चलचित्र ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक

२०८२ भाद्र १६
चलचित्र ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक

एकता पौडेलको डेव्यु निर्देशकिय चलचित्र ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार बिहान चलचित्रका दुई पोस्टर सार्वजनिक गरिएको हो । 

मंसिर १२ गते रिलिज हुने चलचित्रको सार्वजनिक पोष्टरमा मुख्य कलाकारलाई स्थान दिइएको छ । पोष्टरमा प्रायः कलाकारहरु हर्षित मुद्रामा देखिन्छन् । चलचित्रले पारिवारिक जीवनका उकाली ओरालीको कथा पेस गर्ने छ ।

निर्देशक पौडेलले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक गरेकी छन् । व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा चलचित्रहरु समेत निर्माण गरिसकेकी छन् । सम्पुर्ण छायांकन चितवनमा नै गरिएको चलचित्र हाल पोष्ट प्रोडक्सनको चरणमा रहेको छ । पौडेलले आफु र आफ्नो टिमले दर्शकलाई उत्कृष्ट चलचित्र पस्किने बताउँदै आइरहेकी छन् ।

चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित तथा बाल कलाकार साइमन वादीको अभिनय छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । चलचित्रमा आलोक शुक्लाको छयांकन, समीर/हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ ।

चलचित्रका निर्माता प्रशन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् । चलचित्रमा स्वर्गिय शिव रेग्मी, डाक्टर कृष्णहरी बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना रहेका छ ।