Mahajatra

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको औपचारिक घोषणा

३ अर्ब लागत, साढे २ वर्षमा हस्तान्तरण हुने

२०७५ माघ १६
अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको औपचारिक घोषणा

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको औपचारिक घोषणा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा राजधानीमा आयोजित कार्यक्रमका बिच रंगशाला निमाएणको औपचारिक घोषणा गरिएको हो ।

घोषणा समारोहमा फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्ति सम्वन्धी सम्झौता समेत गरिएको छ । महानापालिकाकी मेयर रेणु दाहाल र फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर– १६ मा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको जग्गा भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको छ ।

रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । यसअघि फाउण्डेसनले चार बस्ती बनाउँदा जस्तै यसपटक पनि जनताबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाउने फाउन्डेसनका अध्यक्ष कट्टेलले जनाएका छन् । २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ । रंगशाला नेपाली मौलिकताले भरिपूर्ण र विश्वमै नमूना बनाउने अठोट फाउण्डेसनको छ । साथै इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)का सम्पूर्ण मापदण्डहरु पूरा गरिने पनि कट्टेलले जनाएका छन् ।

फाउण्डेसनका अनुसार अब रंगशाला निर्माणको गुरुयोजना तयार पारिनेछ, जसका लागि ६ महिना लाग्ने जनाइएको छ । गुरुयोजना तयार भएपछि रंगशालाको शिलान्यास गरिने र शिलान्यासको २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रंगशालाको थ्रीडी डिजाइन तयार भएको छ । गत चैतमा नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएपछि धुर्मुसले फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका थिए ।

सम्झौताको तस्विर : Ann Zaanको फेसबुकबाट