुरा निश्चित क्षेत्र वा स्थानमा जानुपर्यो । हाम्रो देश पहाड, तराई र हिमालले मिलेको देश हो । एउटा पहाड र अर्को पहाड मिल्दैन । एउटा क्षेत्र र अर्को क्षेत्र मिल्दैन । जनसमुदाय मिल्दैन । त्यसलाई भन्छ लोक । त्यो लोकको आफ्नै संस्कार हुन्छ । त्यहाँबाट लवज, शब्द, लय संकलन गर्ने हो । उनीहरूले यो गीत बाजेको पालामा यस्तो थियो, बुवाको पालामा यस्तो थियो, अहिले यस्तो छ भनेर बयान गरेर सुनाउँछन् । उनीहरूलाई त्यो बेला बाँसुरी, मुर्चुंगा, ढोलक के चाहियो, त्यो उपलब्ध गराइदिनुपर्छ । ऊ आफ्नो तालमा डुब्छ र गीत सुनाउँछ । त्यसलाई रेकर्ड गर्ने वा नभए लिपि टिपेर संकलन गर्ने हो ।
जिन्दगीभरि गाए पनि नसकिने लोक गीत रहेछ तपाईंसँग, कोही आउँदैन लगानी गर्न ?
लगानी गर्न त आँउछन् । तर, त्यो लोकगीतलाई ठेट शैलीमा होइन यसरी बिगारेर गाउनुपर्यो भन्छन् । यसरी गाए सुपर हिट हुन्छ, भाइरल हुन्छ भन्छन् । तर, मैले त्यसरी गीत बिगारेर लोकको गीतलाई व्यावसायीकरण गरेर हिजो पनि गाइनँ, आज त झनै त्यसरी गाउँदिन । नेपालीको सम्पत्ति र संस्कारलाई सक्काएर मलाई किन हुनपर्यो भाइरल ? म गीत बिगारेर आफू पनि गाउँदिन, अरूलाई पनि त्यसरी नगाउन अनुरोध गर्छु । हेर्नुस् त कोही गायकले रोइला गीत गाइरहेको छ, तर न स्वर सुहाएको छ, न शब्दको उच्चारण मिलिरहेको छ । रोइला त रोइलाजसरी नै गाउनुपर्यो नि । किन जर्बजस्ती गर्नु ? मैले अहिले गाएको गीत पनि टिपिकल छ, कोरोनाको जोखिम घटेपछि बजारमा ल्याउँछु ।
तपाईंका गीत अरूले नै गाइरहेका छन्, स्वीकृति लिएर गाएको त हो नि ?
हो, मेरो गीत थुप्रैले गाएका छन् । तर, एकवचन नसोधी गीत गाएका छन् । संकलन यस्तो उस्तो केहीमा मेरो नामसमेत नराखी गाएका छन् बा । अरू मान्छे भए मुद्दा हालिसक्थे । मैलेचाहिँ केही भनेको छैन । मलाई रेडियो नेपालले तपाईंको यो यो गीत फलानो फलानोबाट चोरी भएको छ, कपिराइटमा मुद्दा दिनु भनेर पत्र पनि दिएको छ । तर, मैले होस् भनेर केही गरिनँ । बेकारमा के दुश्मनी कमाउनु ? फेरि मैले गीत गाएको त अरूले पनि गाओस् भनेर न हो ।
तपाईं गायनबाट हराएर अचानक अभिनयमा एकदमै जमेर आउनुभयो त ?
योचाहिँ दर्शकले मन पराइदिएर हो । अभिनय त सानोतिनो रोलमा २०३० सालको ब्ल्याक एन्ड ह्वाइट फिल्म मनको बाँधदेखि नै गर्दै आएको हो । तर, म खासै अभिनेताचाहिँ होइन । दीपकराज गिरीले छक्का पञ्जामा खेल्न बोलाएदेखि मेरो अभिनय करियर फेरि अघि बढिरहेको छ । दर्शकले मन पराइदिनुभएको छ, त्यसमा असाध्यै खुसी छु ।
पहिलेको र अहिलेका फिल्ममा के फरक पाउनुभयो ?
धेरै नै फरक पाएँ । पहिलो कुरा त आर्थिक पाटोमै विकास भएको पाएँ । अर्को टेक्नोलोजी, मेकर, टेक्निसियन, कलाकार धेरै जान्ने बुझ्ने र मेहनती पाएँ । पहिला त एउटा सानो काम गर्न पनि मान्छे खोज्दै हिँड्नुपथ्र्यो । उस्तै परे यहाँ उपलब्ध नहुने भएकाले विदेशबाटै बोलाउनुपथ्र्यो । पहिले एउटा क्यान सकियो भने बर्बाद भयो भन्थे । अहिले त निर्धक्ले घण्टौंसम्म पनि खिच्छन्, क्यान नै चाहिन्न ।
प्रायः कमेडी भूमिकामै देखिनुहुन्छ नि ?
