Mansara

क्यालेण्डर सार्वजनिक गर्दै चलचित्र पत्रकार संघ नेपालले मनायो स्थापना दिवस

२०७९ जेष्ठ ७
क्यालेण्डर सार्वजनिक गर्दै चलचित्र पत्रकार संघ नेपालले मनायो स्थापना दिवस

शनिबार चलचित्र पत्रकार संघ नेपालले आफ्नो स्थापना दिवस मनाएको छ । २३ वर्ष पुरा गरेर २४ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा चलचित्र पत्रकार संघले क्यालेन्डर सार्वजनिक गर्दै स्थापना दिवस मनाएको हो । संघले आफ्ना सम्पूर्ण सदस्यसँग मात्र यसपटकको स्थापना दिवस मनाएको थियो ।

‘हरेक वर्ष विशेष कार्यक्रमको आयोजना गरि मनाउँदै आएको राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा वार्षिकोत्सव यसपटक स्थानीय तहको निर्वाचनका कारण स्थगन गर्नुपरेको हो । विगत दुई वर्ष यता कोरोना महामारीका कारण स्थगित हुँदै आएको सम्मान तथा पुरस्कार आउँदो असार ४ गते एक समारोहको आयोजना गर्दै वितरण गर्ने छौँ’ अध्यक्ष दिनेश सिटौलाले बताए ।

‘माध्यम फरक भएता पनि हामीले गर्ने पत्रकारिता नै हो । हाम्रो प्रस्तुतिले फैल्याउने चेतनासँगै पार्ने असरको बारेमा पनि हामी गम्भीर हुनुपर्छ’ उनले भने । उनले संघले आगामी दिनमा योजना अनुसार कार्य गर्दै अगाडि बढ्ने बताए ।

कार्यक्रममा एसोसिएट प्रदेश अध्यक्ष बैकुण्ठराज पराजुली सहित संघका कार्यसमिति सदस्य र रंग पत्रकारहरूको उपस्थिति रहेको थियो । २०५६ साल जेष्ठ ७ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएकै आधारमा सोही दिनलाई स्थापना दिवसको रुपमा मनाउँदै आइएको छ । विक्रम संवत २०५९ सालबाट आफ्ना सदस्यहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले संघले सम्मान तथा पुरस्कार पनि सुरु गरेको थियो ।