‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’

२०८२ जेष्ठ १९
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’

चलचित्र ‘जनै हराएको बाहुनः सम्बन्धका धागाहरू’को नाम परिवर्तन गरिएको छ । अब यो चलचित्रको नाम ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ रहने छ ।

हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले बाहुनको ठाउँमा मान्छे राखिएको निर्माणपक्षले जनाएको छ । भदौ ६ गते रिलिज हुने यस चलचित्रको नाम परिवर्तन गर्दै निर्माणपक्षले मुख्य पात्रको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा मुख्य पात्र विजय बराल छन् । निर्माणपक्षले विजयलाई एउटा ट्याग दिएको छ । विजयलाई निर्माणपक्षले ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको हो ।

छायांकन सकिएको चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ । चलचित्रको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको थियो । निर्देशक हिमाल न्यौपानेले ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ले आमा र छोराबीचको भावनात्मक कथा भन्ने बुझिएको छ ।

चलचित्रमा अभिनेता बरालसँगै अभिनेत्री केकी अधिका, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लागायतको अभिनय छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् ।