खासमा रोलचाहिँ मेरो कमेडी हुँदैन, चरित्र अभिनेताको हुन्छ । मेरो बोल्ने र हिँड्ने स्टाइल फिल्ममा र बाहिर पनि एउटै हो । फिल्ममा क्वाँ–क्वाँ रोइरहेको हुन्छु, दर्शक गलल हाँसिरहेको हुन्छ । मलाई आफैंलाई हाँसो उठ्छ ।
आर्थिक पाटोमा विकास भएको कुरा गर्नुभयो, गीत गाउनभन्दा फिल्ममा अभिनय गर्दा पारिश्रमिक राम्रो छ कि कसो ?
अवश्य पनि हो । गीत गाउँदा पैसा तिर्नुपर्छ । फिल्म खेल्दा पैसा आउँछ । अहिले एउटा फिल्मबाट मलाई मामुली पनि दुई लाख रुपियाँ दिन्छन् । पाँच दिनको काम छ, सानो रोल छ भने पनि दुई लाख त दिएकै हुन्छ । मैले जीवनमा मलाई यति पैसा देउ भनेर कहिले पनि भनेको छैन । बढीमा चार लाख रुपियाँसम्म दिएका छन् । तर, कोरोनाले गर्दा घाटा भएको छ, सुटिङ नै हुन सकेको छैन । ४/५ वटा फिल्मको एग्रिमेन्ट गरेर पैसा लिएर बसेको छु । लकडाउन त ०७६ साल फागुन ११/१२ बाट भएको हो, तर मैले असारसम्मको सेड्युलका लागि फिल्मबाट पैसा लिइसकेको थिएँ । कोरोनाका कारण त्यसरी पैसा लिएको छक्का पञ्जा ४, दुई नम्बरी, अशोक शर्माको नाम फिक्स नभएको फिल्मको सुटिङ नै शुरू हुन सकेन । दीपकराज गिरी, अशोक शर्माहरू त हिरो हिरोइन खोज्नुअघि हामीलाई खोज्नुहुन्छ ।
भनेपछि गीत गाउनभन्दा फिल्म खेल्नमै रमाइरहनुभएको छ ?
मज्जा त गाउनमै छ हो । संगीतमा जति मज्जाचाहिँ अभिनयमा होइन । किनभने अभिनय गर्दा सीमित दायरामा बसेर बाँधिएर काम गर्नुपर्छ । कथाभित्र मात्र बस्, त्यो कथाबाट बाहिर आउन पाइँदैन भन्ने हुन्छ । गीतमा त्यस्तो हुँदैन । शब्दमा, संगीतको लयमा, खेल्न पाइन्छ । त्यो तोडाले गायकलाई कहाँ पुर्याउँछ भन्ने कुरा स्वयं त्यो गायकलाई पनि थाहा हुँदैन । भित्रैबाट सन्तुष्टि दिन्छ । त्यसै नारायणगोपाल हुन्छ ? कुमार बस्नेत हुन्छ ? तर, यसै भन्न सकिन्नँ । अहिले गाएको यो एउटा गीत रिलिज गरेर हेरौँ । फेरि गीत गाएरै खा पो भन्छन् कि ?
फिल्ममा काम गर्दा स्क्रिप्ट, संवाद चेन्ज पनि गर्नुहुन्छ कि ?
कहिले त चेन्ज पनि गर्छु, त्यो डाइरेक्टरमा भर पर्छ । कोही डाइरेक्टरले स्क्रिप्ट सुनाएर जसरी गर्नुहुन्छ गर्नुस्, दाइलाई फ्री भन्छन् । त्योअनुसार डाइलगमा पनि सल्लाह हुन्छ । कसैकोमा जब मेकअप गर्यो, क्यामरा अन गरेर अन द स्पट दाइ यो बोल्नुस् भन्दिन्छन् । ब्रिफिङ गर्ने बेला जति सुन्यो, सुन्यो । डाइलग बोल्दा मेरो क्यारेक्टरले किन यो बोलिरहेको छ भन्ने मलाई पनि थाहा हुँदैन ।
तपाईंले आफ्नै निर्माण र निर्देशनमा माया गर्छु म नामक फिल्म बनाउनुभयो, चलेन । केमा चुकेँजस्तो लाग्छ ?
मलाई एक दुई कुरामा तकदिरले साथ दिएन । पहिलो त त्यही बेला दरबार हत्याकाण्ड भयो, अर्को फिल्म नै राम्रो बनेन । त्यो फिल्मको लागि २०५८ साल जेठ २८ गते रिलिज डेट तोकिएको थियो, जेठ १९ गते राजपरिवार हत्या घटना भयो । फिल्म पनि सोचेजस्तो बनेन । तर, अहिले पनि युट्युबमा हेर्दा नराम्रोचाहिँ लाग्दैन । कथा बुलन्द थियो, गीत दमदार थियो । रमेश उप्रेती, झरना बज्राचार्य, रवि शाहजस्ता त्यतिखेरको आगो कलाकार थिए । मेरो निर्देशनमा कमजोरी थियो होला चलेन, के गर्ने ?
त्यो फिल्मबाट आर्थिकरूपमा कति नोक्सानी भयो ?
५४ लाख लगानी भएको फिल्ममा मेरै लगानी मात्र ३३ लाख रुपियाँ थियो, तर फिल्मबाट ५४ पैसा पनि आएन । फिल्म चलाएबापत हललाई तिर्ने पैसा नभएर पछि अर्को फिल्म कर्मको फलबाट कटाउनुपर्यो । माया गर्छु ममा धेरै लगानी यातायात र खान बस्नमा गयो । काठमाडौंको वरिपरी खिच्न सकिन्थ्यो, तर युनिट लिएर रिस्याङ्गो गएँ । सामान बोकाएर लानै धेरै खर्च भयो । त्यो फिल्मबाट रिर्टन नआएपछि पुलचोकको घर गुमाउनुपर्यो । त्योभन्दा अगाडि तामाङ फिल्म बनाएको थिएँ । त्यसबाट बोराका बोरा पैसा आएको थियो, तर पार्टनरहरूले लुकाइदिएकाले नाफा हुँदाहुँदै पनि १२ लाख रुपियाँ घाटा पर्यो ।
अब पनि फिल्म बनाऊँ, निर्देशन गरौँ भन्ने लाग्छ ?
छोराले त अहिले पनि अलि अलि पैसा छ, अरूको फिल्म खेल्नुभन्दा आफ्नै बनाऊँ भन्छ । तर, अब म एक्सन कट भनेर दौडादौड गर्न सक्दिनँ । अरूले भन्दिन्छ भने २०/२५ लाख रुपियाँ अझैँपनि खर्च गर्न सक्छु । भाँचिएको खुट्टाले पनि मलाई त्यसरी दौडधुप गर्न दिँदैन । फिल्ममा अभिनय गर्ने क्रममा अहिले पनि कति फाइट र डान्सको सिन आउँछ, तर गर्न सक्दिनँ ।
अबको तपाईंको यात्रा कता हुन्छ, गायन कि अभिनय तिर ?
इच्छा त गायनमै थियो, तर यसै भन्न सक्दिनँ । गायनले पेट पाल्लाजस्तो देखिँदैन । पहिला त गाएरै बाँचिरहेको हो । हिजोआज गुरुङ, तामाङ, शेर्पाको भिन्दाभिन्दै ल्होसार छ । त्यस अवसरमा हुने कार्यक्रममा उनीहरूले आ–आफ्नो जातजातिका कलाकारलाई मात्र बोलाउँछ । उभौली उधौलीमा पनि त्यही छ परम्परा । ठाउँ–ठाउँमा महोत्सव हुन्छ । त्यस्तो महोत्सवमा हामीजस्तो कलाकारलाई १० हजार देउ न भन्दा दिँदैनन् । तर, अस्ति चार वर्ष ६ वर्षअघि आएको कलाकारले त्यस्तै महोत्सवमा नाचेर र गाएर तीन करोडको घर बनाएँ भन्छ, डेढ करोडको कार किनेँ भन्छ । कहाँबाट आयो त त्यत्रो घर बनाउने पैसा ? हामीलाई १० हजार नदिने आयोजकबाट त्यो कलाकारले चाहिँ कति लाख पाउँदोरहेछ छ त ? अर्को कुरा त्यस्तो छाडा कलाकारले पर्फमेन्स गरेको कार्यक्रममा हामीलाई जान पनि लाज हुँदोरहेछ । अतिथि, प्रमुख अतिथिहरू त्यस्तो उच्छृंखल गीत र नाचमा ताली बजाएर बसिरहेको हुन्छ । तर, हामीलाई त लाज हुन्छ । त्यसैले, अबको यात्रालाई कतातिर अघि बढाउने भन्न सकिरहेको छैन ।
Latest Updates
-
-
‘सहायक श्रीमान’ले जित्यो ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’
-
पोष्टर सार्वजनिक गर्दै महजोडीको ‘महापुरुष’ प्रदर्शन मिति घोषणा
-
-
-
New Releases (Shrawn 20)
-
Ma
Director : Subarna Thapa
Casts : Nirajan Pradhan, Nisha Adhikari, Sabin Shrestha, Rubina Thapa, Naren Khadka
Next Releases (Bhadra 3)
-
Krishna Leela
Director : Dipak Oli
Casts : Puspa Khadka, Shraddha Chhetri, Buddhi Tamang, Rabindra Jha, Hiuwala Gautam -
Premganj
Director : Parichhed Sen
Casts : Benisha Hamal, Tej Giri, Sampada Baniya, Supriya Khanal, Simran Khadka -
Micle Adhikari
Director : Ranjeet Rauniyar
Casts : Saugat Malla, Shristi Shrestha, Anny Kunwar, Hemanta Budhathoki, Bidhya Karki